बीमा गर्न चाहनेलाई सरकारका सहयोगीबाटै असहयोग

विजया बास्कोटा

विजया बास्कोटा

Aug 27, 2020 | 06:28:28 PM मा प्रकाशित

laxmi  sunrise bank

ओखलढुंगाका स्थानियहरुले स्वास्थ्य बीमा कार्यक्रमका लागि छनौट भएका दर्ता सहयोगीहरुले बीमा गर्नको लागि सहयोग नगरेको गुनासो गरेका छन् । आफुहरु स्वास्थ्य बीमा गर्न इच्छुक रहँदा पनि दर्ता सहयोगीको साथ नपाएको उनीहरुले गुनासो गरेका हुन्  ।

जिल्लामा कार्यक्रम लागु भएको एक वर्ष हुन लाग्दा पनि गाउँघरमा स्वास्थ्य बीमा गराउन कोही नआएको स्थानिय बासिन्दाको भनाई छ । गत असोज ७ गते औपचारिक कार्यक्रमको आयोजना गर्दै ४९ औँ जिल्लाका रुपमा ओखलढुंगा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको थियो ।

जिल्लाले सबै वडामा दर्ता सहयोगी खटाए पनि उनीहरु स्थानियबासिको घर आगनमा नपुग्दा बीमा गर्न नपाएको मानेभञ्ज्याङ गाउपालिका वडा नम्बर ६ का लक्ष्मण मगरले बताए । उनले सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको कुरा रेडियोबाट थाहा पाएका थिए ।  सामान्य रोग लाग्दा पनि औषधि खर्च समेत गर्न नसक्ने अवस्था भएका मगर वार्षिक रुपमा थोरै पैसा तिरेर उपचार खर्च पाईन्छ भन्ने कुराले उनी कार्यक्रम प्रति  आकर्षित भएको बताउँछन्  ।

तर, कहाँ गएर बीमा गर्ने भन्दा आफुले कसैको सहयोग नपाएको गुनाँसो उनी गर्छन । उनी भन्छन् ' दुई चार दिन यस बारेमा सोध खोज गर्न लागि परे , तर कोहीमार्फत पनि स्वास्थ्य बीमा कसरी र को मार्फत गर्ने भन्ने कुरा पत्ता लगाउन सकिएन।' स्वास्थ्य बीमा गर्छु भन्दा पनि मगर जस्ता अन्य थुप्रैले एक वर्ष हुन लाग्दा पनि दर्ता सहयोगीको साथ नपाएको गुनासो गरेका हुन् । 

स्वास्थ्य बीमा प्रदेश संयोजक सुदिप कार्की भने जिल्लाका ७६ वटै वडामा कार्यक्रम लागू भएको बताउँछन् । हालसम्म जिल्लामा ११ हजार ३३७ जनाले स्वास्थ्य बीमा गरेको उनले बताए ।  दर्ता सहयोगी सम्बन्धित वडाका वडा अध्यक्षले चयन गर्ने हुँदा राम्रोलाई भन्दा हाम्रोलाई चुनेर पठाएको कारण यस्ता घटना भएको उनी बताउँछन् । काम गरेको नगरेको हेरेर यस्ता दर्ता सहयोगीलाई हटाई अर्को दर्ता सहयोगी राख्ने उनले बताए । 

मानेभञ्ज्याङ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख विश्व राज दाहाल भने पालिकाका कति जना स्वास्थ्य बीमामा आवद्ध भए भन्ने नै तथ्याकं आफुसँग नरहेको बताउँछन् । यता, मानेभञ्ज्याङ गाउपालिका वडा नम्बर ६ का वडाअध्यक्ष भने दर्ता सहयोगीले काम गरिरहेको बताउँछन् । 'वडामा काम भईरहेको छ जस्तो लाग्छ, के भएको रहेछ म बुझ्छु' उनले भने ।  

को हो दर्ता सहयोगी ?

सरकारले सञ्चालन गरेको स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि बोर्डले प्रत्येक वडामा एक जना दर्ता सहयोगी नियुक्त गर्दछ । प्रत्येक स्थानीय तहसँग समन्वय गरी प्रत्येक वडामा कम्तिमा एक जनाको दरले दर्ता सहयोगी नियुक्त गर्ने स्वास्थ्य नियमावलीमा व्यवस्था गरिएको छ । नेपाली नागरिकले स्वास्थ्य बीमा बोर्डले सञ्चालन गरेको बीमा कार्यक्रमको दर्ता सहयोगीको लागि निवेदन दिन सक्नेछन् । दर्ता सहयोगीमा नियुक्त हुनका लागि स्थानिय व्यक्ति हुनु पर्दछ । महिला स्वास्थ्य स्वयंम सेविकाको हकमा एसएलसी वा सो सरह उत्र्तिण गरेको हुनुपर्नेछ । अन्य सर्वसाधारणको हकमा प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तिर्ण गरेको र स्मार्ट फोन अपरेट गर्न सक्ने हुनुपर्नेछ । 

काम के हो  ? 

आफु छनौट भएको स्थानीय तह र सो भित्रका स्वास्थ्य संस्था तथा अन्य सङ्घ, संस्थासँग आवश्यक समन्वयमा रही कार्य गर्नु पर्नेछ । स्थानीय तहका वडाका बासिन्दालाई स्वास्थ्य बीमा कार्यक्रमबारे घर–घरमा गई जानकारी गराई आवश्यक परामर्श गर्ने, आफु छनौट भएको स्थानीय तहको वडा भित्रका नागरिकहरुलाई बीमा कार्यक्रमा आवद्धता गर्ने, आवद्धता हुन चाहने परिवारकोे बीमालेख फाराममा विवरण भरेर सदस्यको फोटो खिच्ने, तोकिए बमोजिमको योगदान रकम संकलन गर्ने तथा स्वास्थ्य बीमा लेख (परिचयपत्र) वितरण गर्नुपर्नेछ । 

बोर्डबाट लिएको मोवाइल सेट, बीमालेख लगायतका अन्य कागजात, जिन्सी सामान र बीमितहरुबाट बुझिलिएको योगदान रकमको सुरक्षा आफैले गर्नुपर्नेछ । उक्त सामान, कागजात, रकम हराए वा नष्ट भएमा नेपाल सरकारको नियमानुसार निजबाट असुलउपर गर्न मन्जुर हुनेछ । दर्ता सहयोगीको रुपमा कार्य गर्न असमर्थ भएमा सोको कारण सहित तीस दिन अगावै दर्ता अधिकारीमार्फत निवेदन दिनु पर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved