‘नीति कार्यक्रमले पर्यटनलाई महत्व नै दिएन’

निरोज कुमार थापा

निरोज कुमार थापा

May 05, 2019 | 02:41:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ल्याएको नीति तथा कार्यक्रमले पर्यटन क्षेत्रलाई महत्व नदिएको पर्यटन व्यवसायीले गुनासो गरेका छन् । आर्थिक वर्ष २०७६/७७ को बजेट आउनु अगाडी सरकारले नीति तथा कार्यक्रम ल्याउने प्रचलन छ । सोही अनुसार सरकारले बैशाख २० गते आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । तर नीति तथा कार्यक्रमले पर्यटनको विकासका लागि ठोस कार्यक्रम ल्याउन नसकेको व्यवसायीको भनाई छ । 

ट्रेकिङ व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दहालले पर्यटन व्यसायीलाई उत्साहित बनाउने गरि निती तथा कार्यक्रम नआएको प्रतिक्रिया दिए । स्थिर सरकार बनेको र पर्यटनलाई आर्थिक विकासको मुख्य अंगका रुपमा लिईएको बेलाम नेपालको पर्यटनलाई ठोस रुपमा अगाडी बढाउने योजना र कार्यक्रम आउँछ भन्ने अपेक्षा गरिएको भएपनि त्यस्तो केही नआएको दाहालको भनाई छ । 

‘भ्रमण वर्ष मनाउने, एयरपोर्ट सुधार गर्ने कुरा आए, यी त सुरु भईसकेका काम हुन’, दाहालले भने, ‘यी बाहेकका पर्यटनलाई नयाँ ढङ्गले विकास गरिने योजना आएनन् ।’ स्वदेशी लगानीकर्ताले नै थोरै लगानीमा गर्न सक्ने र छिटो आर्थिक उपार्जन गर्न सकिने पर्यटन व्यवसायलाई सरकारले अन्य क्षेत्रलाई जस्तो महत्व नदिएको उनको गुनासो छ । 

उनका अनुसार धेरैभन्दा धेरै विदेशी पर्यटक भित्र्याउन सरकारले मुख्यतः तीन कुरालाई ध्यानमा राखेर कार्यक्रम ल्याउनुपर्ने थियो । पर्यटकीय पूर्वाधार निर्माण, पर्यटकमैत्री नीति र देशको पर्यटन प्रवद्र्धनलाई समेटेर नीति तथा कार्यक्रम आउनुपर्ने उनको भनाई छ । अध्यक्ष दाहालले आगामी बजेटमा यी कुरालाई समेट्न सरकारलाई सुझाव दिए ।

नेपाल एसोसियसन अफ ट्राभल एण्ड टूर एजेन्टस् (नाट्टा) का अध्यक्ष सि.एन. पाण्डेले पूर्वाधारको क्षेत्रमा केही गर्न खाजेको भएपनि पर्यटनलाई नै भनेर सरकारले नीति तथा कार्यक्रमले केही नसमेटेको बताए । ‘पर्यटन क्षेत्रको हितका लागि भ्याटको सट्टा सर्भिस चार्ज लगाउने कुरा भएको थियो, तर नीति तथा कार्यक्रममा यो कुरा आएन’ उनले भने ।

धेरै कम्पनी करको दायरामा नआएपछि नाट्टाले भ्याटको सट्टा सर्भिस चार्जको व्यवस्था गर्न माग गर्दै थियो । यसो भएमा सर्भिस चार्जवापत भ्याट सरहकै दायरा बढाउन सकिने पाण्डेको भनाई छ । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने भन्दै २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved