नेपालको असला माछा विदेशमा कोशेली

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 22, 2018 | 07:55:29 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेश पठाउने गतिलो कोशेली यहाँको दरमखोलाको असला माछा बनेको छ ।  सुकुटी पारिएको माछा महँगो भाउमा किनेर प्रवासमा रहेका आफन्तसम्म पठाउने गरिन्छ । देश बाहिर पनि दरमखोलाको असला माछा रोजाइमा छ । स्वाद र बनावट दुवै कारणले यहाँको असला माछा उत्कृष्ट मानिन्छ । 

गलकोट नगरपालिका–७ मल्मकी उषा पौडेलले अमेरिकामा बस्ने दिदीका लागि यसपालि सोही माछा कोशेलीका रुपमा छाने। सुकाएको माछा किन्दा भाउ भने महँगो पर्न गएको उनको भनाइ छ। व्यवसायीले पनि विदेशमा कोशेली पठाउनेलाई लक्षित गरी माछाको सुकुटी बनाउने गर्छन् । “बढीजसो कोशेलीकै रुपमा बिक्री हुन्छ” स्थानीय व्यवसायी बाबुराम केसीले भने “पोखरा, काठमाडौँ जस्ता ठाउँमा पनि जान्छ ।” 

आलो माछालाई हप्तौँसम्म आगोमा सेकाएर सुकुटीको रुपमा बेच्ने गरिएको उनको भनाइ छ । आलो माछाको मूल्य भने प्रतिकिलो रु ८०० देखि एक हजारसम्म छ । आलोको भाउ बढेसँगै वर्षेनी ‘सुकुटी माछा’ को भाउ पनि बढ्दै गएको छ । अर्का व्यवसायी कृष्णकुमारी केसीका अनुसार दुई वर्षअघिसम्म रु पाँच हजार पर्ने माछा अहिले रु सात हजारसम्म पुगेको छ । चार वर्षअघि जम्मा रु तीन हजार मूल्य थियो । 

गाउँमा भन्दा विदेशमा लानेले माछालाई महँगो मूल्य तिर्न पनि तयार हुन्छन् । छुट्टिमा नेपाल आएकाले विदेश फर्कदा माछा कोशेली लिएर जाने चलन नै बसेको छ । व्यवसायीका अनुसार धेरै लानेमा जापानमा बस्ने छन् । माग र रोजाइअनुसार माछा उपलब्ध गराउन व्यवसायीलाई भ्याइनभ्याइ छ । 

गलकोट नगरपालिका–७, ८ र ९ मा दैनिक ३० भन्दा बढी व्यक्तिले माछा मार्ने गर्छन् । माछा मार्ने व्यक्ति केहीले आफैँ सोझै उपभोक्तालाई बेच्ने गर्छन् भने कसैले कम मुनाफा राखेर अर्को व्यवसायीलाई बेच्ने गरेका छन् । 

माछा मार्ने जलारी, स्थानीय सरोकार भएका पक्षको निर्णयबाट खोलामा बम हान्न, विष हाल्न र विद्युतीय शक्ति लगाएर माछा मार्न प्रतिबन्ध लगाइएको छ । स्थानीय प्रशासनले पनि अनाधिकृत रुपमा माछा मार्ने कार्यलाई रोक्न निगरानी बढाएको छ । 

दरमखोला आसपासका क्षेत्रमा बसोबास गर्ने कतिपय परिवारको जीविका माछा मारेर नै धानिएको छ । असला माछाका परिकार उपलब्ध गराउने स्थानीय होटल–रेष्टुराँले पनि यथेष्ट आम्दानी गर्दै आएका छन् । केही वर्षअघि गायक वसन्त थापा र गायिका नीता पुनमगरले ‘माछा मीठो असला दरमखोलाको’ बोलको गीत बजारमा ल्याएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved