जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान

चन्द्रकान्त खनाल

चन्द्रकान्त खनाल

May 15, 2020 | 02:59:00 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल उपमहानगरपालिकाले कृषि कर्ममा युवालाई आकर्षित गर्नेगरि जग्गा भाडामा लिएर खेती गर्न चाहनेलाई अनुदान कार्यक्रम सञ्चालन गरेको छ । बुटवलले सञ्चालन गरेको कृषिमा प्रोत्साहन र प्रवद्र्धनको यो कार्यक्रमले युवालाई किसानमा आकर्षित गर्ने र व्यवसायिकरण गर्न मद्दत पुर्याएको छ ।

अहिले महामारीले कृषि कर्ममा धेरैको आकर्षण बढाइरहेका बेलामा बुटवलले अघिल्ला आर्थिक वर्षदेखि नै सहरी कृषि प्रवद्र्धनका नमुना कार्यक्रम सञ्चालन गरिरहेको छ ।

उपमहानगरमा जनप्रतिनिधि निर्वाचित भएपछि सार्वजनिक जग्गाको खोजी तथा संरक्षण, जथाभाबी प्लटिङ निषेध तथा जमिन बाँझो राख्न नपाइने जस्ता नियम बनाउँदै सहरी कृषिमा बुटवलले सुरु गरेको कामलाई मुलुकमै नमुना मानिएको छ । 

किसानका लागि समूह गठन, परिचालन, प्राविधिक सहयोग देखि अनुदान हुँदै फसल धितो राखेर सुलभ ऋण दिनेसम्मका कामहरु भइरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । सहरी कृषि अन्तर्गतका कामको प्रतिफल देखिन थालेपछि किसानहरुमा हौसला बढ्दै गएको र सहरमा पनि जैविक उत्पादनको माग बढिरहेको बुटवलको तथ्यांकमा छ ।

कृषि कर्म गर्ने सोचमा रहेका तर जमिन नभएकालाई जग्गा भाडामा लिएर खेती गर्नका लागि प्रोत्साहन अनुदानको व्यवस्था गरिएको बताउँदै प्रमुख सुवेदीले सहरका बस्ती बाहेकका क्षेत्रमा कृषि प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको बताए । 

कृषि व्यवसायको सम्मान र प्रोत्साहन गर्नुका साथै उत्पादनलाई बजारिकरण गर्नेसम्मका योजना बनाएर सहरी कृषिका कार्यक्रम सञ्चालन गरिएको छ । आफ्नै भूमिमा काम पाइदैन भन्दै युवाहरू विदेश पलायन हुनुपर्ने बाध्यतालाई बदल्नका लागि यसखालका कार्यक्रम प्रभावकारी हुने प्रमुख सुवेदीको विश्वास छ । बुटवल उपमहानगरपालिकाले आव ०७५।०७६ देखि नै बुटवलका बाझो जग्गा तथा खेति नगरिएका जग्गाको सदुपयोग गरि कृषि उपजको उत्पादकत्व बृद्धि गर्ने नौलो कार्यक्रम सञ्चालन गरेको थियो ।

यस खालको कार्यक्रमले स्वरोजगारको वातावरण सृजना गर्ने मात्र नभई सहरी कृषिलाई प्रवद्र्धन गरेर धेरै युवालाई आकर्षित गर्ने उपमहानगरको विश्वास छ । उत्पादनका आधारमा अनुदान दिनका लागि उपमहानगरका कृषि विकास शाखाका प्रमुख सन्तोष जिसीको नेतृत्वमा प्रस्तावित क्षेत्रको अनुगमन हुँदै आएको छ । गत वर्ष २५ जनाले जग्गा भाडामा लिएर खेती गरेका थिए । 

यो वर्ष लकडाउनको अवधिमा मात्रै १३ जनाले जग्गा भाडामा लिएर खेती गर्ने भन्दै सम्झौता गरिसकेको कृषि विकास शाखा प्रमुख जिसीले बताए । अनुदान रकमका लागि तोकिएको जग्गामा तोकिएकै क्षेत्रफलमा कृषि बाली लगाएपछि मात्रै प्रोत्साहन अनुदान रकम उपलब्ध गराइएको जिसीको भनाइ छ ।

कम्तिमा चार देखि २२ कट्टासम्म जग्गामा खेती गर्नेगरि सम्झौता भएको छ । प्रतिकट्टा एक हजार रुपैयाँका दरले भाडामा अनुदान दिइएको छ । अरुको जग्गा भाडामा लिएर खेती गरेका बुटवल–११ नहरपुरका किसान आत्मराम सापकोटाले लकडाउनकै अवधिमा झण्डै एक हजार क्वीन्टल टमाटर मात्रै बिक्री गरिसकेको बताए । सापकोटा त्यस टोलका नमुना किसानका रुपमा लिइन्छ । सापकोटाको खेतीबाट प्रभावित भएर अनुगमन तथा निरीक्षण गर्न नगर प्रमुख सुवेदी, प्रमुख प्रशासकीय अधिकृत शर्मा, वडाअध्यक्ष रामचन्द्र क्षेत्री र कृषि विकास शाखा प्रमुख जिसीआफै पुगेका थिए । 

सहरी तरकारी खेती प्रवद्र्धनका लागि किसानको उत्पादनलाई व्यवसायिक बनाउने गरि बुटवलले पहल गरिरहेको छ । सहरी क्षेत्रको कृषि उत्पादनको माग आपूर्तिको लागि सहर र वरपरका क्षेत्रमा कृषिलाई व्यवस्थित गर्दै सहरीमार्फत बजारिकरणका कामलाई अझ व्यवस्थित गरिने जिसीले बताए ।  

खेतीयोग्य जमिनलाई बाँझो राख्न नदिने बरु थोरै भएपनि अनुदानको व्यवस्था गर्न थालिएपछि किसानहरुमा हौसला समेत बढेको छ । बुटवलले सुरु गरेको किसानमैत्री कार्यक्रमले सम्बन्धित जग्गा धनी तथा उत्पादक दुबैलाई हौसला मिलेको वडा नं. १८ का कृषक रोमाकान्त खरालले बताए । 

ग्रीन हाउसमा सहयोग र जैविक मलमा प्रोत्साहन

जग्गा भाडामा लिएका किसानले मौसमी, बेमौसमी तरकारी खेती र मसला बाली लगाउँदै आएका छन् । जग्गा भएका ठाउँमा बेमौसमी तरकारीका रुपमा कांक्रा, करेला, सिमी, बोेडी, लौका, घिरौला, भान्टा, टमाटर, काउली, खुर्शानी, च्याउ खेतीजस्ता खेतीको प्रवद्र्धन गरिरहेको छ । 

ग्रीन हाउस निर्माण गरेर किसानलाई व्यवसायिक उत्पादनमा आकर्षित गरिएको बताउँदै उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले उत्पादन गरिएको तरकारीमा सकभर जैविक मलको प्रयोग गर्न लागाइएको बताए । आउँदो वर्ष अर्गानिक उत्पादन र जैविक मलमा समेत थप अनुदानको व्यवस्था गर्नेबारेमा छलफल भइरहेको उनको भनाइ छ । 

जग्गा नहुनेलाई कौसी खेती तालिम

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जग्गा नहुनेलाई कौसीमै तरकारी खेती गर्ने सीप तथा प्राविधिक सहयोग गरिएको बताए । उनले कृषि बाली उत्पादन, प्रशोधन तथा बजारिकरणका काममा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दा उत्पादकत्व बढाउन मद्दत मिलेको बताए । 

जग्गा नभएका ठाउँमा घरको छत तथा कौसीमा उपयुक्त तरकारी खेती गराइएको र त्यहाँ घरबाट निस्किने कुहिने फोहोरलाई जैविक मलका रुपमा प्रयोग गर्न सिकाइएको प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाइ छ । प्रविधिबाट बन्ने जैविक विषादी स्वास्थ्यका लागि लाभदायक मानिन्छ । 

फसल धितो राखेर ऋण

बुटवलले सुरु गरेको किसानको फसल धितो राखेर ऋण दिने कार्यक्रम मुलुकमै नौलो मानिन्छ  । किसानले उत्पादन गरेको धान तथा गहुँको मूल्याकंन गर्दै उनीहरुलाई पायक पर्ने सहकारी मार्फत फसल धितो राखेर ऋण उपलव्ध गराइँदै आएको छ ।

 किसानले उत्पादन गरेका खाद्य बाली धान र गहुँको बीउलाई सहकारीले गोदाममा भण्डारण गर्दै किसानलाई आवश्यक ऋण उपलव्प्ध गराइएको छ । बुटवल–१७ मा रहेको सिम्रिक कृषि सहकारीले ७५ मेट्रिक टन धान, ८० मेट्रिक टन धानको बीउ, एक सय ४० मेट्रिक टन गहुँ र ९० मेट्रिक टन गहुँको गुणस्तरीय बीउ भण्डार गरेको छ । 

यस्तै बुटवल–१६ को आदर्श कृषि सहकारी संस्थाले ६३ मेट्रिक टन धान भण्डारण गर्दै उत्पादक किसानलाई फसलका आधारमा आवश्यक सहुलीयत दरको ऋण प्रवाह गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved