स्वदेशी मललाई वेवास्ता, एउटै उद्योगमा ६० लाख टन थन्कियो

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Aug 25, 2020 | 10:02:44 AM मा प्रकाशित

laxmi  sunrise bank

देशमा रासायनिक मलको चरम अभाव भई रहेको बेला स्वदेशमा नै उत्पादिन कम्पोष्ट मल भने खेर गईरहेको छ। सरकारले भारत लगायतका देशबाट आयत गर्ने रासायनिक मल खरिदमा अनुदान दिदैँ आएको भएता पनि स्वदेशमा नै उत्पादिन कम्पोष्ट मल प्रयोगका लागि कुनै पहल नगरेको हो ।

बाह्य देशबाट आयात गरिने मलका लागि वर्षैपिच्छे अनुदान रकम थप गर्दै लगिएपनि स्वदेशी उद्योगलाई वेवास्ता गरिएको उद्योगीहरु बताउँछन्। सरकारले अनुदान स्वरुप वितरण गर्ने रासायनिक मल खरिदका लागि प्रत्येक वर्ष बजेटमा बृद्धि गर्दै आएतापनि किसानहरुले समय मै मल पाउँन सकेका छैन ।

रासायनिक मलको विकल्पका रुपमा स्वदेशमा उत्पादित मलको प्रयोग गर्न सरकारलाई आग्रह गर्दा पनि वेवास्ता गरेको उद्योगीले आरोप लगाएका छन्। सरकारले रासायनिक मल खरिदको रकममा बृद्धि गरिरहने तर सिजनकै समयमा रासायनिक मल अभाव हुँदा समेत रासायनिक मलको विकल्प सोच्न नसकेकोमा उद्योगी रुष्ट बनेका हुन् । 

चितवनमा रहेको दिव्या अर्गानीक मल उद्योगका सञ्चालक नरेन्द्र गिरी सरकारले भर्मीकम्पोष्ट मल (गड्यौला प्रयोग गरी तयार गरिएको कम्पोष्ट मल) को प्रयोगमा चासो नदेखाउदा समस्या भएको बताउँछन् । ‘किसानले बाली लगाउने बेलामा रासायनिक मल पाउदैनन्, तर हामीसँग मल बढी भएर भण्डारण गर्ने ठाउँ सम्म छैन', उनले भने 'मल उत्पादन गर्ने र भण्डारण गर्न बाहेक अरु काम हुन सकेको छैन् ।’

'२०६८ सालदेखि मैले रासायनिक मलको विकल्पका रुपमा कम्पोष्ट मलको उत्पादनमा जोड दिन सरकारलाई आग्रह गर्दै आएको हो, ९ जना प्रधानमन्त्री फेरिए, कति कृषिमन्त्री फेरिए तर हाम्रो माग सुनुवाइ नै भएन ।' उनले दुख पोख्दै भने, 'म बुढो मान्छे कति बोल्नु, बोल्दा बोल्दै थाकिसके । '

उनले आफुहरुले आशा गरेका मन्त्री घनश्याम भुषालले पनि केही गर्न नसकेकोमा दुखेसो पोखे । भुषाल कृषिमन्त्री भएपछि सहयोग हुन्छ भनेर आश्वासन दिएको तर हालसम्म केही सहयोग नभएको उनले गुनासो गरे । ‘यदि सरकारले यसैगरी वेवास्ता गर्नै हो भने व्यवसाय बन्द गर्नुको विकल्प छैन, उत्पादन गरिएको मल राख्न गोदाम समेत अभाव भएको छ ।' उनले भने, 'हामीहरुसँग मल राख्ने ठाउँ छैन, किसान मल बिना खेत गोड्न थालेका छन् ।’ 

उनका अनुसार अहिले ६० लाख मेट्रिक टन मल मौज्दात छ। सोहि कारण अहिले उद्योग नै बन्दगर्नुपर्ने अवस्था आएको उनी बताउछन् । आफुले उत्पादन गरेको मलको सबै गुणस्तर ठिक भएपनि बिक्री वितरणको कार्यविधिलाई देखाउदै मन्त्रालयका कर्मचारीले वेवास्ता गरेको उनले दुखेसो पोखे । 

माटोको उर्वराशक्ति नै नाश गर्ने रसायनयुक्त मल खरिदमा अनुदान दिदै आएको सरकारले स्वेदशमा नै उत्पादन गर्ने प्रागारीक मललाई वेवास्ता गर्नु दुखद भएको कानून व्यवसायी तथा अर्थविद गोपिकृष्ण न्यौपाने बताउँछन् । उनका अनुसार सरकारले प्रत्यक वर्ष किसानलाई मल वितरण गर्ने भन्दै अनुदान रकम थप गरेको भएपनि वास्तविक किसानले समयमा मल नै पाउदैनन् । स्वदेशमा उत्पादन हुने मलको प्रबद्र्धनमा सरकारले सहयोग गर्ने हो भने मलको अभाव नहुने उनी बताउँछन् । 

उता कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिवहादुर केसी भने कम्पोष्ट मल उत्पादनका लागि उद्योगीहरुलाई अनुदान दिईएको बताउँछन् । ‘उद्योग स्थापना लागि अनुदान, उत्पादीत मल बिक्रीका लागि प्रवद्र्धन र विदेशबाट आयात हुने मल रोकिएको छ', उनले भने, 'स्वदेशी कम्पनीले नै उत्पादन गरेको कपोष्ट मलको प्रयोग गर्नुपर्छ भनेर मन्त्रालयले धेरै पहल गरेको छ ।’ 

उद्योगीहरुले मन्त्रालयले नै मल बिक्री गर्नुपर्ने माग राख्दै आएतापनि तत्काल सम्भव नरहेको उनी बताउँछन् । उनी भन्छन् ' मन्त्रालयले उनीहरुले उत्पादन गरेको मल बिक्री गर्न सक्दैन, ६÷७ वर्ष अगाडी कृषि सामग्री कम्पनीले मल बिक्री गरेको हो, बजार क्षेत्रमा सहज भएतापनि गाउँ गाउँमा बिक्रीका लागि समस्या भएपछि रोकिएको हो । '

प्राङ्गगारिक, जैविक तथा भर्मीकम्पोष्ट मल लगायतका मल उत्पादन गर्नै नेपाली उद्योगहरु बन्द हुँदै गएका छन् । गत वर्षसम्म भर्मीकम्पोष्ट मल उत्पादन गर्ने १४ उद्योग रहेकोमा हाल ४ उद्योगले मात्र मल उत्पादन गर्दे आएको गिरी बताउँछन् । उनका अनुसार चार उद्योगबाट उत्पादन गरिएको मल समेत बिक्री नहुँदा ती उद्योगीहरु समेत पलायन हुने अवस्थामा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved