धेरै धान रोपेकै वर्ष मल अभाव, विज्ञ भन्छन् 'भोकले मर्ने अवस्था आउन सक्छ'

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Sep 08, 2020 | 04:05:06 PM मा प्रकाशित

laxmi  sunrise bank

यो वर्ष अहिलेसम्म कै धेरै क्षेत्रफलमा धान रोपाइ भए पनि उत्पादन घट्ने देखिएको छ । देशभर रासायनिक मलको अभाव हुँदा उत्पादन घट्ने देखिएको हो । 

धान रोप्ने बेलामा पर्याप्त वर्षा र उचित मौसम आवश्यक पर्छ भने मौसम अनुकुल हुँदा उत्पादकत्व बृद्धि हुन्छ । तर सबै समय मिलेको वर्ष मल अभाव कै कारण उत्पादकत्वमा नकारात्मक असर पर्ने देखिएको हो । धानका लागि आवश्यक पर्ने वर्षा, मौसम सबै उपयुक्त हुँदा धानमा राख्ने रासायनिक मल अभाव भएको हो । सामान्यतया दुई पटक राख्न सकिने युरिया मल समयमा नपाउँदा अनुमान गरेजस्तो उत्पादकत्व नहुने कृषि विज्ञहरु बताउँछन् । 

गत आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा धेरै धान उत्पादन भएको थियो । यस वर्ष गत वर्षको रेकर्ड तोडेर नयाँ राख्ने अनुमान गरिएकोमा सो लक्ष्य पुरा हुन नसक्ने विज्ञ बताउँछन् । सिजनकै समयमा पर्याप्त मात्रामा रासायनिक मल नहुँदा यस वर्ष भोकले मर्ने अवस्था आउन सक्ने विज्ञहरुले चेतावनी दिएका  छन् । 

बरिष्ठ धानबाली विज्ञ डा. भोलामान सिंह बस्नेत प्रकृतिले सहयोग गरेको वर्ष रासायनिक मल अभाव हुँदा धेरै नोक्सान हुनसक्ने बताउँछन् । उनी भन्छन् ‘ प्रत्येक वर्ष नेपालमा कम मात्रामा धान उत्पादन भएको तथ्यांक छ, यस वर्ष धानका लागि उपयुक्त मौसमहुँदा हुँदै पनि मल अभावका कारण उत्पादकत्वमा कमि आउन सक्छ । धानका लागि आवश्यक पर्ने वर्षा भएको यसै वर्षे, तर विडम्बना किसानले रायायनिक मल पाएनन् ।’ 

मुख्यतया दुई सिजनमा राख्न धान बालीलाई रासायनिक मल उपयुक्त हुन्छ । धानबाली रोपेको २० देखी २५ दिन अर्थात गाज लाग्ने समय र ४० देखि ५० दिनमा अर्थात बाला लाग्ने समयमा रासायनिक मल उपयुक्त हुन्छ । तर यो वर्ष किसानले दुबै सिजनमा युरिया मल पाएनन् । 

गत आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा धेरै धान उत्पादन भएको वर्ष हो । यस वर्ष पुरानो रेकर्ड तोड्दै करिव ६० लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको थियो, तर सिजनमा मल नहुँदा धेरै उत्पादनमा गिरावट आउने अनुमान गरिएको छ । डा. बस्नेतका अनुसार यस वर्ष पुरानो रेकर्ड तोडिदैन्, तर गत आवमा भएको उत्पादन समेत हुन सक्दैन् ।  

यसैगरी कृषिविज्ञ यमुना घले धान बालीलाई आवश्यक पर्ने बेलामा नै मल नपाउँदा नकारात्मक असर देखिने बताउँछिन् । ‘बन्दाबन्दी सगैँ स्वदेशका बजार तथा विदेशमा रहेका युवाहरु सबै गाउँतिर गए, सबै गाउँमा जादा लामो समयदेखि बाझो बसेको जग्गामा खेति त भयो, तर खेतिले मागेको बेलामा रासायनिक मल दिन नसक्दा उत्पादनमा गिरावट आउँछ,’ उनले भनिन्, ‘रासायनिक मल राख्ने गरिएको खेतले रासायनिक मल नै खोज्छ, हामीलाई उयुक्त हुँदा हैन, खेतिलाई आवश्यक पर्दा मल जल गर्नुपर्छ ।’ 

सरकारले प्रत्येक वर्ष किसानलाई अनुदानमा वितरण गर्ने रासायनिक मलमा बजेट थप गर्दै लगेपनि किसानलाई जहिलै समस्या हुने गरेको उनी बताउँछिन् ।  राज्यले कस्तो प्रकारको कृषि चाहेको हो, त्यो टुङगो नलाग्दा सम्म किसानले दुख नै पाउने उनल बताईन्। राज्यले विदेशबाट ल्याउने मललाई प्राथमिकतामा राख्दै वर्ष अघिदेखि नेपालमा रासायनिक मल उद्योग स्थापना गर्ने विषय नै अन्योलमा परेको उनको दुखेसो छ । 

९८ प्रतिशत रोपाइ

यस वर्ष सबैभन्दा धेरै ९८ प्रतिशत क्षेत्रमा धान रोपाई भएको छ । कृषि विभागको तथ्यांक अुनसार १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफल रोपाइ गर्न मिल्ने मध्येमा यसवर्ष १३ लाख ४६ हजार ९ सय २० हेक्टरमा रोपाइँ भएको छ । 

जुन गत वर्षको तुलनामा ५१ हजार ६ सय ३८ हेक्टर क्षेत्रफल बढीमा रोपाइँ भएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा ५५ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो भने २०७५/०७५ मा सबैभन्दा धेरै ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । 

धानको समर्थन मूल्य 

गत असारमा बसेको मन्त्रिपरिषद् बैंठकले नेपालमा नै पहिलो पटक बाली लगाउनु अघि नै धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । यस वर्ष लगाइने मध्यम धानको मुल्य प्रति क्विन्टल २ हजार ८ सय ८५ रुपैयाँ र मोटा धानको मूल्य २ हजार ७ सय ३५ तोकेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved