प्याजमा कालोबजारी, एकैदिनमा मूल्य दोब्बर

समुन्द्र घिमिरे

समुन्द्र घिमिरे

Sep 16, 2020 | 12:17:01 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले प्याज निर्यातमा रोक लगाएसगैँ नेपाली बजारमा कालोबजारी सुरु भएको छ । मंगलबारबाट नेपालमा आयात नभएको प्याजको मूल्य दोब्बर बढे सगैँ कालोबजारी सुरु भएको पाईएको छ । देशकै सबैभन्दा ठूलो तरकारी बजारका रुपमा रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार नै भारतले निर्यातमा रोक लगाउने निर्णयसगैँ दोब्बर मूल्य भएको देखिन्छ । 

कालिमाटीको तथ्यांक अनुसार सोमबार प्रतिकिलो बिक्री मूल्य ६० रहेकामा मंगलबार ७५ र बुधबार ११९ रहेको छ । भारतको निर्णय सगैँ व्यापारीहरुले प्याजमा कालोबजारी सुरु गर्दै प्याज लुकाउन थालेका छन् । सस्तोमा खरिद गरेर ल्याएको प्याज निर्यात नभएसगैँ मूल्य बढाउने हिसाबले तरकारी बजारका व्यापारीले प्याज लुकाएर बजारमा कृतिम अभाव सिर्जना गर्न थालेको भेटिएको छ । बुधबार बिहान काठमाडौँ महानगरपालिका अन्तरगतको कृषि विभागले बल्खुको तरकारी बजारमा अनुगमन गरेको छ । सटरमा सामान छैन भन्ने बोर्ड राखेर गोदाममा ठूलो परिमाणमा प्याज लुकाएको भेटिएको महानगरले जनाएको छ । 

४८ रुपैयाँका किनेको प्याजलाई १२० रुपैयाँमा बिक्री गरेको भेटिएको महानगरले जनाएको छ । उपभोक्ता अधिकार कर्मीसगैँ नक्खु बजारमा पुगेको महानगरको टोलीले एकै व्यक्तिले सञ्चालन गरेको २ वटा स्टोरमा लुकायर राखिएको २१९ बोरा प्याज भेटिएको छ । 

महानगरको बजार अनुगमन अधिकृत हरिवहादुर भण्डारी अनुगमनका क्रममा सामान छैन भन्दै पोष्टर बाहिर राख्ने तर ठूलो परिमाणमा गोदामको पछाडीपट्टी लुकाएर राखेको भेटिएपछि गोदाम र स्टोर शिल गरी व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताउँछन् । 

बल्खु तरकारी बजार भित्र रहेको एसके सप्लायर्स र चुली सगरमाथा टेड्रर्समा लुकाएर राखिएको प्याज भेटिएपछि उक्त सप्लायर्सका सञ्चालक सुनिल केसीलाई महानगरीय प्रहरी बृत्त कालीमाटीमा राखिएको छ । प्रहरीले तरकारीको कालोबजारीमा संलग्न भएको भन्दै केसी सहित अन्य चार जनालाई नियन्त्रणमा लिएको छ । 

चार्डवर्प नजिकिएसगैँ बजारमा कालोबजारी हुने भन्दै काठमाडौँ महानगरले बजार अनुगमनलाई निरन्तरता दिदैँ आएको छ । स्थानीय सरकार सञ्चालन ऐन अनुसार बजार अनुगमनलाई निरन्तरता दिईएको महानगरले जनाएको छ । 

भारतले निर्यातमा रोक लगाएसगैँ सरकारी लगानीमा सञ्चालित कालीमाटी तरकारी बजारमा समेत दोब्बर मूल्य रहँदा उपभोक्तालाई समस्या हुने उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना प्याजको मूल्य एकै दिनमा ४५ रुपैँयामा बृद्धि हुनु अस्वभाविक रहेको बताउँछन् । 

‘आयातमा बृद्धि हुँदा बजारमा महङ्गो हुनु स्वभाविक हो, तर मंगलबारदेखि भारतले निर्यातमा रोक लगाएको हो, बुधबार नै कसरी अस्वभाविक रुपमा मूल्य बृद्धि भयो’, प्रश्न गर्दै उनले भने, ‘कालीमाटीमा नै अत्याधिक मूल्य बृद्धि हुँदा अन्य खुद्रा बजार तथा पसलहरुमा मूल्य कति होला ? '

नेपालमा प्रयोग हुने प्याज मध्येमा ९० प्रतिशत प्याज भारतबाटै आउने गरेको छ । वर्षेनी ठूलो परिमाणमा प्याज आयात हुने गरेतापनि कालोबजारी र मूल्य बृद्धि बढ्दै गएको उपभोक्ताहरुले गुनासो गर्ने गरेका छन् । 

एकै दिनमा दोब्बर मूल्य बृद्धि भएपछि बुधबार बिहान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बल्खु तथा कालीमाटी तरकारी बजारको अनुगमन गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved