प्याजको मूल्य तल्लो तल्लामा ८० रुपैयाँ, माथिल्लोमा १५०

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2020 | 10:53:16 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले प्याज निर्यातमा रोक लगाएसँगै काठमाडौँका बजारमा प्याजमा कालोबजारी सुरु भएको छ । बढी मूल्यमा प्याज बिक्री गर्ने र ठूला व्यापारीले प्याज लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गर्न थालेपछि काठमाडौँ महानगरपालिका र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छुट्टा छुट्टै बजार अनुगमनलाई निरन्तरता दिएका छन् । 

एकै दिनमा दोब्बर मूल्य भएको प्याज ठूला व्यापारीले लुकाएर अभाव सिर्जना गर्न थालेपछि बजार अनुगमान गर्दै व्यापारीलाई समेत प्रक्राउँ गरिएको छ । बुधबारमात्र कालिमाटी र बल्खु तरकरी बजारबाट व्यापारीलाई पक्राउ गरिएकोमा आज तिनकुनेका प्याज व्यापारीलाई कारवाही गरिएको छ । 

सस्तोमा खरिद गरेको प्याज महँगो मूल्यमा बिक्री गर्ने र लुकाएर राख्ने गरेपछि काठमाडौँ महानगर अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले हरित सामुदायिक कृषि बजारका तीन व्यापारीलाई कारवाही गरेको हो । दुई स्टोरमा लुकाएर राखेको ४२ बोरा प्याज बरामद गरि सञ्चालकलाई आवश्यक कागजपत्र लिएर वाणिज्य विभागमा उपस्थित हुन निर्देशन दिएको छ । 

बढी मूल्यमा प्याज बिक्री गर्ने तीन होलसेल पसलको कारोबार रोक्का गरिएको महानगरले जनाएको छ । शालिकराम दुलालले सञ्चालन गरेको दुलाल आलु भण्डार फर्म, ज्योतीनाथ तुलाधरले सञ्चालन गरेको उलक सब्जी भण्डार र बिजेश गौतमले सञ्चालन गरेको दर्ता हुन बाँकी होलसेल पसल रहेका छन् । उलक सब्जी स्टोरमा आलुका बोराले छोपेर १३ बोरा प्याज भण्डार गरिएको थियो भने बिजेश गौतमले सञ्चालन गरेको दर्ता बिनाको पसलमा २९ बोरा प्याज लुकाएर राखिएको थियो । 

तीनकुनेका व्यापारीले बल्खु र कालिमाटी बजारबाट सामान ल्याएको भन्दै बिल नै नदिएको गुनासो गरेका थिए । तल्लो तलाबाट ८० मा किनेको प्याज माथिल्लो तला लगेर १५० रुपैयाँमा बिक्री गर्ने गरेको पाईएको महानगरले जनाएको छ । तीनकुनेमा तरकारी बिक्री गर्दै आएका व्यापारीले बिहीबार बिहान प्रतिकिलो १५० रुपैयाँ सम्ममा प्याज बिक्री गरेको पाईएको उपभोक्ता अधिकारकर्मी माधवप्रसाद तिलल्सिनाले बताउँछन् । 

‘तल्लो तल्लाका होलसेल व्यापारीबाट प्याज लिएर माथिल्लो तल्लामा बिक्री गर्दा ७० रुपैयाँभन्दा बढीमा प्याज बिक्री हुँदै आएको भेटियो, व्यापारीले खरिद र बिक्री बिल लुकाएर बिल छैन भनेर महङ्गोमा प्याज बेच्ने गरेका रहेछन्’, उनले भने । 

१२८ वटा तरकारीका स्टल रहेको तरकारी बजारमा बाहिरपट्टिका सटरबाट होलसेल व्यापार हुन्छ भने भित्रका पसलबाट खुृद्रा व्यापार हुने गरेका छन् । हरित कृषि सहकारीले सञ्चालन गरेको बजारमा होलसेल पसलहरु दर्ता भएका छैनन्, खरिद बिक्री बिलबिना कारोबार, नापतौलको प्रमाणपत्र बिना नै कारोबार हुने गरेको पाईएको अनुगमान टोलिले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved