सहारा विकास बैंक लिमिटेड Sahara Bikas Bank Limited ले साउन ३० गतेदेखि ९ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रदमा अवितरित संस्थापक तर्फको ९ लाख २१ हजार १ सय ४८ दशमलव ७० कित्ता सेयर बोलकबोल मार्फत विक्री गर्न लागेको हो ।
इच्छुक आवेदकले भदौ ८ गतेसम्म शेयरमा आवेदन दिन सक्ने छन् । बैंकले २०७५ साल जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको थियो । सो अवधीमा बैंकको संस्थापक तर्फको उक्त कित्तामा आवेदन नपरेपछि लिलामीमा ल्याएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ को प्रावधानलाई आधार मानी बैंकले बोलकबोल मार्फत अवितरित हकप्रद विक्री गर्न लागेको जनाएको छ ।
बैंकले सेयरको न्युनतम मुल्य १ सय तोकेको हुँदा सो भन्दा बढीको मुल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । सेयर खरीदको लागि आवेदकहरुले न्युनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । यस शेयर लिलाम प्रक्रियामा संस्थापक शेयरधनीलाई पहिलो प्रथिम्कता दिईने र पर्याप्त आवेदन नपरेमा जो कोहि व्यक्ति संघ संस्थाले पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । शेयर लिलामको लागि बैंकको विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।