नेकपाले गर्यो राजपासँग २ बुँदे सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2019 | 07:32:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टीबीच आसन्न राष्ट्रियसभा निर्वाचनका लागि सहकार्य गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न वार्तापछि दुई पार्टीबीच आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि रिक्त हुने चार स्थानमध्ये अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समूहको दुई स्थानमा राजपाका उम्मेदवार र दलित पुरुष समूहको दुई स्थानमा नेकपामा उम्मेदवारलाई एकापसमा सघाउने सहमति भएको हो ।

दुई दलबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमितरुपमा छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने सहमतिमा पनि हस्ताक्षर भएको छ । सहमतिमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा राजपाकोतर्फबाट संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् । वार्तामा हस्ताक्षरकर्ता नेताका साथै नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ तथा राजपाका नेताहरु महन्थ ठाकुर, महेन्द्र यादव, शरत्सिंह भण्डारी र राजकिशोर यादव उपस्थित थिए। राजपाले वर्तमान नेकपा सरकारलाई समर्थन गरे पनि संविधान संशोधन नगरिएको भन्दै पछि समर्थन फिर्ता लिएकाले यस नयाँ सहमतिले दुई दलबीच पुनःसहकार्यको सङ्केत दिएको छ ।

सरकारमा सहभागी सङ्घीय समाजवादी नेपालभित्र सरकारबाट बाहिरिने विषयमा छलफल चलेको तथा प्रतिनिधिसभामा सभामुख पद रिक्त रहेको सन्दर्भमा नेकपा र राजापाको नयाँ सहकार्यको सहमति अर्थपूर्ण मानिएको छ । सभामुख र उपसभामुखमा एकै दलबाट प्रतिनिधित्व हुन नहुने संवैधानिक व्यवस्था छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved