पर्यटकीय याम शुरु भएसँगै होटल भरिभराउ, अहिलेसम्मकै बढी पर्यटक भित्रने अपेक्षा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2017 | 02:52:06 PM मा प्रकाशित

laxmi  sunrise bank


पर्यटकीय याम शुरु भएसँगै होटल भरिभराउ हुन थालेका छन् । होटल एशोसिएसन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन् । अघिल्लो वर्ष यही याममा ६० प्रतिशत मात्र बुकिङ भएकामा कतिपय रद्द पनि भएका थिए ।

होटल बुकिङको अवस्था र अहिलेसम्मको पर्यटक आगमनलाई आँकलन गर्दा सन् २०१७ मा नौ लाखभन्दा बढी पर्यटक भित्रने अवस्था रहेको हानका महासचिव विनायक शाहले बताए । जुन अहिलेसम्मकै बढी हो । सन् २०१२ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए ।

यस याममा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन् । यसमा पनि सबैभन्दा बढी भारतका पर्यटक छन् । नेपालमा चाडपर्व शुरु भएकाले विदेशी नागरिकता लिएका धेरै नेपाली, कूटनीतिक तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका व्यक्ति नेपाल भ्रमणमा आउने हुँदा पर्यटकको संख्या वृद्धि हुने अनुमान छ । दशैँ तिहारमा वर्षेनी धेरै नेपाली आउने गर्छन् ।

आगामी अक्टोबर ११ मा काठमाडौँमा गैरआवासीय नेपाली सङ्घको ‘ग्लोवल मिटिङ’ भएकाले धेरै पर्यटक आउने महासचिव शाहको ठम्याइ छ । नेपाल पर्यटन बोर्डको विवरणअनुसार सन् २०१७ को पहिलो छ महिना र त्यसपछिको अवधिमा विभिन्न मुलुकबाट झण्डै छ लाख पर्यटक नेपाल आएका छन् । छ महिनाको मात्रै विवरण हेर्दा चार लाख ६० हजार ३०४ पर्यटक आएका छन् । सन् २०१६ को छ महिनाको अवधिमा तीन लाख ५९ हजार ६७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

दुई छिमेकी मुलुक भारत र चीनको तुलना गर्दा सन् २०१७ को छ महिनाको अवधिमा भारतबाट मात्रै ९३ हजार पर्यटक भित्रिएका छन् जबकि सन् २०१६ को सोही अवधिमा ६४ हजार मात्र भारतीय पर्यटक आएका थिए । त्यस्तै चीनबाट सन् २०१७ को छ महिनामा ५४ हजार पर्यटक आएका छन् सन् २०१६ को सोही अवधिमा ३९ हजारको हाराहारीमा चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०१७ को छ महिनामा अमेरिकाबाट ४१ हजार ६९१, बेलायतबाट २७ हजार ४४४ र श्रीलंकाबाट १९ हजार ७२९ पर्यटक आएका छन् । उल्लेखित विवरण हेर्दा सन् २०१७ मा पर्यटकको संख्या हालसम्मकै बढी हुने सहजै अनुमान गर्न सकिन्छ । अहिले पर्यटकीय याम र चाडपर्व पनि शुरु भएकाले विदेशी पर्यटकको चहलपहल बाक्लिएको छ । हानको विवरणअनुसार अहिले नेपालमा करिब ४५ हजार बेड छन् । नयाँ चार हजार बेड थपिँदैछन् । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved