नयाँ आर्थिक बर्षको पहिलो महिनामा घट्यो महँगीको वृद्धिदर, उपत्यकामा सबैभन्दा कम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 22, 2017 | 12:37:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ आर्थिक बर्षको पहिलो महिनामा महँगीको वृद्धिदर घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो महिनाको वित्तीय स्थितिअनुसार २०७४ असार महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २।७ प्रतिशत रहेकोमा २०७४ साउन महिनामा केही न्यून भई वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २।३ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ८।६ प्रतिशत रहेको थियो । गत वर्षको आधार मूल्य उच्च रहेकाले समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा अवधिमा खाद्य मुद्रास्फीति १ प्रतिशतले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९.३ प्रतिशत रहेको थियो। यस समूह अन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा २३.३ प्रतिशत, तरकारीको मूल्यमा ११.७ प्रतिशत, मसलाको मूल्यमा ३.५ प्रतिशत र फलफूलको मूल्यमा १.४ प्रतिशतले कमी आएकोले समग्र खाद्य मुद्रास्फीति ऋणात्मक रहन गएको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ४.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैर– खाद्य मुद्रास्फीति ८.१ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, फर्निसिङ तथा घरायसी उपकरण लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो । 

क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति हिमालमा ५.६ प्रतिशत, तराईमा २.८ प्रतिशत, पहाडमा २.२ प्रतिशत र काठमाडौं उपत्यकामा १.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर हिमालमा ७.१ प्रतिशत, तराईमा ८.५ प्रतिशत, पहाडमा १०.९ प्रतिशत र काठमाडौं उपत्यकामा ७ प्रतिशत रहेको थियो । 

समीक्षा अवधिमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति दर १.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.९ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा थोक मूल्य अन्तर्गत कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ०.६ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ३.८ प्रतिशत र आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क ०.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकाङ्क ९.६ प्रतिशत र स्वदेशमा उत्पादित वस्तुहरूको मूल्य सूचकाङ्क ६ प्रतिशतले वृद्धि भएको थियो भने आयातीत वस्तुहरूको मूल्य सूचकाङ्क २.८ प्रतिशतले घटेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved