सिमेन्ट अभाव छैन, प्राधिकरणलाई सहयोग गर्न उद्योगी तयार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2017 | 08:28:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सिमेण्ट  उद्योगीले नेपाल विद्युत् प्राधिकरणले चाहे उच्च गुणस्तरको सिमेण्ट  उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका जलविद्युत् आयोजनामा सिमेण्ट अभावका कारण निर्माण रोकिने अवस्था आएपछि उनीहरूले गुणस्तरयुक्त सिमेण्ट उपलब्ध गराउन आफूहरू तयार रहेको बताएका हुन् ।

प्राधिकरणले अगाडि बढाएको माथिल्लो त्रिशूली थ्री ए, प्राधिकरणको सहायक कम्पनी चिलिमेले निर्माण गरिरहेको माथिल्लो साञ्जेन, साञ्जेन, रसुवागढी र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा सिमेण्ट अभाव देखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रतिआयोजनामा दैनिक १०० टनदेखि २०० टनसम्म सिमेण्ट आवश्यक पर्ने जानकारी दिए ।सरकारी आयोजनामा प्रयोग हुने सिमेण्ट आयात गर्दा मूल्य अभिवृद्धि कर तिर्नु नपर्ने र सोझै आयोजनास्थलमा पुग्ने गरेका छन् । तर नेपाली सिमेण्टले भने १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नु पर्छ ।

नेपाली बजारमा कुनै पनि प्रकारका सिमेण्ट अभाव नभएको सिमेण्ट उद्योगीको भनाइ छ । सिमेण्ट अभाव भए सिमेण्ट उद्योगले २० बोरा किन्दा एक बोरा छुटको योजना दिएर किन बजारमा आउँथे भन्ने उद्योगीको भनाइ छ तर प्राधिकरणले भने नेपाली सिमेण्ट तत्काल नजम्ने भएकाले सबै निर्माण कार्यमा प्रभावकारी नहुने जनाउँदै आएको छ ।

भारतीय सिमेण्टलाई पनि नापतौल तथा गुणस्तर विभागले गुणस्तर चिह्न लिनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । चालू आवको बजेट वक्तव्यमा नेपाल आयात हुने सबै प्रकारका सिमेण्टले गुणस्तर चिह्न लिनैपर्ने उल्लेख छ ।

नेपालका अधिकांश सरकारी आयोजनाले नेपाली सिमेण्ट प्रयोग गर्ने गरेका छैनन् तर प्राधिकरणले भने नेपाली सिमेन्ट शतप्रतिशत गुणस्तरीय नरहेको बताउँदै आएको छ ।

अर्घाखाँची सिमेण्ट उद्योगका सञ्चालकसमेत रहेका  नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका नेपाली सिमेण्ट नबिकेर अनेकन योजना ल्याइरहेका बेला बजारमा सिमेण्ट पाइएन भन्नु गलत भएको बताउँछन् ।

चाडबाडको समयमा सिमेण्ट उद्योग दैनिक एक कार्यसमय मात्रै चलेको र बजारमा कुनै पनि प्रकारको अभाव नभएको र ‘स्ट्रेन्थ चेक अप’को नाममा नेपाली सिमेण्ट प्रयोग नभएको उनको  भनाइ छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाले नेपाली सिमेण्ट प्रयोग गरेर नै आयोजना बनाइरहेको र अधिकांश नेपाली सिमेण्टले गुणस्तर चिह्न लिइसकेका बेला भारतीय सिमेण्ट पनि उक्त चिह्न लिनुपर्छ भन्ने विषय जायज भएको पूर्व अध्यक्ष मुरारकाको भनाइ छ ।

चालू आवको बजेट वक्तव्यमा सरकारले नेपाली सिमेण्ट उद्योगको पक्षमा निर्णय गरेको छ तर सोही प्रावधान हटाउन भारतीय सिमेण्ट आयातकर्ताले अनावश्यक हल्ला फिजाएको र आयोजनामा सिमेण्ट पाइएन भन्नेजस्ता दुस्प्रचार गरेको उद्योगीको भनाइ छ । नेपाल सिमेण्ट उद्योग संघका अध्यक्ष ध्रुव थापा कुनै पनि प्रकारको सिमेण्ट अभाव नभएको बताउँछन् ।

अधिकांश नेपाली सिमेण्ट उद्योगले ४३ ग्रेडको सिमेण्ट उत्पादन गर्दै आएका छन् । नापतौल तथा गुणस्तर विभागले ५३ ग्रेडको मान्यता दिएको छैन । सोही कारण आयातकर्ताले गलत प्रचार गराएको उद्योगीको भनाइ छ ।

भारतबाट कति परिमाणमा सिमेण्ट आयात हुने हो, त्यसको कुनै लेखाजोखा छैन । नेपाली उद्योगको विकास र विस्तार गर्ने हो भने गुणस्तरयुक्त सिमेण्ट उत्पादनमा समेत जोड दिनुपर्ने छ । तर त्यसतर्फ कुनै ध्यान दिइएको छैन ।

हाल तीन दर्जन सिमेण्ट उद्योग देशभर सञ्चालनमा छन् । तिनीहरूले दैनिक ३० हजार टन बढी सिमेण्ट उत्पादन गर्छन् तर गुणस्तरको विषय देखाएर सिमेण्ट अभाव भयो भनेर गरिने प्रचार भने गलत भएको उद्योगीको भनाइ छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved