चिलिमे कम्पनीले पायो ५८५ क्षमताका दुई आयोजनाको अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 26, 2017 | 02:11:33 PM मा प्रकाशित

laxmi  sunrise bank

 स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्न सकिन्छ भन्ने धारणा स्थापित गराएको चिलिमे जलविद्युत् कम्पनीले ५८५ मेगावाट क्षमताका दुई परियोजनाको अनुमतिपत्र पाएको छ । 

विद्युत् विकास विभागले चिलिमे कम्पनीलाई गोरखामा आयोजनास्थल रहेको ४२० मेगावाट क्षमताको बूढीगण्डकी प्रोक र बझाङमा आयोजनास्थल रहेको सेती नदी तेस्रोको अध्ययन अनुमति दिएको हो । 

कम्पनीले हाल रसुवागढी, माथिल्लो सान्जेन, सान्जेन, मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजना सन् २०१८ को डिसेम्बरसम्ममा निर्माण गरिने भएका छन् । 

रसुवागढी १११ मेगावाट, मध्य भोटेकोशी १०२ मेगावाट, माथिल्लो सान्जेन १४.८ मेगावाट र सान्जेन ४२ मेगावाट क्षमताका आयोजना हुन् । ती आयोजना सम्पन्न भएपछि कम्पनीले कुन आयोजना निर्माण गर्ने भन्नेबारेमा अन्यौलमा थियो । 

कम्पनीले निर्माण गरिरहेका र अध्ययन अनुमतिपत्र पाएका आयोजनाको कुल क्षमता ८५५ मेगावाट हुनेछ । शेयर बजारमा समेत चिलिमे जलविद्युत् कम्पनीको शेयर उच्चस्थानमा छ । नेपाल स्टक एक्चेन्जका अनुसार हाल चिलिमेको प्रतिकित्ता शेयर मूल्य रु ७९८ पुगेको छ । 

नागरिकलाई जलविद्युत् क्षेत्रमा लगानी गर्दा फाइदा हुन्छ भन्ने विश्वास दिलाउन सफल कम्पनीले विभागबाट अनुमतिपत्र पाएपछि अध्ययनको काम यही दशैँलगत्तै शुरु गर्ने जनाएको छ । 

यस्तै १११ मेगावाटको र रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोशी, साढे ४२ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन अहिले निर्माण भइरहेका छन् । 

विभागका महानिर्देशक नवीनराज सिंहले गत भदौ २६ गते बूढीगण्डकी प्रोक र गत असोज १ गते सेती नदीको अध्ययन अनुमतिपत्र कम्पनीलाई दिइएको जानकारी दिनुभयो । 

दशैँलगत्तै यी दुई आयोजनाको अध्ययन शुरु गर्ने कम्पनीका प्रबन्ध निर्देशक दामोदरभक्त श्रेष्ठले बताउनुभयो । उहाँले निर्माणाधीन आयोजना निर्माणको अन्तिम चरणमा पुग्न लागेको र नयाँ आयोजनाको समेत अध्ययन अनुमतिपत्र पाएपछि कम्पनीको बजार मूल्य समेत बढ्न जाने र शेयर बजारमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास कम्पनीको छ भन्नुभयो । 

सरकारको बास्केटमा रहेका बूढीगण्डकी प्रोक र सेती नदी तेस्रो आयोजना पहिले आवेदन दिएको आधारमा विभागले कम्पनीलाई दिएको हो । कम्पनीका अनुसार बूढीगण्डकी नदी प्रवाहमा आधारित आयोजना हो भने सेती अर्धजलाशय(पिआरओआर) ढाँचाको परियोजना हो । 

ती आयोजना आगामी दुई वर्षभित्र अध्ययन शुरु गरेर निर्माण शुरु गर्ने लक्ष्य कम्पनीको छ । चिलिमे कम्पनीले ती आयोजनाका निर्माणका लागि फरकफरक कम्पनी स्थापना गर्नेछ । 

कम्पनीको प्रारम्भिक अध्ययनमा बूढीगण्डकी प्रोकको लागत रु ५० अर्ब र सेतीको रु २५ अर्ब लाग्ने अनुमान गरिएको छ । ती आयोजनामा नेपाल विद्युत् प्राधिकरण, चिलिमे कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा संस्थान र अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने र सम्बन्धित जिल्ला र गाँउपालिका तथा प्रभावित क्षेत्रका नागरिकले समेत लगानी गर्ने छन् । रासस 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved