मेलम्ची दोस्रो खण्डको सुरुङको काम आगामी हप्ता सम्पन्न हुने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 22, 2017 | 09:42:59 PM मा प्रकाशित

laxmi  sunrise bank

उपत्यकामा मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको २७ किमी लामो सुरुङको अम्बाथान–ग्याल्थुम खण्डको काम पुस १५ सम्म सकिने भएको छ ।

मेलम्ची खानेपानी आयोजनाले निर्माण गरिरहेको सुरुङको सुन्दरीजल–सिन्धु खण्डको करिब ९ किमी काम यसअघि नै सम्पन्न भइसकेको छ । सुरुङ निर्माणको काम ६०० मिटर बाँकी रहेकामा अम्बाथान–ग्याल्थुम खण्डमा ७२ मिटरको काम मात्र बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

सिन्धु–ग्याल्थुम खण्डमा कमजोर चट्टान भेटिएकाले काम ढिला भए पनि सम्पन्न गर्ने सम्झौता भएकै मितिमा सकिने समितिले जनाएको छ । यो खण्डमा ५०० मिटरभन्दा बढी सुरुङ खन्न बाँकी छ । इटालियन ठेकेदार कम्पनी सिएमसीले आगामी चैत १२ सम्म सुरुङ निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ । सुरुङसँगै मुहानस्थलमा ‘हेड वक्र्स’ का काम पनि भइरहेको प्रवक्ता पन्तले बताए ।

सुन्दरीजलमा ८ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भई सफलरुपमा परीक्षण पनि भएको छ । अर्को ८ करोड ५० लाख लिटर पानी प्रशोधनका लागि केन्द्र निर्माणको काम शुरु भएको छ । विसं २०७५ को शुरुआतसँगै मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।

सुन्दरीजलदेखि उपत्यकामा विभिन्न भागमा पानी वितरणका लागि पाइप बिच्छ्याउने कामको जिम्मेवारी भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयलाई दिइएको छ ।

पहिलो चरणमा पानी वितरण गर्न तोकिएका स्थलमा चैतअगावै पाइप बिच्छ्याइ सकिने निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए । सुरुङ निर्माण सम्पन्न भएपछि सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved