विदेशी निकायको पुरस्कार वा सम्मान थाप्न राष्ट्र बैंकबाट अनुमति लिनुपर्ने, विदेश भ्रमणमा पनि कडाइ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 26, 2017 | 06:44:17 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाले बिदेशी निकायबाट पुरस्कार तथा सम्मान थाप्न नेपाल राष्ट्र बैंकको अनुमति लिनु पर्ने भएको छ। केही वर्षयता बैंकहरुले मनपरी ढंगले विदेशी निकायबाट पुरस्कार र सम्मान थाप्ने क्रम बढेपछि पुरस्कार ग्रहण र विदेश भ्रमणमा कडाइ गरिएको राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकले आज मंगलबार परिपत्र जारि गर्दै यस्तो निर्देशन दिएको हो। निर्देशनमा 'बैंक तथा वित्तीय संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक सहायता, चन्दा वा अन्य कुनै पनि प्रकारको शुल्क वा वित्तीय योगदान गरेको आधारमा मात्र सोको प्रतिफलस्वरूप कुनै पनि विदेशी निकायबाट पुरस्कार वा सम्मान ग्रहण गर्न नपाइने' भनिएको छ।

विदेशी निकायबाट पुरस्कार वा सम्मान लिनैपर्ने अवस्था आए राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनुपर्ने परिपत्रमा उल्लेख छ। ‘यसरी स्वीकृति लिँदा पुरस्कार वा सम्मान प्रदान गर्ने विदेशी निकायको वैधानिक हैसियत एवं आधिकारिकता पुष्टि हुने कागजात यस बैंकमा पेस गर्नुपर्नेछ ।’ निर्देशनमा उल्लेख छ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले बिदेशी निकायबाट प्राप्त पुरस्कार तथा सम्मानलाई आफ्नो उत्कृष्टताको आधार बनाएर प्रचार प्रसार गर्ने गरेकाले राष्ट्र बैंकले यस्तो निर्देशन जारि गरेको हो। 

त्यस्तै

बैंक वित्तीय संस्थाका अध्यक्ष सदस्य र प्रमुख कार्यकारी अधिकृतको विदेश भ्रमणमा पनि राष्ट्र बैंकले कडाइ गरेको छ। विदेश भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन निर्देशन जारी गरिएको राष्ट्र बैंकले जनाएको छ।  

नयाँ निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आगामी चैतसम्म विदेश भ्रमणसम्बन्धी कार्यविधि बनाई लागू गर्नुपर्नेछ । कार्यविधिका भ्रमणको उद्देश्य उपयोगितालगायत पक्षहरू सञ्चालक समितिबाट निर्णय भएको हुनुपर्ने निर्देशन छ । 

‘संस्थाका सञ्चालक समितिका अध्यक्ष, सदस्य र प्रमुख कार्यकारी अधिकृत संस्थाको कामसँग सम्बन्धित विषयमा विदेश भ्रमणमा जानुपर्दा भ्रमण गरिने मुलुक, भ्रमण जाने पदाधिकारीको नाम, अवधि, उद्देश्य, खर्च एवं संस्थालाई हुने लाभको समेत विश्लेषण गर्नुपर्नेछ,’ परिपत्रमा भनिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved