८ हेलिकप्टर कम्पनीले तिरेनन राज्यलाई तिर्नुपर्ने रकम, श्री एयर र सिम्रिकको सबैभन्दा बढी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 19, 2018 | 08:57:55 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक रुपमा उडान गरिरहेका ८ हेलिकप्टर कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने रकम तिरेका छैनन् । ति कम्पनीले कुल ५४ लाख २३ हजार रुपैयाँ बक्यौता तिर्न अटेर गरेको प्राधिकरणले जानकारी दिएको छ । रकम तिर्न अटेर गरेका छन् । 

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल उड्डयन कार्यालयका अनुसार श्री एयर, सिम्रिक एयरको सबैभन्दा बढी बक्यौता रहेको छ । ती कम्पनीको १८÷१८ लाख रुपैयाँभन्दा बढी बक्यौता रहेको छ । यस्तै एयर डायनास्टिकको २६ हजार रुपैयाँ, प्रभु हेलिकप्टरको १६ हजार रुपैयाँ, माउण्टेन हेलिकप्टरको ९ लाख ५ हजार रुपैयाँ, मनाङ एयरका ९१ हजार रुपैयाँ, फिस्टेल एयरको ३ लाख ६४ हजार रुपैयाँ बक्यौता बाँकी रहेको कार्यालयले जानकारी दिएको छ । 

आन्तरिक र अन्तरराष्ट्रिय उडानमा रहेका विभिन्न वायु सेवा कम्पनीले रु ६६ करोड ३९ लाख ४६ हजार ३०७ बक्यौता तिर्न बाँकी रहेको छ । बढी बक्यौता रहेको श्री एयरका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले विमानस्थलमा रहेको बिलिङ प्रणालीमा रहेको कमजोरीका कारण बक्यौता रकम देखिएको बताए । 

‘हामी बक्यौता रकम तिर्न तयार छौँ, विमानस्थल कार्यालयले आफ्नो प्रणालीलाई व्यवस्थित गर्न नसक्दा समस्या भएको छ,’ उनले भने, ‘हाम्रो नतिर्ने नियत होइन ।’ यस्तै बढी बक्यौता रहेको सिम्रिक एयरका अपरेशनल म्यानेजर रमेशमान बज्राचार्यले बक्यौता रकम तिर्न कुनै समस्या नभएको बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणले ताकेता गरेपछि रकम तिर्ने प्रक्रियामा लागेको र छिट्टै रकम बुझाउने उनको भनाइ छ । 

‘पुरानो बक्यौता तिर्न बाँकी रहेको हो, हामी छिट्टै प्राधिकरणलाई रकम बुझाउँछौँ,’ उनले भने, ‘रकम बुझाउन पनि प्राधिकरणले सहजीकरण गरिदिनुपर्छ ।’ नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले पुरानो बक्यौता तिर्न बाँकी रहेको भए पनि आफूहरु तिर्न तयार रहेको बताए । 

उहाँले प्राधिकरणले तिर्न आग्रह गरेपछि सबै वायु सेवा प्रदायक कम्पनीले रकम तिर्नु दायित्वभित्रै पर्ने विषय भएकाले संघको तर्फबाट सहजीकरण गरिने बताए । तीन–तीन महिनामा बिल आउने भएकाले केही बढी रकम देखिन सक्ने भए पनि बिलअनुसारको रकम तिर्नु नै पर्ने बताउँछन् । बिलिङ प्रणालीमा रहेको समस्याका कारण पनि केही बढी रकम देखिएको प्रवक्ता आचार्यको भनाइ छ । 

बन्द भएका विमान कम्पनीको ११ करोड रुपैयाँ बढी बक्यौता रकम रहेको र सञ्चालनमा नै रहेका कम्पनीको ६६ करोड रुपैयाँ बक्यौता रहेको सन्दर्भमा हेलिकप्टर कम्पनीको पनि बक्यौता देखिएको हो । प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले कुनै पनि वायु सेवा प्रदायकलाई छुट दिन नसकिने र उनीहरुबाट बक्यौता रकम असुलउपर गर्ने प्रक्रिया शुरु भएको जानकारी दिए । बक्यौता रकम उठाउन प्राधिकरणले एक छानबिन समितिसमेत गठन गरिसकेको छ। रासस


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved