राष्ट्रिय गौरवको आयोजना मध्येको काबेली करिडोरको निर्माणमा ढिलाइ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 20, 2018 | 08:26:41 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको १३२ केभीए विद्युत् प्रसारण लाइन ‘काबेली करिडोर’ को निर्माणमा ढिलाइ भएको छ । दश वर्ष पहिले निर्माण प्रक्रिया अघि बढाइएको प्रसारण लाइनको कामले अपेक्षित गति लिन नसक्दा दोस्रोपटक थपिएको समय पनि सकिन लाग्दा आयोजनाको काम नसकिने देखिएको छ । दोस्रोपटक थपिएको म्याद सकिन लाग्दा आयोजना निर्माणको काम ७० प्रतिशतमात्र पूरा भएको छ ।

पाँचथर, इलाम, ताप्लेजुङ र तेह्रथुममा उत्पादन गरिएको बिजुलीलाई राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोड्ने उद्देश्यका साथ १० वर्ष अघिदेखि करिडोर निर्माण प्रक्रिया अघि बढाइएको थियो ।

करिडोर निर्माणको जिम्मा पाएका कम्पनीले निर्माण कार्यमा पर्याप्त जनशक्ति परिचालन गर्न नसक्दा कामले तीव्रता नपाएको काबेली करिडोरका प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए ।

“शुरु शुरुमा करिडोर लाइन विस्तार गर्न जग्गामा विवाद भयो”, प्रमुख द्विवेदीले भने, ‘पछिल्लो समयमा जग्गाको विषयमा विवाद त छैन तर निर्माण कम्पनीले आवश्यक जनशक्ति परिचालन गर्न नसक्दा समस्या भने आएको हो ।”

करिडोरको प्रसारण लाइन निर्माणको काम भारतीय निर्माण कम्पनी जगुवर एन्ड एस्टर प्रालिले गरिरहेको छ । दोस्रोपटक थपिएको म्याद आगामी वैशाख १० गते सकिँदैछ । “वैशाखभित्रमा पनि करिडोरको काम सकिने सम्भावना छैन, पछिल्लो समयमा निर्माण कम्पनीले जनशक्ति परिचालन नै गर्न सकेन,” प्रमुख द्विवेदीले भने ।

झापाको दमकदेखि पाँचथरको अमरपुरसम्मको ९० किलोमिटर लामो प्रसारण लाइन निर्माणको काममा ढिला गरिँदा तीन जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाको कामसमेत प्रभावित भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले २०६३ सालदेखि करिडोर निर्माणको प्रक्रिया अघि बढाएको थियो । प्रक्रिया शुरु भएको तीन वर्ष ढिलो गरी दुई वटा भारतीय निर्माण कम्पनीलाई प्रसारण लाइन निर्माणको जिम्मा दिइएको हो ।

करिडोरका चारै वटा सवस्टेसन निर्माणको काम एक वर्षअघिनै पूरा भएको छ । झापाको दमक, इलामको गोदक, पाँचथरको फिदिमस्थित थापाटार र अमरपुरको दुबीचौरमा सवस्टेसन निर्माणको काम सम्पन्न भएको हो । ९० किलोमिटर प्रसारणलाई विस्तारका लागि २५९ वटा टावर राख्नुपर्ने हुन्छ । हालसमम्म १२२ वटा टावर राखिएको छ ।

दोस्रोपटक थपिएको म्याद सकिन लाग्दा आयोजना निर्माणको काम ७० प्रतिशतमात्र पूरा भएको छ । झापाको दमकदेखि इलामसम्मको ९४ वटा टावर र पाँचथरको थापाटारदेखि अमरपुरको दुबीचौरसम्म २८ वटा टावर राख्ने काम सम्पन्न भएको हो । इलामको गोदकदेखि झापासम्मको प्रसारण लाइन निर्माण सम्पन्न भएको हो ।

विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकारणको कूल तीन अर्ब ५९ करोडको लागतमा करिडोर निर्माणको काम अघि बढाइएको हो । ८० प्रतिशत विश्व बैंकको लगानीमध्ये १५ प्रतिशत अनुदान र ६५ प्रतिशत ऋण लगानीमा कामअघि बढाइएको हो । निर्धारित समयमा करिडोरको काम सम्पन्न नहुँदा पाँचथर, इलाम र ताप्लेजुङमा निर्माणाधीन जलविद्युत् आयोजना निर्माणको काम पनि प्रभावित भएको छ ।

विश्व बैंकको सहयोगमा विद्युत् प्राधिकरणले प्राथमिकतामा राखेर अघि सारेको करिडरको काम शुरुवाती समय देखिने सुस्त भएकाले जलविद्युत् आयोजना निर्माणको काम प्रभावित भएको जनाएको छ। रासस 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved