नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला फागुनमा, मुख्य आकर्षणमा हस्तकला र एनटीआइएसका उत्पादन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 29, 2018 | 07:46:39 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले महासंघको विकल्प कुनै पनि संस्था हुन नसक्ने बताएकी छिन। महासंघले आगामी फागुनमा आयोजना गर्न लागेको नेपाल अन्तराष्ट्रिय व्यापार मेलाका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राणाले यस्तो बताएकी हुन। 

महासंघको विकल्प कुनै पनि संस्था हुन सक्दैन-अध्यक्ष राणा

निजी क्षेत्रले अव मुलुकको आर्थिक विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउदै राणाले राजनीतिक मुद्दा सकिएकाले अव पालो आर्थिक क्रान्तिको भएको बताइन। यसका लागि निजी क्षेत्रले मुलुकलाई आर्थिक विकासको एकल शुत्रमा अगाडी बढाउन सरकार, राजनीतिक दल र सरोकारवाला सवै निकायलाई निरन्तर दवाव दिइरहने उनले बताइन।  

राणाले महासंघले आफ्नो वृहद संजाललाई परिचालन गरी स्थानीय तह देखिनै आर्थिक विकासका मुद्दालाई सशक्त ढंगबाट अगाडी बढाउने दृढता समेत प्रकट गरिन।

स्थानीय तहमा रहेका आर्थिक विकासका सम्भाव्यता र चुनौतीहरु पहिचान गरी पठाउन महासंघले आफ्ना सवै सदस्यहरुमा अनुरोध गरि सकेको स्पष्ट पार्दै अध्यक्ष राणाले त्यसै आधारमा आर्थिक विकासको आगामी खाका कोर्ने समेत जानकारी गराइन। 

आगामी फागुनमा हुन लागेको नेपाल अन्तराष्ट्रिय व्यापार मेला आर्थिक विकासको एक शसक्त माध्यम भएको अध्यक्ष राणाको भनाइ छ। 'स्थानीय तहमा रहेको सम्भाव्यताको उजागर गर्न, घरघरमा उद्यमशीलता प्रवद्र्धन गर्न र आम नेपाली जनताको आर्थिक क्रयशक्ति बढाउन महासघले सरकारको सहयोगमा थालनी गरेको व्यापार मेला महोत्सवले लोकप्रियता कमाउदै गएको छ र यस प्रकारका मेलाले मुलुकका कुनाकुनामा आर्थिक जागरण आएको छ' राणाले भनिन।

'इतिहास बोकेको, निजी क्षेत्रको सशक्त नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको महासंघको विकल्प आज कुनै पनि संस्था हुन सक्दैन' राणाले भनिन, 'स्वदेशमा मेला महोत्सवको आयोजनाका साथै अन्तर्राष्ट्रिय जगतमा हुने मेला महोत्सवमा समेत बलियो प्रतिनिधित्वका कारण महासंघले छिमेकी भारत तथा चीनमा आयोजना हुने मेला महोत्सवमा निरन्तर भाग लिंदै आएको छ र त्यसबाट दुवै देश बीचको आर्थिक व्यापारिक सम्बन्ध निकै प्रगाढ हुन गएको छ।'

ब्यापार मेला अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडी: दिल सुन्दर श्रेष्ठ 

महासंघको व्यापार मेला समितिका सभापति दिलसुन्दर श्रेष्ठले मेला आगामी फागुन २४ देखि २८ गतेसम्म काठमाडौंमा हुने जानकारी गराए। नेपाल सरकार÷वाणिज्य मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धनमा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह—आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा उक्त मेला आयोजना हुन लागेको र यो मेला सातौं संस्करण रहेको श्रेष्ठले बताए। 

कूल ३०० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने भएको छ। मेलामा नेपाल सहित सार्क मुलुकहरू, चीन, थाइल्याण्ड, मलेशिया लगायतका देशहरूको सहभागिता रहनेछ। 

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरू, एनटीआइएस प्रोडक्टहरू रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकर्तासंग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य समेत रहेको जानकारी दिइएको छ। 

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण सम्बन्धी, शिक्षा, औषधि, फलाम तथा स्टील, सवारी साधन आदिका छुट्टाछुट्टै स्टलहरू रहने छन।

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्बन्ध विस्तारमा एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसंग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानी वारे छलफल समेत हुने छ। यस वर्षको मेलामा स्वदेशी र विदेशी गरि करिव २ लाख अवलोकनकर्ताहरूले अवलोकन गर्ने लक्ष्य राखिएको छ । 

महासंघले सफलतापूर्वक सम्पन्न गरेको अघिल्लो वर्षको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१७ को एकलाखभन्दा बढी स्वदेशी एवं विदेशी आगन्तुकहरूले अवलोकन गरेका थिए भने स्वदेशी विदेशी गरी ३ सय ४० एक्जिविटर्सहरूबाट वस्तु तथा सेवाको प्रदर्शनी गरिएको थियो । 

मेलामा चीन, भारत, बंगलादेश, कोरिया, जापान, इजरायल, जर्मनी, इयू, अमेरिका लगायतका देशबाट खरिदकर्ताहरू आएका थिए भने चीन, भारत, पाकिस्तान, वंगलादेश र दक्षिण कोरिया लगायतका देशबाट व्यवसायिक प्रतिनिधिमण्डलले मेलाको अवलोकन गरेका थिए । मेलामा नेपाली निर्यात योग्य बस्तुहरुका साथै बहुराष्ट्रिय नेपाली कम्पनीहरूको समेत उल्लेख्य सहभागिता थियो ।

राष्ट्रिय अन्तराष्ट्रियतहमा एउटा विशिष्ठ पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने  आशा एवं विश्वास महासंघले लिएको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved