कालीगण्डकी करिडोर प्रभावितलाई आठ करोड मुआब्जा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 11, 2018 | 09:00:32 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई आठ करोड रुपैयाँ मुआब्जा वितरण गरिने भएको छ।बहुचर्चित २२० केभीए दाना–खुर्कोट–बर्दघाट कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत म्याग्दी र पर्वत क्षेत्रका एकसय प्रभावित घरधुरीलाई आठ करोड रुपैयाँ मुआब्जा वितरण गर्न लागिएको आयोजनाका लेखा प्रमुख गोविन्द सुवेदीले जानकारी दिएका छन्। मालपोत र नापी कार्यालयको सिफारिस, चलनचल्तीको दररेट र स्थानीयवासीको मागलाई ध्यानमा राखेर म्याग्दीमा चार करोड १७ लाख रुपैयाँ र पर्वतमा तीन करोड ९७ लाख रुपैयाँ मुआब्जा वितरण गरिने आयोजनाका लेखा प्रमुख सुवेदीले बताए।

सुवेदीका अनुसार म्याग्दीमा जग्गाको मूल्यांकन उच्च रहेका कारण अधिग्रहण गर्नुपर्ने जग्गा कम भए पनि बढी मुआब्जा रकम वितरण हुनेछ। ‘म्याग्दीमा ४० रोपनी र पर्वतमा ५५ रोपनी जग्गा अधिग्रहण हुने भए पनि म्याग्दीको दररेट बढी भएकाले यहाँ बढी वितरण हुन्छ’, उनले भने। जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरण व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ। म्याग्दी, पर्वत, मुस्ताङ क्षेत्रमा निर्माण चरणमा रहेका जलविद्युत् आयोजनालाई ध्यानमा राख्दै प्रसारण लाइन निर्माण गर्न लागिएको हो।

प्रसारण लाइनका लागि म्याग्दीको दाना र पर्वतको खुर्कोटमा सबस्टेसन निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। खुर्कोटदेखि बर्दघाटसम्म सरकारले दोस्रो चरणमा निर्माण गर्न प्राथमिकतामा राखेको छ। ४२ किलोमिटरको दाना–खुर्कोट प्रसारण लाइनलाई म्याग्दीको अन्नपूर्ण, रघुगंगा र पर्वतको जलजजा गाउँपालिकाका विभिन्न वडामा ११४ ठूला टावर निर्माण हुनेछन्। ती टावर रहने जग्गाको मुआब्जा वितरण गर्न लागिएको हो।

आयोजनाका लेखा प्रमुख सुवेदीका अनुसार म्याग्दीमा प्रतिरोपनी १३ लाख रुपैयाँ र पर्वतमा १० लाखका दरले मुआब्जा वितरण हुनेछ। एशियाली विकास बैंक (एडीबी)को आर्थिक सहयोगमा विद्युत् प्राधिकरणले निर्माण गरिरहेको प्रसारण लाइनका अतिरिक्त सबस्टेशन निर्माण कार्य ५० प्रतिशत पुरा भएको छ। दुई अर्ब ९० करोड लगानीमा निर्माण हुने सबस्टेशन र प्रसारण लाइनका लागि टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक जेभीले ठेक्का लिएको छ।रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved