प्रधानमन्त्रीको भारत भ्रमणबारे के भन्छ चेम्बर अफ कर्मस ? हेनुहोस्

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 04, 2018 | 01:56:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्वर अफ कमर्सले प्रधानमन्त्री के.पी. शर्मा ओलीको भारत भ्रमणले नेपाल भारतबीचको आर्थिक सम्वन्धमा नयाँ उर्जा थपिने विश्वास गरेको छ । प्रदेश र संसदको निर्वाचन सकेपछि बहुमतको सरकार बनेकाले देशले राजनीतिक स्थायित्व प्राप्त गरी अर्थतन्त्र सकारात्मक दिशातर्फ लागेका बेला प्रधानमन्त्रीको भारत भ्रमण हुन लागेकोले भ्रमण सफल हुने चेम्बरको विश्वास छ । 

लगानी र व्यापारको दृष्टिकोणले भारत नेपालको सवैभन्दा ठूलो आर्थिक साझेदार मूलुक भएको भन्दै चेम्वरले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा भारतसँग कुल दुई तिहाइ व्यापारिक कारोवार रहेको र भारतसंग नेपालको व्यापार घाटा झण्डै १३ गुणा रहेको जनाएको छ । अहिलेको मुख्य चुनौती व्यापार घाटालाई कम गर्नु रहेको भन्दै चेम्वरले प्रधानमन्त्रीको भ्रमणमा छलफल गर्नुपर्ने विषयहरुसमेत सार्वजनिक गरेको छ । 

नेपाल र भारतबीचको व्यापार सन्धीले नेपाली बस्तुहरु भंसार शुल्क रहित निर्यात गर्न पाउने सुबिधा दिएपनि हाल नेपालबाट भारत निर्यात हुने वस्तुहरुमा जीएसटी लागेर नेपाली वस्तुहरु भारत पुग्न छोडेकाले त्यसतर्फ छलफल गर्नुपर्ने चेम्वरको भनाई छ । नेपाल र भारतवीच बिशेष आर्थिक सम्वन्ध रहेको, ज्यादै ठूलो मात्रामा व्यापार घाटा भएकोले नेपाली वस्तुहरु भारतीय वजारमा जीएसटीमुक्त प्रवेशको लागि पहल गरिनुपर्ने चेम्बरले जनाएको छ । नेपालले भारतबाट बिद्युत आयात गरिरहेकोमा बर्षायाममा बढी भएको बिद्युत नेपालले भारत निकासी गर्ने र सुखायाममा भारतबाट बिद्युत आयात गर्ने गरी इनर्जी बैंककोे अवधारणा अघि वढाउनुपर्ने चेम्बरको सुझाव छ । 

भारतले अन्तरदेशीय उर्जा व्यापारमा ५१ प्रतिशत भारतीय लगानी भएको उर्जा कम्पनीको बिद्युत खरिद गर्ने नीति अपनाएकोले त्यसतर्फ पनि छलफल हुनुपर्ने र शतप्रतिशत नेपाली लगानी भएको कम्पनीबाट उत्पादित बिद्युत पनि खरिद गर्ने व्यवस्था मिलाउन पहल गरिनुपर्ने जनाएको छ ।

बीरगंज सुखा वन्दरगाहको प्रयोग नभएर तेश्रो मुलुकबाट आयात गरिने वस्तुको भारतको कोलकातामा हुने गरिएको भन्सार क्लियरेन्स सिमामै गर्ने र सीआईएफ बीरगंज गरी कन्टेनरको सिपमेण्ट गर्न सिपिड लाइनसंग समन्वय गराइदिनु पर्ने चेम्बरको जोड छ । 

रक्सौलदेखि अमलेखगंजसम्म रेलवे नेटवर्क निर्माणको लागि पहल गरिनुपर्ने र नेपालमा ल्याउन पाउने भा.रु. ५०० भन्दा वढीका भारतीय नोटको परिमाणात्मक पावन्दीले नेपालको पर्यटन उद्योग तथा सीमावर्ती सामाजिक सम्वन्धमा प्रत्यक्ष प्रभाव पारेकोले यस परिमाणलाई असीमित गर्ने वा सीमावन्देज वढाउनुपर्ने चेम्वरको धारणा छ । रु पाँंच सय भन्दा वढीका भारतीय नोट सटही हुन नसकेकोमा सो सटही हुनुपर्ने माग राखेको छ । बल्क कार्गो आयातको सुबिधा रक्सौलमा मात्र सिमित नगरी अन्य नाकाहरुमा पनि वल्क कार्गो आयात गर्ने सुबिधा बिस्तार गरिनुपर्ने धारणा पनि चेम्बरले राखेको छ । सीमावर्ती क्षेत्रको सडक लगायतका भौतिक पूर्वाधार निकै नै दयनीय अवस्था भएकोले यसलाई शिघ्र सुधार गरिनुपर्ने माग पनि चेम्वरको छ ।

यसैबीच प्रधानमन्त्री के.पी. शर्मा ओलीको भारत भ्रमणमा नेपाल चेम्वर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा नौ सदस्यीय टोली पनि भ्रमणमा सहभागी हुने भएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved