नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले ढिला नगरी नेपालमा लगानी बढाउन भारतीय निजी क्षेत्रलाई आग्रह गरेकी छिन् ।
मित्रराष्ट्र भारतको तीन दिने राजकिय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा भारतीय निजी क्षेत्रले दिल्लीमा आयोजना गरेको नेपाल–भारत व्यवसायिक फोरमको बैठकमा प्रतिनिधिमण्डलमा नेपाली निजी क्षेत्रको नेतृत्व गर्दै सहभागी भएकी राणले नेपालमा लगानी बढाउन ढिला नगर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गरिन् । अध्यक्ष राणाले स्थिर सरकार, प्रधानमन्त्री स्वयम् आर्थिक वृद्धि, रोजगारी सृजना र सुशासन कायम गर्न प्रतिवद्ध रहनु भएकोले नेपालमा लगानी गर्न आग्रह गरिन् । उनले नेपाल र भारत दुवै प्राकृतिक स्रोत साधनले सम्पन्न देश रहेकाले यसको अधिकतम उपयोग गर्दै समृद्धिको मार्गमा सहकार्य गर्न नेपालको नीजि क्षेत्र तयार रहेको बताईन् ।
अध्यक्ष राणाले नेपाल भारत बीचको आर्थिक तथा व्यवसायिक सम्बन्धलाई नयाँं शिराबाट अगाडी बढाउनु पर्ने समेत बताईन् । दुवै देशका निजी क्षेत्रबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको भन्दै राणाले आपसी सहकार्यमा लगानीका नयाँ क्षेत्रहरूको पहिचान गर्नुपर्ने बताईन् । आर्थिक समृद्धिको बाटोमा अगाडी बढ्ने तयारीमा रहेको नेपाललाई भारतसँगकोे व्यापार घाटा चिन्ताको विषय रहेको भन्दै यतिवेला जस्तो नेपालमा लगानी गर्ने उपयुक्त समय कहिल्यै नभएको समेत प्रष्ट पारिन् । सेवामुलक, उत्पादनमुलक र कृषि प्रशोधन जस्ता क्षेत्रहरूमा लगानी गर्न आग्रह गर्दै उनले उर्जा, पूर्वाधार र ठूला उत्पादनमुलक क्षेत्रमा नेपालले वैदेशिक लगानी खोजिरहेको बताईन् ।