५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको तयारी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 10, 2018 | 10:35:12 AM मा प्रकाशित

laxmi  sunrise bank

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । हाइड्रो सपोर्ट प्रालि काठमाडौँले कालीगण्डकी नदीमा आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन कार्य अन्तिम चरणमा पुर्याएको जनाएको छ । 

वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन तयार पार्नका लागि आयोजनाले चैत २६ गते सोमबार अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ। अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा बाँध रहने आयोजनाको विद्युत्गृह सोही पालिकाको २ नम्बर वडामा पर्ने ठूलोबगर क्षेत्रमा प्रस्ताव गरिएको छ। चार हजार १०० मिटर सुरुङ रहने आयोजनाको विद्युतगृहदेखि फोरवेको उचाइ ११५ मिटर हुने जनाइएको छ ।

प्रतिवेदन तयार पारेर स्वीकृत भएपछि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता गरी विद्युत् विकास विभागले पूर्वाधार निर्माणको अनुमति दिने प्रक्रिया रहेको छ । लगानीको स्रोत जुटाएर आगामी डेढ वर्षभित्रमा पूर्वाधार निर्माणको चरणमा प्रवेश गर्ने तयारी भएको आयोजनाका प्रमुख चन्द्र ढकालले बताए ।

ढकालले करीब १२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकको रुपमा लगानीका लागि प्रभावित क्षेत्रका लगानीकर्तालाई समेत आह्वान गरेका छन् । प्रभावित क्षेत्रका बासिन्दालाई पब्लिक शेयरको समेत सुविधा दिइने जनाइएको छ ।

सार्वजनिक सुनुवाइमा सहभागीले कालीगण्डकी किनारमा अवस्थित पर्यटकीय महत्वको तातोपानी कुण्डलाई असर नपुग्ने गरी आयोजना निर्माण गर्न सुझाव दिएका वडाध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए । भूगर्भविद्ले गरेको अध्ययनअनुसार जलविद्युत् आयोजना बनाउँदा तातोपानीको मुहानलाई असर नगर्ने जानकारी गराइएको थियो ।

अन्नपूर्ण गाउँपालिकामा हाल पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।

चार नम्बर वडामा पर्ने नारच्याङमा ४२ मेगावाटको नीलगिरि र ६२ मेगावाटको नीलगिरि क्यासकेट जलविद्युत् आयोजना निर्माणका लागि सडक निर्माणको काम भइरहेको छ ।

तीन नम्बर वडा दानामा सव स्टेशन र त्यहाँदेखि पर्वतको कुश्मासम्म विद्युत् प्रशारण लाइन निर्माणको काम तीव्ररुपमा अघि बढेको छ । प्रशारण लाइन र सवस्टेशन निर्माणसँगै जलविद्युत् आयोजना निर्माण कार्यले तीव्रता पाएको हो । रासस 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved