५ अर्बको बटर फ्रिज हुँदा भुक्तानीमा कठिनाई, गुणस्तरको आधारमा दुधको मुल्य निर्धारण

भावना लामा

भावना लामा

Aug 02, 2018 | 04:36:09 PM मा प्रकाशित

laxmi  sunrise bank

किसानहरुले दुग्ध विकास संस्थानले दुधको मूल्य घटाएको आरोप लगाईरहेका बेला संस्थान र निजि क्षेत्रका डेरी संस्थानहरुले भने मुल्य नघटाएको दाबि गरेका छन। 

संस्थानका संस्थानका निमित्त महाप्रबन्धक ईश्वरिराज न्यौपानेले किसानलाई दिँदै आइरहेको ‘बेशलाईन प्राईज’ नघटाईएको दावी गरेका छन। दुधको केही पकेट क्षेत्रका किसानले उत्पादन गर्ने दुधको मात्राका आधारमा दिँदै आएको अतिरिक्त मूल्य मात्रै हाललाई स्थगित गरिएको उनले बिजपाटीलाई बताए।

'दुधमा भएको ठोस पदार्थको आधारमा ५०÷६० पैसा देखी १ रुपैयाँसम्म अतिरिक्त मूल्य दिँदै आएकोमा अब गुणस्तरको आधारमा कृषकलाई पैसा दिने हो, त्यसकै लागि हाललाई स्थगित गरिएको हो' न्यौपानेले बताए। 

त्यस्तै देशभरीका किसानहरुलाई समान मूल्य उपलब्ध गराउनलाई अतिरिक्त मूल्यमा रोक लगाउन आवश्यक भएको नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीको भनाई छ। 'सबै किसानलाई दुध उत्पादन गर्न उत्तिकै मिहिनेत लाग्ने हुँदा समान मूल्य हुन जरुरी छ' उनले भने। 

देशैभरीका डेरीहरुमा ४ देखि ५ अर्बको बटर फ्रिज हुँदा किसानलाई भूक्तान गर्न कठिनाई भएको अवस्थामा अतिरिक्त मूल्य दिन नसक्ने नेपाल डेरी एसोसियसनका अध्यक्ष राधाकृष्ण सापकोटाको भनाई छ। उनका अनुसार ‘दुध कम उत्पादन हुने समयमा दुधको उत्पादनमा बृद्धि गराउन किसानलाई प्रोत्साहान स्वरुप अतिरिक्त मूल्य उपलब्ध गराउने र  दुधको बृद्धि बढ्न थालेपछि उक्त रकम समायोजन गर्ने नेपाल सरकारसंग मौखिक सहमति भएको थियो।’ 

असोज देखी फागुन महिनालाई धेरै दुध उत्पादन हुने महिनाका रुपमा लिईन्छ भने चैत देखी भदौसम्म कम दुध उत्पादन हुन्छ। संस्थानले असोज देखी फागुन महिनासम्म दुधको उत्पादन धेरै हुने हुँदा त्यो समयमा दुधबाट मख्खन, पाउडर लगायतका परिकार बनाउने गर्दछ । संस्थानका निमित्त महाप्रबन्धक न्यौपानेका अनुसार मख्खनलाई २० डिग्री सेल्सियसभन्दा कम तापक्रममा राख्नुपर्दछ । दैनिक धेरै दुध आउने हुँदा भण्डारको अभाव भएको छ । “मख्खनलाई २० डिग्रीभन्दा कम तापक्रममा राख्नुपर्छ, दुधबाट बनेका परिकारको आयु त लामो हुँदैन, त्यसैले पहिला उत्पादन भएका परिकार नै स्टक छ” उनले भने । 

केहि समय अगाडी कृषि मन्त्रि चक्रपाणी चालिसेको टोलिले गरेको अनुगमनबाट दुधमा रसायन भेटिएपछि दुधको बिक्रि ३० प्रतिशतले घटेको थियो । उक्त कारणले गर्दा पनि दुग्धजन्य सामाग्री बिक्रि नहुने समस्या आईपरेको नेपाल डेरी उद्योग संघका अध्यक्ष अरनीको राजभण्डारीको भनाई छ । 

उपभोक्ताले दुध नै खान नहुने हो कि भन्ने सम्मको सोच बनाएको उनी बताउछन् । यसले गर्दा पनि अब दुधको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने उनले बताए । नेपाल सरकारले तोकेको न्यूनतम मूल्य बाहेक अतिरिक्त मूल्य मकवानपुर, चितवन र काभ्रेका केहि सिमित क्षेत्रका किसानहरुले प्राप्त गर्दै आईरहेका थिए । 

किसानहरुले पाउदै आएको अतिरिक्त मूल्य रोक्दा कृषकहरु आन्दोलित बनेका छन्। विभिन्न ठाउँमा कृषकहरुले आफूले उत्पादन गरेको दुध सडकमा पोखेर आन्दोलन गरेका छन। एकातिर कृषक आन्दोलन गर्ने र अर्कोतिर संस्थान दुधको उत्पादन बढ्यो भन्दै गर्दा दुग्ध उत्पादन व्यबसाय कता जाने भन्ने समस्या सिर्जना भएको छ । दुग्ध उत्पादन बढिरहेको र स्टक पनि धेरै रहेको भन्दै संस्थानले दुध आयात रोक्न सरकारसँग पनि माग गरेको छ। किसानलाई दिँदै आएको अतिरिक्त मूल्य रोक्दै डिडिसीले मात्राको आधारमा नभई गुणस्तरको आधारमा अतिरिक्त मुल्य दिन सञ्चालक समिती सदस्य डाक्टर विशाल बास्तोलाको नेतृत्वमा एउटा कार्यदल पनि बनाएको छ। केही दिनमा कार्यदलले प्रतिवेदन बझाएपछि अतिरिक्त मूल्य कसरी दिने भन्ने विषयमा निर्णय हुने संस्थानका निमित्त महाप्रबन्धक न्यौपानेले बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved