भिजिट नेपाल २०२० सफल पार्ने जिम्मेवारी कसको ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 13, 2018 | 09:53:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पर्यटन उद्योगको सम्भावना र चुनौतिका विषयमा जो कोहीपनि जानकार छ । किनभने, हामीकहाँ प्रशस्त सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधार व्यवस्थापन गर्न नसक्दा पर्यटन उद्योगले सोचेअनुसार गति लिन सकेको छैन् । अर्को कुरा पर्यटन उद्योगमा सरकारी लगानी छैन । ‘नेपाल वायु सेवा निगम’ बाहेक अन्यत्र सरकारको लागनी नभएको कारण पर्यटन उद्योग नीजि क्षेत्रले धानिरहेको छ । 

केन्द्र सरकारमा पर्यटन विभाग एक्लै

कम्पनी ऐन अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका टुरिजम र ट्रेकिङ एजेन्सिलाई पर्यटन विभागले लाईसेन्स दिन्छ र त्यसपछि उनीहरुले आफ्नो काम गर्न पाउँछन् । सरकारी मातहत र सरकारी नियम कानुनको विषयमा व्यवसायीलाई जानकारी दिने यति ठूलो र जिम्मेवार निकाय पर्यटन विभाग आन्तरिक व्यवस्थापनमा भने फितलो देखिएको छ। विभागका अधिकारी नै कति पर्यटकले नेपाल भ्रमण गरे भन्नेमा अनुत्तरीत हुनु स्वभनीय होईन। विभागका अधिकारी पर्वतारोहण बाहेक अन्य जानकारी र तथ्याङ्क आफुहरुसँग नभई अध्यागमन विभागसँग हुने बताउँछन् । 

नेपालमा हाल २ हजार ५७० ट्रेकिङ एजेन्सी, ३ हजार ३७९ टुरिजम एजेन्सी र ८० वटा पर्यटन उद्योगहरु छन् । १४ हजार ९३ जना ट्रेकिङ गाईड र ३ हजार ९५० टुर गाईडले नेपालको पर्यटन क्षेत्र धानिरहेका छन् । लाखौ पर्यटक भित्रिने नेपालमा उनीहरुको व्यवस्थापनका लागी यो जनशक्ति निकै कम हो । ट्रेकिङ र टुर गाईडको लागी NATHAM को सर्टिफिकेट भएपछि विभागले लाईसेन्स दिन्छ । 

यस अघि विभागको पनि अन्य निकायको जस्तै संरचना थियो। नाम्चे बजार, झापा, भैरहवा, पोखरा, कोहलपूर, वीरगञ्ज र जनकपूरमा विभाग मातहतका कार्यालयहरु थिए । तर अहिले प्रदेश सरकार बनिसकेपछि ती कार्यालयहरु प्रदेश सरकारमा समायोजन भएका छन् । अब ती कार्यालयहरुलाई सबै प्रदेश सरकारमा रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नियमन गर्नेछ । 

विभाग अहिले सरकारले घोषणा गरेको Visit Nepal 2020 को तयारीमा छ । विभागकी निर्देशक मिरा आचार्यका अनुसार विभाग अहिले सरकारले घोषणा गरेको योजनालाई सहयोग गर्न प्रचार प्रसारको काम गरिहेको छ । “हुन त यो काम विभाग एउटा, मन्त्रालय वा अन्य कुनै निकायले मात्रै गर्ने काम होईन, नेपालको अर्थतन्त्रको विकासका लागी सबैले स्वीकार गरिसकेको पर्यटन क्षेत्रलाई विस्तृत बनाउनको लागी सबैले आ–आफ्नो ठाउँबाट प्रचार प्रसार गर्नुपर्छ, हामी पनि त्यही गर्दै छौ” उनले विजपाटीसँग भनिन् । सरकार Visit Nepal 2020 मार्फत नेपालमा पर्यटकको संख्या दोब्बर बनाउने योजनामा छ ।  

तर मन्त्रालय स्तरमा उक्त कार्यक्रमको लागी छलफल जारी रहेकोले आफुहरुलाई यो काम गर्नु भन्ने निर्देशन प्राप्त भईनसकेको उनको भनाई छ । “अहिले मन्त्रालयमा योजना बनाउने काम हुँदैछ, त्यसपछि हामीलाई दिने कामको जिम्मा हामी गर्छौ, अहिले त केवल प्रचार मात्रै गरेका छौ” उनले भनिन् । केन्द्र सरकारको मातहत र निकटमा अहिले विभाग मात्रै छ। यस अघि विभागले नियमन गर्दै आएका कार्यालयहरु अहिले प्रदेश सरकारको मातहतमा गईसकेका छन् ।

नेपालको पर्यटन उद्योग र पर्यटन बोर्ड 

नेपालको कुल ग्रहस्थ उत्पादनको ७ प्रतिशत हिस्सा ओगटेको पर्यटन क्षेत्र अहिले बलियो देखिएको छ। सन् २०१६ मा भन्दा २०१७ मा बढेको पर्यटकको आगमन संख्यालाई हेर्ने हो भने नेपालको पर्यटन उद्योग निकै फस्टाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार अन्तराष्ट्रिय स्तरका होटल तथा रेष्टुरेन्ट, होमस्टे, नीजि क्षेत्रको लगानीमा बनेका पर्यटकीय स्थलहरुको कारण पनि नेपालमा पर्यटकको संख्या बढेको छ । 

नेपालमा पर्यटकको संख्या बढ्नुको मुख्य श्रेय निजी क्षेत्रलाई नै जाने बोर्डको भनाई छ । नेपालमा निजी एअरलाईनसहरु थपिएका छन्, धेरै पर्यटक आउने देश भारत र चीनसँग नेपाल सरकारको सोझो सम्बन्ध बनेको छ, नेपालमा विदेशी लगानी भित्रिरहेको छ यस्ता विभिन्न सुखद पक्षले नेपालमा पर्यटकको संख्या बढाउन मद्धत पुगेको छ । 

भूकम्पपछिका वर्षहरुमा नेपाल आउने पर्यटकको संख्या घटेको भन्ने विषय बोर्डले स्वीकार गरेको छैन् । किनभने भूकम्पपछिका वर्षहरुमा पर्यटकको संख्या धेरै बढेको छ । हामीहरुसँग पर्याप्त पूर्वाधार र क्षमता नभएको अवस्थामा कसरी धेरै पर्यटक आउँछन् ? विभागका एक अधिकारीले प्रश्न गरे । “नेपाल वायु सेवा निगम र अन्य निजी विमानको सिट संख्याको आधारमा नेपालमा पर्यटक आउने हुन्, जति धेरै विमान थपिएको छ उती नै पर्यटकको संख्या बढेको छ । जति राम्रो व्यवस्थापन गर्न सक्यो उती नै बढ्छन्” उनले भने । 

वर्षमा नेपालबाट ६० हजार कर्मचारी विदेश घुम्न जाने गरेका छन्। नेपालबाट थाइल्याण्ड विमानमा जम्मा ३ घण्टा लाग्छ । यसको भाडा २१ हजारको हारहारीमा छ। तर उही ३ घण्टा लाग्ने चीनमा ८० हजारदेखी १ लाख २० हजारसम्म भाडा कायम छ । यसको कारणले गर्दा पनि सोचेजसरी चिनीया पर्यटक नेपाल आउन सकेका छैनन। नेपालबाट भारत १ घण्टा २५ मिनेटको दुरीमा विमानबाट सवार गर्न सकिन्छ, जबकी यो रुटको भाडा २२ हजार छ । यसले गर्दा पनि दुई छिमेकी देशबाट आउनुपर्ने जति पर्यटक आएका छैनन् । यसको लागी अन्तराष्ट्रि विमानस्थल अति आवश्यक रहेको व्यवसायीहरुले बताएका छन्। 

सरकारी स्तरबाट केवल घोषणा मात्रै हुने तर काम नहुने भन्दै पर्यटन व्यवसायीले सरकारलाई पूर्वाधार विकास र व्यवस्थापनमा लाग्न सुझाव पनि दिने गरेका छन् । नीजि क्षेत्र र सरकारको सहकार्यमा सन् १९९९ जनवरीमा संसदबाट स्थापना भएको पर्यटन बोर्डले हाल पर्यटनको प्रवद्र्धन गर्ने काम गरिरहेको छ । उसले नेपालको पर्यटकीय गन्तव्यको विषयमा प्रचार प्रसार गरिहेको छ । बोर्डमा ५ जना निजी क्षेत्र, ५ जना सरकारी र १ जना खुल्ला प्रतिस्पर्धाबाट संस्थाको कार्यकारी प्रमुख छानिने व्यवस्था छ । समग्रमा भन्दा पर्यटन बोर्ड निजी क्षेत्रले नेतृत्व गरेको तर सरकारको पनि सहभागिता रहेको संस्था हो । 

कुन देशबाट कति पर्यटक भित्रिए ?

नेपालमा सन् २०१७ मा ९ लाख ४० हजार २१८ जना पर्यटकले भ्रमण गरे । यो तथ्याङ्क सन् २०१६ को भन्दा २ लाखले बढी हो । त्यससँगै २०१८ को जुनसम्ममा ५ लाख २० हजार १४ विदेशीले नेपालको भ्रमण गरिसकेका छन् । यो संख्या गतवर्षको यही अवधिमा ४ लाख ६० हजार ३०४ मा समित थियो । यो अवधिमा ५९ हजार ७१० पर्यटक बढेका छन् । 

सार्क राष्ट्रबाट नेपाल आएका पर्यटकको संख्या 

२०१८ को जुन महिनासम्म बङ्ग्लादेशबाट १३ हजार ९९५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तै भारतबाट ९६ हजार ३७२ जनाले नेपाल घुमेका छन् । गत वर्षको यहि अवधिमा भन्दा ८ प्रतिशत बढी भारतीयले नेपाल भ्रमण गरेका हुन् । नेपाल आउने कुल पर्यटकको संख्याको १८.५३ प्रतिशत भारतले आगटेको छ ।

त्यस्तै पाकिस्तानबाट २ हजार ४७३, श्रीलङ्काबाट १८ हजार ८९० जनाले नेपालको भ्रमण गरेका छन् । श्रीलङ्काबाट नेपाल आउने पर्यटकको संख्या भने अघिल्लो वर्षको तुलनामा ३.७ प्रतिशतले घटेको छ । 

सार्क राष्ट्रहरु (बङ्ग्लादेश, भारत, पाकिस्तान र श्रीलङ्का) बाट यस वर्षको जुनसम्म १ लाख ३१ हजार ७३० जनाले नेपालको भ्रमण गरेका छन् । यसलाई व्यवसायीहरुले केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गरेको धार्मिक भ्रमणको प्रभाव भनेका छन् । 

सार्क बाहेकका एशियन देशहरुबाट नेपाल आएका पर्यटकको संख्या

सार्क राष्ट्रहरुको भारतपछिसबैभन्दा धेरै पर्यठक नेपाल पठाउने देशको सूचीमा चीन रहेको छ । चीनबाट गतवर्षको यही अवधि भन्दा ३७ प्रतिशत धेरै अर्थात् ७१ हजार ३७९ पर्यटक नेपाल आएका छन् । गतवर्षको यही अवधिसम्म ५२ हजार ८४ पर्यटक मात्रै चीनबाट नेपाल आएका थिए । 

जापानबाट १३ हजार ८५१, मलेशियाबाट ९ हजार ३०५, सिङ्गापुरबाट ३ हजार ५७४, दक्षिण कोरियाबाट १८ हजार १३२, चाईजिन ताइपेईबाट ४ हजार ३६६, थाइल्याण्डबाट २३ हजार ४२८ गरी सार्क बाहेकका एशियन देशहरुबाट १ लाख ४४ हजार ३५ पर्यटक नेपाल भित्रिएका छन् । 

युरोपीयन देशहरुबाट नेपाल आएका पर्यटकको संख्या 

युरोपीयन देशहरुमध्ये सबैभन्दा धेरै पर्यटक नेपाल पठाउने देश बेलायत रहेको छ । उसले यसवर्षको जुनसम्म २७ हजार ७९२ पर्यटक नेपाल पठाएको छ । त्यसपछि जर्मनीबाट १६ हजार ४९५ र फ्रान्सबाट १२ हजार ९४७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

अष्ट्रियाबाट २ हजार १३३, वेल्जियमबाट २ हजार ९७८, चेक रिपब्लिकबाट १ हजार ३५४, डेनमार्कबाट २ हजार ३३७, इजरायलबाट ३ हजार २२५, इटालीबाट ५ हजार ३१४ जनाले नेपाल भ्रमण गरेका छन् । 

सोही अवधिमा नेदरल्याण्डबाट ६ हजार ३२१, नर्वेबाट १ हजार ८३६, पोल्याण्डबाट २ हजार ८७६, रसियाबाट ५ हजार ७००, स्वीटजरल्याण्डबाट ३ हजार ४३५, स्पेनबाट ५ हजार ७५४ र स्वीडेनबाट १ हजार ९०७ गरी जम्मा १ लाख २ हजार ४०४ जना युरोपीयन नागरिकले नेपालको भ्रमण गरेका छन् । यो अघिल्लो वर्षको यही अवधिको तुलनामा १२.१ प्रतिशतले बढी हो ।

ओसेनीया (अष्टे«लिया) अन्तर्गतका २ देशहरु अष्ट्रेलिया र न्युजिल्याण्डबाट क्रमशः १६ हजार ११५ र २ हजार ५५८ गरी १८ हजार ६७३ जना पर्यटकले नेपाल घुमेका छन् । 

अमेरिकन देशहरुबाट नेपाल आएका पर्यटकको संख्या 

अमेरिकन देशहरुमध्ये अमेरिका र क्यानडाबाट पर्यटकहरु नेपाल आउने गरेका छन् । यस वर्षको जुनसम्ममा अमेरिकाबाट ४३ हजार ८१६ र क्योनडाबाट ८ हजार ३४७ गरी ५२ हजार १६३ पर्यटक नेपाल भ्रमण गरी फर्केका छन् । 

यो अवधिमा अन्य विभिन्न देशहरुबाट नेपाल आउने पर्यटकको संख्या ७१ हजार ९ रहेको तथ्याङ्क छ । सन् २०१७ को यही अवधिमा भन्दा १३ प्रतिशतले पर्यटक आवागमन बढेको छ । 

नेपालमा पर्यटक धेरै पठाउनेमा सार्क देशहरुले २५.३३, सार्क बाहेकका एशीयन देशहरुले २७.७०, युरोपियन देशहरुले १९.६९, ओसेनीया (अष्ट्रेलिया र न्युजिल्याण्ड) ले ३.५९, अमेरिकन देशहरुले १०.०३ र अन्य देशहरुले १३.६६ प्रतिशत हिस्सा ओगटेका छन् । यसरी पर्यटक आवत बढिरहेका बेला सरकारी स्तरबाट सुरु भएको पर्यटन प्रवर्दनका कार्यक्रमहरुले निकै महत्व राख्नेछन् । 

पर्यटन मन्त्री रविन्द्र अधिकारीले कुल ग्राहस्र्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदानलाई बढवा दिन कुनै कसर बाँकी नराख्ने उद्घोष गरिसकेका छन् । निजी क्षेत्र (पर्यटन व्यवसायी, होटल÷रेष्टुरेन्टका सञ्चालक, ट्राभल÷टुरका सञ्चालक) लगायतबाट पनि उनलाई सहयोग प्राप्त भएको छ । पर्यटन बोर्ड र निजी क्षेत्रको भनाईलाई आधार मान्ने हो भने नेपालमा पर्यटन व्यवसाय निकै बलियो हुँदै गएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved