पर्यटनमा ‘फेक रेस्क्यु’ : ३ हेलिकप्टर कम्पनी सहित १५ संस्था कारबाहीमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 21, 2018 | 02:06:24 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले पर्यटन व्यवसायीको अम्दानीको मुख्य स्रोत ‘फेक रेस्क्यु’ भएको खुल्न आएको छ । नेपालको पदयात्रामा रमाउन आएका विदेशी पर्यटकहरुलाई विरामी बनाएर नक्कली उद्धारको नाममा पर्यटन व्यवसायीले यस्तो गरिरहेका छन् । उनीहरुले अस्पतालबाट विरामीको नक्कली कागजात बनाई बिमा कम्पनीसँग बिमा वापतको रकम दाबी गर्ने गरेको खुल्न आएको छ । 

यस विषय बाहिरिनु अगावै केही बिमा कम्पनीले फेक रेस्क्युको शंका गर्दै बिमा वापतको प्रिमियम नै बढाएका छन् । कतिपयले नेपाल आउने पर्यटकको बिमा नै गर्न समेत छोडिसकेका छन् । उनीहरुले प्रतिवन्धित देशमा जाने नागरिकको जत्तिकै प्रिमियम लिने पनि भनिसकेका छन् । 

यस विषयमा प्रमाण सहित उजुरी परेपछि सरकारले गत जेठ २१ गते छानबिन गर्न भन्दै एउटा समिति बनाएको थियो । पर्यटन मन्त्रालयले सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमिरे, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेल, नेपाल प्रहरीका डीआईजी मनोज न्यौपाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुभाष झा, मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकाल सदस्यसचिव रहेको छानबिन समितिले कारबाहीको लागी सिफरिस सहितको प्रतिवेदन बुझाएको हो । कार्यदलले अब रेस्क्युको जिम्मा नेपाल प्रहरीलाई दिन पनि सुझाव दिएको छ ।

‘फेक रेस्क्यु’ गराएर पुनर्बिमा कम्पनीसँग दावी गरेर बिमा रकम असुल गर्ने गिरोहलाई कारबाही गर्न सिफरिस गर्दै समितिले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई ७ सय पृष्ठ लामो प्रतिवेदन गत साउन १४ गते नै बुझाएको थियो ।  

पदयात्रामा जाने पर्यटकलाई नक्कली बिरामी बनाएर उद्दार गर्ने १५ संस्थालाई कारबाही हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलगायत तत् तत् ५ निकायमा कारबाहीका लागि पत्र पठाईसकेको छ । कारबाहीको लागि सिफारिस गरिएका कम्पनीमा ८ वटा ट्रेकिङ तथा रेस्क्यु कम्पनी, ४ वटा अस्पताल, ३ वटा हेलिकप्टर कम्पनी छन् । 

कारबाहीको सूचीमा मनाङ एयर, एयर डाइनेस्टी र हेली एभरेष्ट रहेका छन् । यस्तै, ट्राभल तथा रेस्क्यु संस्थामा हिमालय सोसल जर्नी, माउन्टेन रेस्क्यू, कैलाश चार्टर्ड, इजी हेली, इगल हेली, फ्लाइट कनेक्सन, अल्पाइन रेस्क्यू र माउन्टेन हेली छन् । यस्तै, अस्पतालमा बयोधा, स्वाकन, न्यू इरा र सिविक अस्पताल रहेका छन् । 

कम्पनीमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार अनुसन्धान गरी कारबाही अघि बढाउन राजस्व अनुसन्धान विभागमा समेत सिफारिस गरिएको छ । 

कार्यदलले १० हेलिकप्टर कम्पनी, ६ अस्पताल, ३६ ट्रेकिङ र रेस्क्यू कम्पनीको विवरण अध्ययन गरी फेक रेस्क्युको विषयमा छानबिन गरि कारबाहीको लागी सिफारिस गरेको हो । 

पर्यटन मन्त्रालयले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग, स्वास्थ्य मन्त्रालय, महानगरीय प्रहरी आयुक्तको कार्यालयमा कारबाहीको लागी पत्राचार गरेको हो । 

कम्पनीहरूले बिमा कम्पनीहरूसँग ५० हजार डलरसम्म असुल गरेको तथ्य सार्वजनिक भएको थियो ।  

नेपालमा आउने पर्यटक मध्ये २ लाखको हाराहारीमा पर्यटकहरु पदयात्राको लागी आउने गरेका छन् । त्यसमध्ये ५० हजार भन्दा बढी पर्यटकहरू उच्च भागमा पदयात्राका लागि जाने गरेका छन् । नेपालमा झन्डै २ हजार ट्रेकिङ कम्पनीहरू सञ्चालनमा छन् । हाल नेपालमा गाईड विना पनि पदयात्रामा जानसक्ने कानुन भएकाले ७० प्रतिशत पर्यटकहरु गाईड विना नै जाने गरेका छन् । यसमा व्यवसायीले भने ३ हजार मिटर उचाईभन्दा माथि पदयात्रामा जाने पर्यटकले अनिवार्य गाईड लिएर जानुपर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

यस अघि :

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved