‘पर्यटन उद्योगको विकासका लागी ४ कुराहरु अपरीहार्य छन्’ टान अध्यक्ष दाहालको अन्तवार्ता

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 03, 2018 | 03:42:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागी मात्रै नभई संसारभरीकै लागि पर्यटन उद्योग सबैभन्दा ठूलो ब्यबसायका रुपमा छ । नेपालले पनि पर्यटन उद्योगको माध्यमबाट आर्थिक विकासमा असाधारण फड्को मार्ने लक्ष्य लिएको छ । त्यही उदेश्य प्राप्तीको लागी सन् २०२० मा ‘भिजिट नेपाल २०२०’ को आयोजना पनि गर्दैछ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । अहिले त्यसैलाई टार्गेट बनाएर विभिन्न पर्यटन सम्बन्धि कार्यकलाप पनि भईरहेका छन् । 

पवर्तारोहण, पदयात्रा, र्याफ्टिङ, जंगल सफारी, बन्जी जम लगायतका साहसीक गतिविधि तथा प्याराग्लाइडिङ, अल्ट्रालाइट जस्ता क्रियाकलापको लागी नेपाल उत्कृष्ट गन्तव्य हो । यसै सरोफेरोमा रहेर हालको नेपालको पर्यटनको अवस्था र यसले गुल ग्राहस्र्थ उत्पादनमा पुर्याएको योगदानको विषयमा ट्रेकिङ एजेन्स एशोसियशन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालसँग विजपाटीका निरोजकुमार थापाले गरेको कुराकानीको सम्पादित अंश :

नेपालको समग्र पर्यटनको अवस्था कस्तो छ ?

ठ्याक्कै भन्दा नेपालको हालको पर्यटन क्षेत्रको अवस्था सुधारोन्मुख छ । भूकम्पपछि सुस्ताएको पर्यटन उद्योग अहिले पूर्ववत् अवस्थामा फर्किदैछ । अहिले मनसुनको सिजन हो, तर मनसुन भएपनि नेपाल आउने पर्यटकको संख्या बढेको छ । पर्यटन वोर्डले मनसुनको बेलामा पनि नेपाल आउने पर्यटकको संख्या बढेको भनेर तथ्यांक निकालेको छ । गतवर्षभन्दा यो सिजनमा पर्यटकको संख्या ७१ प्रतिशतले बढेको छ । यसले पनि नेपालको पर्यटन उद्योगको अवस्था सुधारोन्मुख छ भन्ने देखाउँछ । 

पर्यटन उद्योगले नेपालको कुल ग्राहस्र्थ उत्पादनमा दिनुपर्ने जति योगदान दिएको छ कि छैन ? 

हामीले पर्यटकको संख्या मात्रै हेरेका छौँ। आजपनि धेरै पर्यटक भित्रिए भनेर खुशी हुने बेला भएको छैन । जब पर्यटन उद्योगले हामीले भनेजस्तो कुल ग्राहस्थ उत्पादनमा दिनुपर्ने जति योगदान दिन्छ त्यतिबेला मात्रै हामीले खुशी मनाउने हो । आजभन्दा अगाडीसम्म पर्यटन क्षेत्रले जीडीपीमा दिनुपर्ने जति योगदान दिन नसकेकै हो । यसको मुख्य कारण भनेको हामीले गुणस्तरीय पर्यटक भित्र्याउन सकेनौ । अब त्यतातिर पनि ध्यान दिइएको छ । 

कस्ता पर्यटकलाई गुणस्तरीय पर्यटक मान्न सकिन्छ ?

हुन त सबै खाले पर्यटकहरु नेपाल आउँछन् । सबैले आफ्नो अनुकल खर्च गर्छन नै । तर पनि हामीले साहसिक खेल जस्तैः बन्जी जम्प, प्याराग्लाईडिङ, र्याफ्टिङ लगायतमा रमाउन नेपाल आउने पर्यटकले धेरै खर्च गर्छन् । बुझ्ने भाषामा भन्दा लामो समय बस्ने गरी र धेरै खर्च गर्ने गरी आउने पर्यटकलाई गुणस्तरीय पर्यटक मानिन्छ । यसलाई नकारात्मक ढङ्गले बुझ्नु पनि हुँदैन । 

३ हजार मिटरभन्दा माथिको पदयात्रामा जाँदा अनिवार्य गाईड लिएर जानुपर्ने व्यवस्था गर्न हामीले सम्बन्धित निकायलाई भनेका छौँ, अब चाँडै सुधार हुन्छ भन्ने अपेक्षा छ ।

तपाई ट्रेकिङ एजेन्स एशोसियशनको अध्यक्ष पनि हुनुहुन्छ, नेपालमा ट्रेकिङको अवस्था चाँही कस्तो छ ?

समग्र पर्यटनको क्षेत्र भूकम्पपछि केही सुध्रिएपनि ट्रेकिङको अवस्था भने सुध्रिएको छैन । अहिले मनसुनको बेला छ, मनसुनमा ट्रेकिङ हुँदैन । बाटो विग्रिएको हुन्छ, पदमार्गहरु पुरिएका हुन्छन् । त्यसमाथि ट्रेकिङमा आउने पर्यटकहरु विना गाईड पदयात्रामा जाने क्रम बढेको छ । यसको लागी नीतीगत सुधार हुनुपर्छ । अहिले एक्लै जान पाउने व्यवस्था छ, पर्यटकहरु एक्लै गईरहेका छन् । ३ हजार मिटरभन्दा माथिको पदयात्रामा जाँदा अनिवार्य गाईड लिएर जानुपर्ने व्यवस्था गर्न हामीले सम्बन्धित निकायलाई भनेका छौँ, अब चाँडै सुधार हुन्छ भन्ने अपेक्षा छ । 

यहाँको भनाईको तात्पर्य पर्यटकलाई एक्लै जान दिँदा एजेन्सीहरु काम विहिन भए, कमाउन पाएनन् भन्ने हो ?

विलकुलै होईन, उनीहरु जाँदा हामी मार्फत नै जान्छन । तर हाम्रा ट्रेकिङ गाईडहरु बेरोजगार भए, खर्च गरेर पढेका हुन्छन्, काम नभएपछि उनीहरु त भोकै हुने भए नि । र यसले फेक रेस्क्यु पनि बढेको छ । रेस्क्यु एजेन्टले सिधै पर्यटकलाई लोभ्याउने हुँदा नेपालका पर्यटकीय गन्तव्य असुरक्षित भन्ने सन्देश जान्छ । त्यसो हुन नपाओस् भन्नका लागी ३ हजार मिटरभन्दा माथिको यात्रामा जाने पर्यटकले अनिवार्य गाइड लिएर जाने व्यवस्था गर्न भनेका हौँ ।

नेपालका मुख्य ट्रेकिङका गन्तव्यहरु कुन कुन हुन् ? 

खासगरी एभरेष्ट, अन्नपूर्ण, लाङटाङ प्रमुख गन्तव्यमा पर्छन । अहिले मुस्ताङ, हुम्ला लगायतका स्थानमा पनि आन्तरिक तथा बाह्य पदयात्रीहरु बढेका छन् । नयाँ गन्तव्य पहिचान गर्न बेला पनि भएको छ । यसको लागी पनि हामीले सरकारलाई झकझक्याएका छौँ । 

सबै काममा सरकारको मुख ताके जस्तो देखियो, बाटो खाज्ने काम त यहाँहरुले पनि त गर्दा हुन्छ नि ? 

हामीले सहयोग गरेका छौ । सरकारलाई नीती बनाउन आग्रह गरेका छौँ । सो सम्बन्धि नीति नै नभई काम गर्न त सकिँदैन । फेरि पर्यटन क्षेत्र भनेको प्रचार प्रसारले चल्ने व्यवसाय हो । हाल आएर मात्रै सरकारी तवरबाट केही हुन्छ कि भन्ने आशा पलाएको छ, नत्र हिजोसम्म त नीजी क्षेत्रले नै धानेको थियो, त्यो यथार्थ त विर्सनु भएन नि । 

अहिले सरकारी स्तरबाट पर्यटन क्षेत्रका लागी के कस्ता प्रयास भएको पाउनु भएको छ ?

वर्तमान सरकारले पर्यटनलाई आर्थिक विकासको मेरुदण्ड मानेको छ र सोही अनुसार प्रशस्त प्रयासहरु गरेको पनि छ । कति दिनसम्मको लागी हो, त्यो चाँही उनीहरु नै जानुन् । तर अहिले सतहमा देखिएको विषयमा भनेको चाँही सरकारी तवरबाट पर्यटन उद्योगमैत्री कामको थालनी भएको छ । उदाहरणको रुपमा विमानस्थलको सुधारलाई लिन सकिन्छ । केही अंकुश लगाइएका नीती थिए, अब ती पनि परिमार्जन हुन्छन् भन्ने आशा छ। 

र अर्को कुरा सन् २०२० लाई पर्यटक वर्षका रुपमा मनाउने सरकारी घोषणा सह्रानीय छ । त्यसलाई टानले स्वागत पनि गरिसकेको छ । र त्यो कार्यक्रमलाई सफल बनाउन हामी लागि परेका छौँ । 

धार्मीक पर्यटन विकास गर्ने सरकारी योजना सकारात्मक नै भएपनि धार्मिक पर्यटकले साहसिक पर्यटकबाट जस्तो लाभ मिल्दैन

तर सरकारले धार्मिक पर्यटनलाई बढी ध्यान दिएको जस्तो देखिन्छ, नीजी क्षेत्र यसमा मात्रै सिमित हुन सक्छ ? 

निश्चय पनि सरकारको पछिल्लो गतिविधिले त्यस्तै देखाएको छ । अघि पनि कुरा आईसकेको छ, संख्या हेर्ने हो भने त्यो विकल्प ठिकै होला । तर क्वालिटीका पर्यटक त साहसिक खेल खेल्ने, उच्च भूभागको पदयात्रामा जाने, हिमाल चढ्ने हुन नि । ती बाट मात्रै हो नेपालले आम्दानी गर्ने । 

धार्मिक पर्यटक मन्दिर दर्शनको लागी मात्रै भनेर आउँछन् । तर अन्य पर्यटकहरु जसलाई गुणस्तरीय मानिन्छ, उनीहरु हिमाल चढ्न आउँछन, पदयात्राको लागी आउँछन । र सोही अनुसारको खर्च गर्छन । 

यसो भनेर सरकारको धार्मिक पर्यटन प्रतिको चाखलाई गलत भन्न खोजेको होईन, धार्मिक पर्यटकको पनि योगदान छ । तर तुलनात्मक रुपमा धार्मिक पर्यटनभन्दा साहसिक गतिविधिको लागी आउने पर्यटकबाट आम्दानी बढी लिन सकिन्छ । एक हिसाबमा धार्मीक पर्यटन विकास गर्ने सरकारी योजना सकारात्मक नै भएपनि धार्मिक पर्यटकले साहसिक पर्यटकबाट जस्तो लाभ मिल्दैन ।

हाम्रा भौतिक पूर्वाधार पर्यटन मैत्री छन् कि छैनन् ?

हिजो बनेका पूर्वाधारहरु पर्यटकका लागी त्यति अनुकुल थिएनन् । अहिले भौतिक संरचना पनि पर्यटन मैत्री बन्ने क्रम बढेको छ । यसमा नीजी क्षेत्रले प्रशस्त लगानी गरेको छ । विभिन्न स्थानमा पर्यटकीय गन्तव्यको खोजी गरी तीनको व्यवस्थापनमा नीजी क्षेत्रले उल्लेख्य लगानी गरेको छ । 

नीजी क्षेत्र विशेष गरी टानले पर्यटन उद्योगको विकासका लागी के कस्ता काम गर्दै आएको छ ?

नेपालमा पर्यटकको संख्या मात्रै बढाउने होईन, गुणस्तरीय पर्यटक भित्र्याउनु पर्छ भन्नेमा टान प्रतिवद्ध छ । विशेष गरी अहिलेको परिस्थतीमा नेपालको पर्यटन उद्योगको विकास लागी ४ वटा कुराहरु अपरीहार्य छन् । ती के के हुन त भन्दा पहिलो नम्रबमा भूकम्प लगायत प्राकृतिक विपत्तिबाट क्षतिग्रस्त संरचनाको पुनः निर्माण यथासिघ्र हुनुपर्छ । दोस्रो कुरा नयाँ गन्तव्यको पहिचान र ती स्थानमा पूर्वाधारको पर्याप्त विकास गरिनुपर्छ । 

तेस्रो कुरो नेपाल संघिय संरचनामा गईसकेको छ, पर्यटन सम्बन्धि नीती पनि संघियताको मर्म अनुसार बन्नुपर्छ । र अर्को कुरो नीजी क्षेत्रले मात्रै नभई सरकारी स्तरबाटै अन्तराष्ट्रिय फोरममा नेपालको पर्यटनको विषयमा प्रचार गरिनुपर्छ । सम्बन्धित निकायलाई यसबारेमा हामीले जानकारी पनि गराएका छौँ र हाम्रो क्षमताले भ्याएसम्मका काम पनि गरेका छौँ । 

‘भिजिट नेपाल २०२०’ को तयारी : अन्तराष्ट्रिय मिडिया र टुर अप्रेटरलाई नेपाल भ्रमण गराईदै

‘भिजिट नेपाल २०२०’मा नीजी क्षेत्रको सक्रियता, जनवरीमा ‘बुद्धिष्ट टुरिजम एक्स्पो’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved