पर्यटकको रेस्क्युमा नयाँ नियम, अब यसरी हुन्छ उद्धार

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 07, 2018 | 01:36:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पर्यटन क्षेत्रलाई नै असुरक्षित देखाउने गरी फेक रेस्क्युको धन्दा चलेको थाहा पाएपछि सरकारले एक्सन लिएको छ । अब रेस्क्यु कम्पनीले पर्यटकको उद्धार गर्न पनि नपाउने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ‘पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमन सम्बन्धी कार्यविधि’ ल्यएपछि अब पर्यटकको उद्धार गर्ने दायित्व पर्यटक प्रहरी र सम्बन्धित ट्रेकिङ तथा ट्राभल कम्पनीको हुने भएको छ । 

अब पदयात्रा तथा पर्वतारोहणमा गएका पर्यटकहरु अफ्ट्यारोमा परेमा वा हराएमा पर्यटन विभागमा दर्ता भएका ट्रेकिङ्ग कम्पनी, एक्सिपिडिसन, र्याफ्टीङ्ग लगायतका साहसिक क्रियाकलाप गराउने एजेन्सीले खोजी गर्नुपर्नेछ । यसमा रेस्क्यु कम्पनीको संलग्नता शुन्य रहने छ । 

अब पर्यटकको उद्धारमा खटिएका एजेन्सीहरुले उद्धारमा प्रयोग गरेको साधन, उद्धार गर्दा भएको खर्च, उपचार गराउन प्रयोग गरिएको अस्पतालबारे पर्यटन विभागमा जानकारी गराउनु पर्नेछ । उद्धारमा प्रयोग भएका हेलिकप्टर कम्पनीले १५/१५ दिनमा उद्धार उडानको विवरण सरकारलाई बुझाउनु पर्नेछ । अस्पतालले पनि पर्यटकको उपचार गरी डिस्चार्ज भएको १५ दिनमा सबै विवरण सरकारलाई बुझाउनु पर्नेछ । सरकारले फेक रेस्क्युको समस्या समाधान गर्न यो नियम ल्याएको हो । पर्यटन विभागका महानिर्देशकको संयोजकत्वमा निर्देशक समिति पनि रहेको छ ।  

के भन्छन् व्यवसायी ?

पर्यटकलाई नक्कली विरामी बनाएर वा लागत भन्दा धेरै खर्च देखाएर विमा कम्पनीमार्फत पैसा असुल्ने धन्दामा अब पूर्णविराम लागेको छ ।सरकारले नयाँ कार्यविधि ल्याएर रेस्क्यु कम्पनीलाई पर्यटन सम्बन्धि कुनैपनि काममा सामेल नगराउने भएपछि रेस्क्यु कम्पनी नै खोलेर कमाउ धन्दामा लागेकाहरुको पसिना छुट्न थालेको छ । 

यस विषयमा अल्पाइन रेस्क्युका अध्यक्ष प्रकाशचन्द्र लोहनी केही बदमास कम्पनीले गरेको गलत कर्मको परिणाम सबै कम्पनीले भोग्नुपरेको बताउँछन् । तर उनका अनुसार अल्पाईनले पहिलेकै अवस्थामा काम गरिरहेको छ । “हाम्रा कानुनी प्रतिनिधिले काम गर्न अफ्ट्यारो हुँदैन भन्नु भएको छ, उहाँले पर्यटन बोर्ड र विभागसँग कुरा गरेरै भन्नु भएको हो” उनले भने, “कार्यविधिले लाईसेन्स लिएर काम गरेकालाई कुनै रोकावट गरेको छैन भन्ने हाम्रो बुझाई हो ।” 

उनका अनुसार केही बदमास कम्पनीले गरेको गलत कर्मको परिणाम सबै कम्पनीले भोग्नुपरेको छ । 

हेलि एभरेष्टका एक अधिकारीले सरकारले उद्धार खर्च तोक्ने जस्तो मनशाय देखाएको भन्दै घुमाउरो पारामा असन्तुष्टि व्यक्त गरे । हेलि एभरेष्ट, रेस्क्यु कम्पनी नभएपनि रेस्क्यु कम्पनीले गरेको आग्रह अनुसार उच्च हिमाली भाग र पर्यटकीय गन्तव्यबाट पर्यटकको उद्धार गरिरहेको छ । हेलिकप्टर कम्पनीलाई उद्धार सकेको १५ दिनमा विवरण बुझाउन कार्यविधिले भनेको छ । हेलि एभरेष्टका अधिकारीका अनुसार १५ दिन लामो समय हो । उनले उद्धार सक्नासाथ विवरण बुझाउन आफूहरु तयार रहेको बताए । 

अर्को प्रसंगमा उनले हिमाली क्षेत्रको उडान चुनौतीपूर्ण र खतरा मोलेर जानुपर्ने भएकाले स्वभाविक रुपमा महङ्गो हुने तर्क गरे । उद्धारको खर्च उद्धारकै प्रकृतिमा भर पर्ने उनको भनाई छ । सामान्यतय अहिले २ हजार प्रतिघण्टामा उद्धार भईरहेको छ । ५ हजारभन्दा माथिको उचाईमा पुगेर उद्धार गर्दा यही मूल्यमा गर्न नसकिने उनले बताए । 

रेस्क्यु एशोसियसन कार्यविधिमा विश्वस्त 

हिमालयन रेस्क्यु एशोसियसनका अध्यक्ष नरेन्द्र देव भट्ट भने नयाँ कार्यविधिले पहिलेको भद्रगोल कार्यशैलीलाई व्यवस्थित गर्नेमा ढुक्क छन् । उनले अहिले संचालनमा रहेका रेस्क्यु कम्पनीलाई नियमन गर्दै नयाँ खोल्नमा बन्देज लगाउनु पर्ने सुझाव पनि दिए । जहिले मन लाग्यो त्यहिले, जहाँ मन लाग्यो त्यही जाने र जति मन लाग्यो त्यति भाडा दाबी गर्ने पद्धति अब अन्त्य हुने उनको विश्वास छ । 

कार्यविधिमा उल्लेख भए अनुसारको नियम पालना गरेका कम्पनी संचालन हुन पाउँछन् भन्ने उनको बुझाई छ । सरकारी मातहतको समितिलाई जानकारी गराएर सञ्चालन हुन पाउने तर पहिले जस्तो मनलाग्दी भने अब नहुने उनको भनाई छ । 

यसो भन्छ ट्रेकिङ एशोसियसन 

ट्रेकिङ एजेन्स एशोसियसनका अध्यक्ष नवराज दाहाल पर्यटन क्षेत्रमा मौलाउँदै गएको फेक रेस्क्युको धन्दा अन्त्य गर्न नयाँ कार्यविधि ल्याईएको बताउँछन् । उनका अनुसार सबै प्रक्रिया पहिलेको जस्तो भए पनि पर्यटकलाई नक्कली विरामी खडा गरेर विमा कम्पनीमार्फत पैसा असुल्ने परिपाटी अब समाप्त भएको छ र रेस्क्यु कम्पनीहरु निष्क्रिय भएका छन् । 

पहिले पर्यटक विरामी भएपछि ट्रेकिङ वा ट्राभल कम्पनीले उसले विमा गराएको विमा कम्पनीमा विरामीबारे जानकारी दिने र उद्धार गरिदै आईएको थियो । त्यसमा हेलिकप्टर कम्पनी, रेस्क्यु कम्पनी सहभागी हुन्थे । उनका अनसार रेस्क्यु कम्पनी एजेन्टका रुपमा थियो । 

तर अब पर्यटक विरामी भएपछि सम्बन्धित ट्राभल वा टुर कम्पनीले आफ्नो खर्चमा उसको उद्धार र उपचार गर्नेछ । त्यसपछि सरकारी मातहतको निर्देशक समितिको अनुगमन र सिफरिसमा इन्स्योरेन्सले ट्राभल, टुर वा ट्रेकिङ कम्पनीलाई भूक्तानी गर्नेछ । यसमा रेस्क्यु कम्पनीको सामेल शून्य मात्रामा रहनेछ । 

यसअघि सरकारले फेक रेस्क्युको उजुरी परेपछि छानविन समिति नै बनाएर छानविन गरेको थियो । त्यसबाट दोषी पाईएका ३ हेलिकप्टर कम्पनी सहित १५ संस्थालाई कारबाही गर्न तत् तत् निकायमा सिफारिस पनि गरिसकेको छ । 

यस अघि :

पर्यटनमा मौलाउँदै कमाउ धन्दा : फेक रेस्क्युले नेपाली पहिचान धरापमा


पर्यटनमा ‘फेक रेस्क्यु’ : ३ हेलिकप्टर कम्पनी सहित १५ संस्था कारबाहीमा

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved