प्रहरी चौकी नहुँदा स्थापना भएनन् बैंक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2018 | 12:12:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सुरक्षा व्यवस्था हुन नसक्दा बैतडीका दुई स्थानीय तहमा अझैसम्म बैंक स्थापना हुनसकेका छैनन् । जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिकामा सुरक्षा अभावका कारण बैंक स्थापना हुन नसकेको हो । गाउँपालिका केन्द्र रहेको सुल्लेखानमा प्रहरी चौकी नहुँदा यसअघि नै नेपाल एसबिआइ बैंकको स्थापना हुने भनिए पनि सुरक्षाका कारण हुन नसकेको उक्त गाउँपालिकाका उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिईन  । 

गाउँपालिकामा सुरक्षा आवश्यक परेमा मेलौलीबाट ल्याउनुपरेको छ, उनले भनिन, “बैंकले सुरक्षा व्यवस्था भएको दिनदेखि नै शाखा आउने भनेको छ” अबको एक महिनाभित्रै शाखा स्थापना गर्ने गरी सुरक्षा व्यवस्थाको प्रबन्ध भइरहेको छ । 

प्रहरी चौकी स्थापनाका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अनुरोध गरिएको उनले बताइन । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले शिवनाथमा प्रहरी चौकी स्थापना गर्ने विषय जिल्ला सुरक्षा समितिबाट पारित भइसकेको बताए   । उक्त गाउँपालिकाको शर्माली बजारमा प्रहरी चौकी भए पनि त्यहाँबाट गाउँपालिकाको केन्द्र सुल्लेखान पुग्न चार घण्टा लाग्छ । सुल्लेखानमा प्रहरी चौकी स्थापना गर्न आवश्यक छ, उनले भने, “प्रहरी चौकी स्थापनाका लागी माथिको आदेश चाहिन्छ , यसका लागि हामीले सिफारिस गरेर ७ नं प्रदेश प्रहरी कार्यालयमा पठाएका छौँ ।” उक्त गाउँपालिकामा १५ दिनभित्रै प्रहरी चौकीको स्थापना हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस्तै जिल्लाको दुर्गम सिगासमा पनि बैंकका शाखा स्थापना हुनसकेको छैनन् । विद्युत्, सडक, इन्टरनेट नहुँदा बैंक स्थापना हुन नसकेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए । गत महिना कृषि विकास बैंक स्थापनाका लागि तयारी भए पनि विभिन्न समस्याका कारण स्थापना हुन नसकेको गुनासो गर्दै उनले भने, “विद्युत्, इन्टरनेटको प्रबन्ध भइरहेकाले अबका केही दिनमै बैंकले पनि सेवा दिन्छ ।” 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved