बनारससम्म आएको पानीजहाज कहिले आईपुग्ला नेपाल ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 14, 2018 | 05:29:01 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार गङ्गा नदीमा बनारसलाई कोलकातासँग जोड्ने जलमार्गको उद्घाटन गरेपछि त्यसको सकारात्मक प्रभाव नेपालमा जलमार्ग विकास गर्ने योजनामा पर्ने सरकारी अधिकारीहरूले बताएका छन्। जलमार्गको सम्भावना देखिएका नेपालका नारायणी र कोशी नदीहरू गङ्गामा मिसिएर भारतको कोलकाता, बाङ्ग्लादेश र अन्य मुलुकहरूसँग जोडिने सम्भावनाकाबीच भारतको उक्त कदम महत्त्वपूर्ण रहेको भन्ने उनीहरूको मत पाइन्छ।

विज्ञहरूले भने भारतसमक्ष नेपालले आफ्ना दीर्घकालीन योजना प्रस्तुत नगरेसम्म जलमार्गबाट नेपालले फाइदा लिन नसक्ने धारणा व्यक्त गरेका छन्। सोमवार गङ्गा नदीमा एउटा ठूलो पानीजहाजले कोलकातादेखि बनारससम्मको यात्रा पूरा गरेको थियो। उक्त जलमार्ग निकट भविष्यमै नेपाली सीमानजिक विस्तार हुने बताइएका कारण नेपालले अब आफ्नो तर्फको कामलाई अगाडि बढाउने उपयुक्त समय आएको एक सरकारी अधिकारी बताउँछन्।

गङ्गामा मिसिने नेपालका मुख्य तीन नदीहरू कर्णाली, नारायणी र कोशीमध्ये भारततर्फ भएका पूर्वाधार विकास र बङ्गालको खाडीसँग रहेको दूरीका हिसाबले कोशी र नारायणी उपयुक्त हुने देखिएको अधिकारीहरू बताउँछन्।

जलमार्गसम्बन्धी भारतसँग भएका पछिल्ला वार्ताहरूमा सहभागी जल तथा ऊर्जा आयोगको सचिवालयका एकजना सहसचिव माधव बेल्वासेले भारतको यो कदमले नेपालको जलमार्ग विकास र विस्तारका लागि आधार खडा गरेको बताउँछन्।

"साहिबगन्जको टर्मिनल आगामी जेठसम्ममा तयार हुँदैछ जहाँबाट विराटनगरको दूरी १५० किलोमिटर मात्र छ जसले गर्दा हल्दिया र कोलकाताका कन्टेनरहरू सिधै साहिबगन्जसम्म ल्याउन सक्छौँ। उता वीरगन्जबाट १८० किलोमिटर दूरीमा रहेको कालुघाट टर्मिनलसमेत एक-डेढ वर्षमा तयार गर्ने भारतको योजना छ।"यद्यपि साहिबगन्ज र कालुघाटकै टर्मिनल उपभोगका लागि भारतसँगको वाणिज्य तथा पारवहन सन्धिमा जलमार्ग उपयोगको व्यवस्था समेट्ने काम अझै हुनसकेको छैन।


हालैका वर्षमा भारतले कोशी नदीमा गरेको एक अध्ययनले हालकै प्राकृतिक अवस्थामा जलमार्ग सम्भव नहुने हुँदा नदीको गहिराइ बढाउने गरी कतिपय ठाउँमा बालुवा झिक्नेजस्ता काम आवश्यक रहेको देखाएको थियो। तर संयुक्त रूपमा हुने भनिएका विस्तृत अध्ययन अगाडि नबढेको नेपाली अधिकारीहरू बताउँछन्। नेपाली जलस्रोतविद्हरूले भने सुख्खायाममा नदीमा पानीको बहाव पानीजहाज चलाउन नपुग्ने र नेपालको लागि आर्थिक रूपमा फाइदा नहुने ठान्छन्।

गङ्गाको नदी बग्ने भारतका विभिन्न राज्यहरूसमेत लाभान्वित हुने हुँदा नेपालतर्फको खर्च बाडफाँट हुनेगरी दीर्घकालीन योजना आवश्यक रहेको एकजना जलस्रोतविद् दीपक ज्ञवाली बताउँछन्। "सुख्खा समयमा नदीहरूमा पानी घट्छ। वर्षामा भएको प्रशस्त पानीलाई सञ्चित गरेर गङ्गामा वर्षभरि पानीजहाज चलाउन सकिन्छ जसको लागि नेपाल नै उपयुक्त स्थल हो। भारतका राज्यहरूले लाभ पाउने हकमा उनीहरूले समेत खर्च बेहोर्नुपर्छ।"

जलमार्ग विकाससम्बन्धी भारतको योजनामा रहेका त्यहाँका १११ वटा नदीमध्ये उसले नै नारायणी नदीका हकमा वाल्मीकिनगरसम्म र कोशीमा हनुमाननगरसम्म पूर्वाधार बनाउने बताएको छ। कोशीमा माथिल्ला भेगमा रहेका ठूला ब्यारेजका कारण पानीजहाजहरूमाथि लैजान समस्या पर्ने देखिएको र नारायणीमा सहायक जलमार्गहरूको विकल्प रहेतापनि त्यसको समेत स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको सरकारी अधिकारीहरू बताउँछन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved