५ क्षेत्रमा पर्याप्त लगानी भए नेपालको आर्थिक वृद्धि सहज

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2018 | 07:47:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका निजी क्षेत्रले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिका क्षेत्रमा पर्याप्त लगानी गरे उत्पादकत्व वृद्धिका साथै आर्थिक वृद्धि सहज हुने तथ्यांकले देखाएको छ। 

विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको नवीनतम अध्ययनले निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाएर प्राथमिकताका ती पाँच क्षेत्रमा पर्याप्त लगानी भएमा ६ प्रतिशतको आर्थिक वृद्धि असम्भव नहुने देखाएको हो। 

‘नेपालमा बजार सृजना’ नामक प्रतिवेदनले संस्थागत सुधार एवं सुदृढीकरण, भौतिक पूर्वाधार निर्माण, सम्पर्क सञ्जाल विस्तार तथा स्वदेशी–विदेशी लगानीका बाधा हटाएर निजी क्षेत्रलाई विश्वासमा लिई अघि बढेमा आर्थिक विकासको बाटोमा अग्रसर हुन सहज हुने पनि निष्कर्ष निकालेको छ । 

प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री ड़ा युवराज खतिवडाले सार्वजनिक–निजी साझेदारीबाट नै आर्थिक वृद्धिका लक्ष्य हासिल गर्न सकिने बताए। 

उनले धन कमाउने क्षणिक फाइदाभन्दा दीर्घकालीन हित र लाभका क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आह्वान गर्दै सार्वजनिक–निजी साझेदारी र दुवै पक्षलाई लाभ हुने गरी आर्थिक वृद्धिका गतिविधि गर्न सकिने बताए। कृषि क्षेत्र मात्र नभई साना तथा मझौला उद्योगबाट पनि आर्थिक वृद्धिमा टेवा पुग्ने यथार्थ औँल्याउँदै उनले परम्परागत शैली परित्याग गरी सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा आएका नवीनतम पद्धतिको प्रयोग गर्दै अघि बढ्नुपर्नेमा उनको जोड थियो । कृषिको आधुनिकीकरणमा प्रविधिको अधिक प्रयोग गर्नुपर्ने खाँचो उनले औंल्याए। 

आर्थिक विकासको बाटोमा वर्तमान सरकार लागेको र निजी क्षेत्रलाई सहयोग गर्दै अघि बढ्ने नीति दोहोर्याउदै अर्थमन्त्रीले वित्तीय सुधार, कर प्रशासनलगायत क्षेत्रमा पनि क्रमशः सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे। 

दक्षिण एशियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग साफेरले नेपालको विकासका निम्ति भारी लगानी आवश्यक रहेको यथार्थ सुनाउँदै भौतिक पूर्वाधार निर्माणबाटै समृद्धितर्फको यात्रा सहज एवं सम्भव हुने बताए। 

भौतिक पूर्वाधार बनाउन सार्वजनिक लगानी पर्याप्त नभएकाले निजी क्षेत्रलाई घच्घच्याउनुपरेको उल्लेख गर्दै उनले नेपाल सरकारले अवलम्बन गरेका सुधारका नीतिको सराहना गरे। उनले भने, “निजी क्षेत्रसँग सहकार्य र साझेदारी गरेर अघि बढेमा ६–७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिन छैन, विप्रेषण बिना नै त्यति हासिल गर्न सकिन्छ ।” कार्यक्रममा बैंकका देशीय निर्देशक चिम्याओ फ्यान, अन्तर्राष्ट्रिय वित्त निगमका देशीय व्यवस्थापक विन्डी जो वेर्नर, दक्षिण एशियाका लागि क्षेत्रीय अर्थशास्त्री भोल्कर ट्रेचेलले प्रतिवेदनका विशेषताबारे जानकारी दिए। 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved