सुनकोशी मरिन डाइभर्सनको काम चालु आर्थिक वर्षबाटै सुरु हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2018 | 01:46:50 PM मा प्रकाशित

laxmi  sunrise bank

‘सुनकोशी मरिन डाइभर्सन’ परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) चार महीनाभित्र पूरा हुने भएको छ । तराईमा सिँचाइ र खानेपानी उपलब्ध गराउन सरकारले यो आयोजनालाई प्रमुख प्राथमकितामा राखेको छ । विस्तृत परियोजना प्रतिवेदन तयार भएपछि ठेक्का प्रक्रिया अगाडि बढाईने ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जनाएका छन् ।
सो आयोजनाबाट प्रदेश नं २ को एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । सरकारले सो परियोजनामा अत्याधुनिक प्रविधिको प्रयोग गरेर चाँडै सक्ने लक्ष्य लिएको छ । चालू आर्थिक वर्षबाटै निर्माणको काम सुरु गरिने बताईएको छ । मन्त्री पुन र सिन्धुलीका जनप्रतिनिधिले सोमबार आयोजनास्थलको समेत अध्ययन गरेका थिए ।
भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा टनेल बोरिङ मेशिन (टिबिएम)को प्रयोगका कारण सहज भएकाले सो आयोजनामा समेत त्यस्तै प्रविधिको प्रयोग सरकारको तयारी छ । टिबिएमको प्रयोगपछि सुरुङ खन्न थालिएको एक वर्षमै ७५ प्रतिशत बढी निर्माण सम्पन्न भएको छ । कूल १२ दशमलब दुई किलोमिटर लामो सुरुङमध्ये हालसम्म करीब १० किमी सुरुङ निर्माण भइसकेको छ ।
सुनकोशी मरिन डाइभर्सन आयोजना निर्माणको अवधि पाँच वर्ष लाग्ने अनुमान गरिएको छ । सो आयोजनाको अनुमानित कूल लागत रु ८२ अर्ब रहेको छ । त्यसमा विद्युत् र सिँचाइको फरकफरक लागत रहनेछ । विद्युत्गृह, सुरुङ निर्माणलगायतमा ५२ अर्ब ८८ करोड र सिँचाइतर्फ ३२ अर्ब लागत रहने अनुमान गरिएको छ । आयोजनाबाट सिँचाइका साथै ४२ दशमलब ५ मेगावाट बिजुली उत्पादन गर्ने सरकारको लक्ष्य छ ।
सिन्धुलीको खुर्कोट नजिक सुनकोशी नदीमा बाँध बाँधेर सुरुङमार्फत पानी मरिन उपत्यकामा खसालिने छ । आयोजनाको लागि लगानीको स्रोत जुटाउने काम भईरहेको सरकारले जनाएको छ । उक्त परियोजनालाई अघि बढाउन सिन्धुली, रामेछाप र ओखलढुङ्गाका नागरिकसमेत सहयोगी बन्ने सिन्धुलीका जनप्रतिनिधिहरुको विश्वास छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved