चक्रपथमा मोनोरेल निर्माणको प्रक्रिया अघि बढ्यो, चिनियाँ कम्पनीसंग सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 19, 2018 | 02:53:40 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाको चक्रपथमा मोनोरेल सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता भएको छ । काठमाडाँै महानगरपालिकाले चाइना रेलवे २५औंँ ब्युरो ग्रुप कम्पनीसँग डिपिआरका लागि आज राजधानीमा सम्झौता गरेको हो । सम्झौतामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र रेलवे कम्पनीका ओभरसिज विजनेस म्यानेजमेन्ट विभाग प्रमुख झ्यू ग्वाङ्विङ्ले हस्ताक्षर गरेका हुन । 

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सबै राजनीतिक दलको साझा एजेण्डा र सबैको सपना मोनोरेल भएको उल्लेख गर्दै राज्यलाई आर्थिक बोझ नहुने गरी चिनियाँ कम्पनीसँग सम्झौता गरिएको बताए । “सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा काम भएको छ,” शाक्यले भने, “मोनोरेल चल्यो भने काठमाडाँैको प्रदूषण समस्या समाधानमा सहयोगी बन्छ ।” 

नेपालले विसं २०१२ बाटै मोनोरेलको अध्ययन शुरु गरेपनि सफल हुन सकेन । नेपालमा विज्ञ र क्षमताको अभाव तथा खर्चिलो हुँदा काम हुन नसकेको कामपाले जनाइएको छ। तर अब भने सपना साकार हुने भन्दै प्रमुख शाक्यले निर्माण गर्दा कसैको घर भत्काउन समेत नपर्ने उल्लेख गरे । डिपिआरपछि ठेक्का प्रक्रियामा जाने महानगरपालिकाको भनाइ छ । 

चाइना रेल वे २५औँं ब्युरो ग्रुप कम्पनीको ओभरसिज विजनेस म्यानेजमेन्ट विभाग प्रमुख झ्यू ग्वाङ्विङ मोनोरेलको डिपिआर निर्माणका लागि सम्झौता गर्न पाएकोमा खुशी व्यक्त गर्दै समयमै प्रतिवेदन तयार हुने उल्लेख गरे। 

माटो परीक्षणसहित वातावरणीय प्रभाव मूल्याङ्कन(इआइए), मोनोरेलको डिजाइन, प्राविधिक एवं निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यवस्थापनको अनुमान, योजना सञ्चालनको चरण र लाभ विश्लेषण सहितको डिपिआर निर्माण हुने महानगरपालिकाले जनाएको छ । 

यसअघि मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन भएको थियो । आर्थिक प्राविधिक तथा शहरी यातायात व्यवस्थापनको दिगोपनाको विषयमा भएको सम्भाव्यता अध्ययन प्रतिवेदन भदौ २८ गते महानगरपालई बुझाइएको थियो । 

सम्भाव्यता अध्ययनका लागि कम्पनीले २०७५ वैशाख २० मा आशयपत्र बुझाएकामा जेठ ११ गते सम्झौता भएको थियो । उक्त कम्पनीले छ महीनामा सम्भाव्यता अध्ययन सक्ने सम्झौता गरेपनि तीन महीनामै काम सम्पन्न गरेर प्रतिवेदन बुझाएको थियो । त्यसलाई उदाहरण दिँदै महानगरपालिकाका प्रमुख शाक्यले अहिले डिपिआर निर्माण सम्झौता एक वर्षको भए पनि छ महीनामै प्रतिवेदन आउने विश्वास व्यक्त गरे  । 

सम्भाव्यता अध्ययनले गौशालादेखि चावहिलसम्मको सडक विस्तारमा देखिएको समस्या समाधानमा सरकारले सहयोग गरे विस्तारित चक्रपथको पैदलमार्गभित्रको दोस्रो लाइनमा मोनोरेल चलाउन सक्ने प्रतिवेदनमा उल्लेख छ । यसैको आधारमा डिपिआर तयार पार्न लागिएको महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मोनोरेल निर्वाचनको समयमा राजनीतिक एजेण्डा भएको र आवश्यकता पनि रहेकाले समयमै काम हुने आशा व्यक्त गरे । 

सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार उपत्यकाको २७ किमी चक्रपथमध्ये १० किमी ललितपुर महानगरपालिकाभित्र पर्छ । अहिलेको अवस्थालाई आकलन गर्दा तीन चरणमा निर्माण गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ । 

पहिलो चरणमा कोटेश्वरदेखि कलङ्कीसम्म, दोस्रो चरणमा कलङ्कीदेखि महाराजगञ्जसम्म र तेस्रो चरणमा महाराजगञ्जदेखि कोटेश्वरसम्म काम गर्दा उपयुक्त हुने अध्ययनको निष्कर्ष छ । मोनोरेल निर्माणका लागि करीब रु एक खर्ब १६ अर्ब लाग्ने अनुमान छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved