नागढुंगा-सिस्नेखोला सुरुङमार्ग बनाउन ६ कम्पनी इच्छुक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2019 | 11:24:29 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालकै पहिलो सडक सुरुङमार्ग निर्माण गर्न ६ कम्पनीले इच्छा देखाएका छन् । चीनका पाँच र जापानको एक कम्पनीले नागढुंगा सुरुङमार्ग निर्माणमा इच्छा देखाएका हुन् ।

सुरुङमार्ग बनाउने कम्पनी छान्न सडक विभागअन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाले साउन २४ गते ६० दिने सार्वजनिक सूचना जारी गरेको थियो । माग गरिएको बोलपत्र १५ नेपाली सहित ४२ कम्पनीले खरिद गरेका थिए ।

‘बोलपत्र खरिद गर्ने कम्पनीको चाप हेर्दा सुरुङमार्ग निर्माणमा धेरै प्रतिस्पर्धा हुने अनुमान गरिएको थियो । तर अन्तिममा जम्मा ६ कम्पनीले मात्र प्रस्ताव आयो’ महाशाखाका इन्जिनियर छविलाल पौडेलले भने, ‘यी मध्ये प्राविधिक रुपमा अब्बल देखिएको कम्पनीले सुरुङमार्ग निर्माणको जिम्मा पाउँछ ।’

न्यूनतम रकम कबुल गर्ने कम्पनीले निर्माणको ठेक्का पाउनेछ ।  ठेक्का पाउने कम्पनीले ४२ महिनामा सुरुङमार्ग र आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ ।

यो सुरुङमार्ग निर्माण गर्न २२ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यसका लागि जापानी सहयोग नियोग (जाइका)ले आर्थिक सहयोग उपलब्ध गराएको छ । नेपाल सरकारसँग यसअघि भएको सहमतिअनुसार जाइकाले सुरुङ मार्ग बनाउन १६ अर्ब ६३ करोड ६० लाख जापानी येन (१६ अर्ब ४६ करोड ९६ लाख रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराएको छ ।

जापानले आगामी ४० वर्षका लागि ०.१ प्रतिशत सहुलियत ब्याजदरमा ऋण दिएको हो । सोही ऋण रकमलाई सरकारले सुरुङमार्गमा खर्च गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो । अपुग ६ अर्ब रुपैयाँ सरकारले व्यहोर्नेछ । उक्त रकम मुआब्जा वितरण र निर्माण क्षेत्रमा खटिने कर्मचारीको तलब भत्तामा प्रयोग हुनेछ ।

यस्तो बन्नेछ सुरुङमार्ग
निर्माणको जिम्मा पाउने कम्पनीले  सुरुङमार्ग प्रवेशद्वारसम्म जाने दुवैतर्फको बाटो र तोकिएको मापदण्डअनुसार सुरुङमार्ग बनाउनुपर्नेछ । आयोजना बनाउने कम्पनीले २.६८८ किलोमिटर सुरुङमार्गसहित त्रिभुवन राजपथबाट काठमाडौंतर्फ २.३० किलोमिटर र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट सुरुङमार्ग प्रवेशद्वारसम्म पाँच सय ६५ मिटर पक्की सडक बनाउनुपर्नेछ ।

सुरुङमार्ग भित्रको सडकको चौडाइ साढे नौ मिटर हुनेछ । यो सडक साढे तीन मिटरका दुई लेनको हुनुपर्नेछ । सडकको बीच भाग साढे एक मिटर छ । सुरुङमार्ग प्रवेश गर्ने सडकमा तीनवटा पुल, दुई अन्डरपास र एक/एक वटा ओभर पास तथा फ्लाई ओभर बनाउनुपर्नेछ । सुरुङमार्ग प्रवेश गर्ने बाटोका खोल्सामा ११ वटा कल्भर्टसमेत बनाउनुपर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved