मेलम्ची प्रकरण: सरकारद्धारा ठेकेदारसँगको सम्झौता रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2019 | 04:17:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गरेको छ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलका  अनुसार सम्झौता रद्द गरेको पत्र आजै पठाउने तयारी छ ।

‘सिएमसी दी रेभेन्नाले जवाफ पनि पठाएन र फर्कने भनेर दिएको समयमा आउँदा पनि आएन अब ठेक्का रद्द गर्नुको विकल्प भएन’ कँडेलले भने, ‘अव कुर्न सकिन्न, आयोजना रोकेर राख्न पनि सकिन्न ।’

आयोजनाले शुक्रबारसम्म ठेकेदार कम्पनीका प्रतिनिधि र कामदार नेपाल नफर्केको भन्दै ठेक्का रद्द गरिने जानकारी सहतिको इमेल शुक्रबारै कम्पनीलाई पठाएको थियो ।

आयोजनाका कार्यकारी निर्देशक कँडेलका अनुसार आयोजनाको ९७ प्रतिशत काम सकिएको छ । यो आयोजनाको म्याद  फेव्रुअरी १० सम्म मात्रै भएकाले फेरि टेन्डरमा जाँदा ढिला हुने भन्दै उनले सरकारले ठेकेदार कम्पनीको धरौटी जफत गरी आयोजना आफैँले बनाउनुपर्ने बताए ।

‘ठेकेदार कम्पनी सिएमसीले आयोजनाको बाँकी काम सम्पन्न गर्न र कम्पनीले पाउन बाँकी सबै बक्यौता रकम बाँकी काम सम्पन्न गर्नुअघि नै पाउनुपर्ने, जफत गरिएको धरौटी रकम फिर्ता हुनुपर्ने र काम सुरु गर्नुअघि सिंगापुर वा लन्डनमा वार्ता गर्नुपर्ने, कम्पनीका प्रतिनिधिको पासपोर्ट जफत नगर्ने प्रतिबद्धता आउनुपर्ने लगायतका सर्त अघि सारेको थियो ।

ठेक्का सम्झौता तोडिएसँगै अब खानेपानी मन्त्रालयले मेलम्चीको बाँकी काम सरकार आफैले गर्ने भनेर मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने भएको छ ।

ठेकेदार कम्पनीका प्रमुख व्यवस्थापक क्रिस्टियानो ग्रेल सहित २७ जनाको टोली अङ्ग्रेजी नयाँ वर्ष मनाउन भन्दै नेपाल छाडेर गएका थिए ।  ठेकेदार कम्पनीका प्रतिनिधि आयोजनास्थल छाडेर काठमाडौं आएपछि उनीहरुलाई नियन्त्रणमा लिएर राहदानी जफत गरिएको थियो । नेपालका लागि इटालियन राजदूतको पहलमा काममा फर्कने सर्तमा सरकारले कम्पनीका प्रतिनिधिलाई नेपाल छाड्ने अनुमति दिएको थियो ।

अहिलेसम्म ठेकेदार कम्पनीले नेपाली सप्लायर्स र कामदारलाई एक अर्ब ५८ करोडभन्दा बढी भुक्तानी दिन बाँकी रहेको  छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved