फास्टट्रयाकको अग्लो पुल बनाउन २ देशका कम्पनी मात्र योग्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2019 | 10:46:40 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं–तराई फास्टट्रयाकमा निर्माण हुने अग्लो पुल चीन र टर्किको कम्पनीले मात्र बनाउन पाउने भएको छ । नेपाली सेनाले फास्टट्रयाकमा बन्ने अग्लो पुल निर्माण गर्न चीन र टर्कीको कम्पनीलाई प्रारम्भिक सूचीमा राखेको हो । 

सेनाले फास्टट्रयाक निर्माण हुने अग्लो पुल इन्जिनियरिङ प्रोकुमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा बनाउनका लािग २०७४ चैतमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । त्यसमा १५ कम्पनीले इच्छा देखाएका थिए । इच्छुक कम्पनीको प्राविधिक मूल्यांकनमा ६ कम्पनी मात्र सबल भएका हुन् । अब यी ६ कम्पनीमध्येबाटै फास्टट्रयाकको अग्लो पुलको डिजाइन र ठेक्का प्राप्त गर्नेछन् । 

प्रारम्भिक चरणमा सूचिकृत भएका कम्पनीमा टर्कीको  डोगुस इन्साट भे टिकारेट एएस एन्ड माक्योल इन्साट सनायी टुरिजम भे टिकारेटको जोइन्ट भेन्चर कम्पनी छ । चीनको भने स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन, हुनान रोड एन्ड ब्रिज कन्स्ट्रक्सन ग्रुप कम्पनी, चाइना रेलवे २० ब्युरो ग्रुप कर्पाेरेसन छ । यस्तै चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप र चाइना रेलवे नम्बर २ इन्जिनियरिङ कम्पनीको जोइन्ट भेन्चर, लोङजियान रोड एन्ड ब्रिज कम्पनी पनि चीनकै हो ।  

एसियाली विकास बैंक एडीबीले तयार पारेको पुर्व सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार फास्टट्रयाकमा ९९ वटा पुल हुने उल्लेख छ । त्यसमा अग्ला पुलको संख्या ६२ वटा हुने बताइएको छ । सेनाले एडीबीको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको रेखांकन परिवर्तन गरेर विस्तृत सम्भाव्यता अध्ययन गरिरहेको छ । यसको जिम्मा कोरियन कम्पनी सुसङ इन्जिनियरिङलाई छ । नयाँ रेखांकन अनुसार डीपीआर तयार गर्दा १९ वटा पुल घट्नेछ जसमा अग्लो पुलको संख्या ५१ मात्र हुनेछ । सेनाले निर्माण सुरु गरेको चार वर्षभित्रमा फास्टट्रयाक पुरा गर्ने सर्तमा काम गरिरहेको छ । निर्माण कार्यलाई निधारित समयमै सम्पन्न गर्न सेनाले डीपीआर तयार हुनु अघि नै पुल बनाउन योग्य कम्पनी छनोट गरेको जानकारी दिएको छ ।

 २०७४ साल वैशाख २१ गते मन्त्रिपरिषद्ले सेनाको व्यवस्थापनमा द्रुतमार्ग निर्माण गर्ने जिम्मा दिएको थियो। सोही निर्णयअनुसार २०७४ साल साउन २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको द्रुतमार्ग सेनालाई हस्तान्तरण गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved