मेयर र वडाध्यक्ष नै बिद्युत चोरीमा संलग्न

रासस

रासस

Feb 05, 2019 | 09:02:55 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल विद्युत् प्राधिकरणले तराईका जिल्लामा बढी विद्युत् चोरी भएको भन्दै केन्द्रीय कार्यालयबाटै अनुगमन टोली परिचालन गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रौतहटको गौर क्षेत्रमा विद्युत् चोरी अत्यधिक रहेको गुनासो आएपछि विद्युत् चुहावट नियन्त्रण महाशाखाका इञ्जिनीयर प्रदीपकुमार शर्माको नेतृत्वमा अनुगमन टोली परिचालन गर्नुभएको हो । टोलीले यही माघ १४ देखि २० गतेसम्म स्थलगत अध्ययन गरेको थियो । 

अनुगमनको क्रममा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसमेत विद्युत् चोरीमा संलग्न रहेको पाइएको प्राधिकरणले जनाएको छ । जनताबाट निर्वाचित प्रमुख र वडाध्यक्ष नै विद्युत् चोरीमा संलग्न हुनु दुर्भाग्यपूर्ण रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । रौतहटको गढीमाई नगरपालिका प्रमुख श्यामप्रसाद यादव र वडा नं ६ का वडाध्यक्ष रामसिंहघासन यादवले भने आफूहरु विद्युत् चोरीमा संलग्न नभएको बताए । प्राधिकरणको केन्द्रीय टोलीले स्थलगत अध्ययन गरेको भएपनि आफुहरुले विद्युत् चोरी नगरेको प्रमुख यादवले स्पष्ट पारे ।

प्राधिकरणको महाशाखा काठमाडौँबाट खटिएको टोलीले गढीमाई प्रमुख यादवको ग्राहक नं ००८.१३.०१ र वडा नम्बर ६ का वडाध्यक्ष सिंघासनको ग्राहक नं ०७.२०.०३ ए तथा गरुडा नगरपालिका–१ का वडाध्यक्ष सरोजराय यादवको ग्राहक नं १८.०८.१९ ले आफ्नो घरमा विद्युत् चोरी गरी प्रयोग गरेको पाइएको आरोप लगाएकोे छ । 

प्रमुख यादवले भने आफ्नो नगरपालिकामा विद्युत् चोरी भएको भन्ने गुनासोका आधारमा प्राधिकरणको टोलीले अनुमगन गरेको जानकारी दिए । प्राधिकरणको अनुगमन टोलीले भने गढीमाईको बिनगरमा रहेका दुई घरमा प्रमुख यादवले अङ्कुशे लगाएर विद्युत् चोरिरहेको फेला पारेको बताएको छ । टोली प्रमुख शर्माले चोरिएको लाइन काटिएको तर सुरक्षाका कारण नगर प्रमुखका घरमा राखिएको मिटर खोल्न नसकिएको बताए । 

प्राधिकरणले भने प्रमुखले विद्युत् चोरी गरेको मुचुल्का तयार गरेको र त्यसमा प्रमुखका भाइ सञ्जीवकुमारले हस्ताक्षर गरेको अनुमगन टोलीका प्रमुख शर्माले जानकारी दिए । टोलीले गढीमाई ६ का वडाध्यक्ष सिंघासनले आफ्नो घर, वडा कार्यालय र धरमपुर स्वास्थ्यचौकीमा चोरीको विद्युत् प्रयोग भइरहेको फेला पारेको छ । वडाध्यक्ष सिंघासनले आफ्नो घरसमेत नभएको तथा छुट्टै बसेका छोरा र भाइकामा समस्या रहेको प्राधिकरणको टोलीले फेला पारेको दाबी गरे । प्राधिकरणको टोलीले उनलाई रु एक लाख ५० हजार बराबरको जरिवाना गराएको छ । 

यस्तै गरुडा नगरपालिका–१ का वडाध्यक्ष सरोजराय यादवले मिटर बाइपास गरी घरमा बिजुली प्रयोग गरेको पाइएको छ । टोली प्रमुख शर्माका अनुसार वडाध्यक्षले आफ्नो घरमा मात्रै हैन दाजुभाइको घरमा समेत चोरीको विद्युत् उपलब्ध गराएको पाइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत् चुहावट नियन्त्रणलाई उच्च प्राथमिकतामा राखी हरेक वितरण तथा ग्राहक सेवा केन्द्रलाई चुहावट घटाउने लक्ष्य बनाइएको बताए । 

चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने र प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर तथा वितरण लाइनको सुदृढीकरणलगायत काम अभियानकै रुपमा चलाइएको छ । प्राधिकरणले बढी विद्युत् चोरी हुने क्षेत्रमा विद्युत्भार कटौती गर्ने, विद्युत्को नियमित आपूर्तिका लागि ट्रान्सफर्मर नथप्ने तथा मर्मतसमेत नगर्ने भन्दै चोरी नियन्त्रणमा सघाउन आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved