प्रधानमन्त्रीले गरे पानी जहाज कार्यालयको उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 11:29:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ललितपुरको एकान्तकुनामा पानी जहाज कार्यालय स्थापना गरेको छ । चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन् ।

सरकारले नेपाल पानीजहाज कार्यालयका लागि राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिकतर्फका रजिष्ट्रारको नेतृत्वमा १६ को दरबन्दी स्वीकृत गरिसकेको छ । 


मन्त्रिपरिषद्को पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनीयर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनीयर एक एक गरी तीन, सहायक र कार्यालय सहयोगी गरी आठ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो । 


पानीजहाज ऐन २०२७ अनुसार कार्यालय स्थापना भएको हो । पानीजहाज कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मातहतमा रहनेछ ।


कार्यालय उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल सिग्देलले पानीजहाज सञ्चालनका लागि सम्पूर्ण कागजी प्रक्रिया पूरा भएको बताए ।

मन्त्री रघुवीर महासेठले हजार माइलको बाटो पनि एक पाइलाबाटै सुरू हुने बताउँदै भूपरिवेष्टित देश भए पनि नेपाललाई पानीजहाजले जलमार्गबाट विश्वभरि जोड्ने बताए । सरकार गठन भएको एक वर्ष पूरा भएकै दिन पानीजहाज कार्यालय उद्घाटन गरिएको हो । 


प्रधानमन्त्री ओलीले गत वर्ष फागुनमा भारत भ्रमणबाट फर्किएलगत्तै यातायात र उद्योग मन्त्रालयका अधिकारीसँग पानीजहाज सञ्चालनबारे छलफल गरेका थिए । सो छलफलमा उनले पानीजहाज सञ्चालनसम्बन्धी विस्तृत योजना बनाउन निर्देशन दिएका थिए ।


महत्वाकांक्षी मानिएको पानी जहाज चलाउने योजनालाई सफल बनाउन सरकारले छिमेकी मुलुक भारतसँग गत साउन महिनामा पहिलोपटक छलफल गरेको थियो । भारतको अन्तरदेशीय जलमार्गसँग नेपालको जलमार्गलाई जोड्ने गरी हाल गृहकार्य भइरहेको बताइएको छ । भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगा नदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउने काम सुरु गरिसकेको छ । हल्दीपुर नेपालको सीमाबाट करिब २७५ किलोमिटर टाढा पर्दछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved