'लोडसेडिङ हटाउन राजनीतिक दलनै बाधक'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2016 | 05:52:52 PM मा प्रकाशित

laxmi  sunrise bank

रक्सौल परवानीपुर प्रसारण लाइनको स्तरोन्नति कार्यमा केही स्थानीय राजनीतिक दलले अवरोध गरेको पाइएको छ । 

मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको १३२ केभी क्षमताको उक्त प्रसाराण लाइन निर्माणमा राजनीतिक स्वार्थसहितको अवरोध भएको र त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रहरी प्रशासनले समेत सहयोग नगरेको ऊर्जामन्त्री जनार्दन शर्माको भनाइ छ । 
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित ऊर्जा चुहावाट नियन्त्रण विषय बैठकमा ऊर्जामन्त्री शर्माले भने, ‘‘तत्काल ५० मेगावाट विद्युत् आयात गर्ने लक्ष्यका साथ निर्माण भइरहेको सो आयोजनामा अवरोध भएको छ । पटक पटक स्थानीय प्रहरी प्रशासनलाई आग्रह गर्दासमेत समस्या समाधान हुन सकेको छैन । मुलुकलाई उज्यालो बनाउँछु भन्दा राजनीतिक रुपमा नै त्यसलाई अप्ठ्यारोमा पार्ने काम भयो ।’’ 
 
कुन राजनीतिक दलले त्यस्तो अवरोध गरेको भन्नेबारेमा भने उहाँले केही पनि बताउनुभएन । मन्त्री शर्माले प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध तत्काल अन्त्य गर्न गृह मन्त्रालयको महत्वपूर्ण सहयोग रहेको बताए। 
 
भारतबाट सो प्रसारण लाइन हुँदै तत्काल विद्युत् आयात गर्ने भन्दै प्राधिकरणले स्तरोन्नतिको काम सुरु गरेको थियो । यसै महिनाभित्र सो प्रसारण लाइनको काम सम्पन्न हुने अवस्थामा रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ । 
 
काठमाडौँ उपत्यकामा विद्युत्भार कटौतीको अन्त्य भएको र उपत्यका बाहिर पनि एकाध घन्टा मात्रै विद्युत्भार कटौती गरिएको अवस्थामा उज्यालो नेपालको सपना पूरा हुन नदिने तत्व क्रियाशील रहेको मन्त्री शर्माको आरोप थियो । 
 
यस्तै विद्युत् चुहावट नियन्त्रणमा समेत प्रहरी प्रशासनको महत्वपूर्ण सहयोगको जरुरी छ भन्दै उनले धनुषामा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीमाथि हातपात भएको, भक्तपुरमा समेत प्राधिकरणका कर्मचारी चुहावट नियन्त्रण अभियानमा जान नमानेको भन्दै विशेष टोली खटाउन आग्रह गरे। 
 
ऊर्जामन्त्री शर्माको आग्रहलगत्तै गृहसचिव लोकदर्शन रेग्मीले आजै त्यहाँको समस्या समाधान गर्ने र सम्बन्धित प्रहरी प्रशासनलाई निर्देशन दिने बताए।
 
 
ऊर्जा मन्त्रालयले अगाडि सारेका कार्यक्रम, नीति योजना तथा चुहावट नियन्त्रणमा एकीकृत रुपमा अगाडि बढ्न तयार रहेको उनको भनाइ छ । विद्युत् चुहावट बढी भएका क्षेत्रमा प्रहरी प्रशासनलाई निरन्तर परिचालन गर्ने र कानुनअनुसार कारबाही गराउन विशेष परिपत्र नै जारी गर्ने सचिव रेग्मीले बताए। 
 
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार जलेश्वरमा ६१ प्रतिशत, सर्लाहीमा ५८ प्रतिशत, औसतमा बारा, पर्सा र रौतहटमा ४५ प्रतिशत तथा भक्तपुरमा ३७ प्रतिशत जनकपुरमा ४७ प्रतिशत विद्युत् चुहावट भइरहेको छ । काठमाडौँको कुल माग बराबरको विद्युत् नै चुहावट हुने गरेकाले त्यसलाई नियन्त्रण गर्नु आवश्यक भएको उनको भनाइ छ । 
 
यस्तै प्राविधिक रुपमा पनि कम क्षमताका ट्रान्सफर्मर, केवल र कन्डक्टर प्रयोग गरिएकाले पनि चुहावट बढी भएको भन्दै त्यसलाई नियन्त्रण गर्न प्राधिकरण लागिपरेको उनको भनाइ छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved