सिद्धबाबामा सुरुङ बन्ने पक्का, १० अर्ब छुट्याइयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2019 | 07:40:09 PM मा प्रकाशित

laxmi  sunrise bank

हरेक बर्ष पहिरोले सताईरहने बुटवल-पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबामा सुरुङ बन्ने पक्का भएको छ । सिद्धबाबा खण्डको समस्या समाधान गर्ने लक्ष्यसहित सरकारले सुरुङमार्ग निर्माणका लागि स्रोतको सुनिश्चितता गरेको हो । अर्थमन्त्रालयले सिद्धबाबा सडक खण्डमा सुरुङमार्ग निर्माणका लागि रु १० अर्ब १५ करोड बराबरको स्रोत सुनिश्चितता गरेको हो ।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले सो आयोजनाका लागि स्रोत सुनिश्चितता भएको सहमतिपत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको छ । यही मङ्सिर १ गते अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गरी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई स्रोतको सुनिश्चितता गरिदिएका हुन् । सो पत्र आज मात्रै अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको हो ।

अर्थले भौतिकको प्रस्तावअनुसार नै सिद्धबाबामा सुरुङमार्ग निर्माणकार्य ‘डिजाइन एण्ड विल्ड’ ढाँचामा निर्माणका लागि स्रोतको सुनिश्चितता गरिदिएको हो । स्रोतको सुनिश्चिततापछि अब भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय एवं सडक विभागमा आइपुगेको छ । उक्त सुरुङमार्ग निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट स्वीकृत ‘बहुवर्षीय ठेक्का मापदण्ड २०७६’ बमोजिमको प्रक्रिया पूरा गरी काम अघि बढाउन अर्थले स्वीकृति दिएको पत्रमा उल्लेख छ ।

उक्त मापदण्डले तोकेको प्रक्रिया पूरा गरी अब खरीद शुरु गर्न आफूहरुलाई मार्ग प्रशस्त भएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले राससलाई जानकारी दिए । स्वीस परामर्शदाताले सो सुरुङमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारी विभागमा पेश गरिसकेको छ । डिपिआर पनि तयार भइसकेको र स्रोतसमेत सुनिश्चितता भएपछि विभागले अब बोलपत्रमार्फत ठेकेदार छनोट गरी निर्माण कार्य शुरु गर्नसमेत मार्ग प्रशस्त भएको छ ।

अर्थ मन्त्रालयले डिपिआरबमोजिम हुने गरी डिजाइन, निर्माण तथा सञ्चालन र मर्मत गर्ने कार्यमा प्राविधिक सेवाको सुनिश्चितता गरी लागत अनुमानबमोजिम खर्च हुने गरी अनुमानित रकम मध्यकालीन खर्च संरचनामा समावेश गरेको छ । सोही संरचनाअनुसार नै बहुवर्षीय ठेक्काबाट खरीद प्रक्रिया अघि बढाउन सहमति प्रदान गरिएको छ । “हामीहरुले भन्दै आएको ढाँचामा नै स्रोतको सुनिश्चितता भएको छ”, प्रवक्ता सापकोटाले दोहो¥याए ।

सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करीब चार किलोमिटर क्षेत्र पहिराको अत्याधिक जोखिममा छ । त्यसैलाई मध्यनजर गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक हजार ३०० मिटर क्षेत्रमा स्वीस सरकारको विकास सहयोगमार्फत सुरुङमार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो ।

सो सडकखण्डलाई पहिराबाट सुरक्षित बनाउनेबारे यसअघि विभिन्न अध्ययन तथा जैविक प्रयोग गरिए पनि सफल भने हुन सकेको थिएन । त्यसको विकल्पमा सुरुङ नै उत्तम विकल्प भएको जानकारको भनाइ रहँदै आएको थियो । त्यसखण्डको भौगर्र्भिक अध्ययनका लागि स्वीस डेभलेपमेन्ट कोअपरेसनले नेपाल सरकारलाई आर्थिक सहयोग उपलब्ध गराएको थियो । सोही सहयोगबाट प्राविधिकले त्यस क्षेत्रको भौगर्भिक अध्ययन गरी सरकारलाई सुझाव दिएको छ । केही अध्ययन अझै जारी छ ।

सडक विभागका अनुसार चिडियाखोला छेउबाट शुरु भएको सुरुङमार्ग दोभान नजिकैको रामापिथेकस पार्कको उत्तरतर्फ पुग्नेछ । स्थानीय दोभान सडकखण्डमा वर्षायाममा मात्र नभई हिउँदमा समेत खस्ने सुक्खा र ढुङ्गे पहिराका कारण उक्त सडकखण्ड भएर यात्रा गर्नेले दैनिक सास्ती भोग्दै आएका छन् । सडक विभागका प्रवक्ता सापकोटाले अर्थको स्वीकृतिपछि सो सडकखण्डमा सुरुङमार्ग निर्माणका लागि काम शुरु हुने र डिपिआरले तय गरेका आधारमा प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

“हाम्रो मागअनुसार नै अर्थले स्वीकृत दिएको छ, स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको समस्या समाधानका लागि यो महत्वपूर्ण र खुशी दिने विषय हो”, प्रवक्ता सापकोटाले भने । देशको एक प्रमुख र व्यस्त राजमार्गको सडकमा स्थानीयवासीले भोग्दै आएको हैरानी र क्षतिको न्यूनीकरणका लागि सुरुङमार्ग नै उत्तम र भरपर्दो विकल्प देखिएको थियो । सरकारले चालू आर्थिक वर्षको बजेटमा समेत देशका विभिन्न स्थानमा सुरुङमार्ग निर्माणको अध्ययन शुरु गर्ने कार्यक्रम समावेश गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved