चमकदार बन्यो श्वेताको माझी बस्ती

रासस

रासस

Dec 18, 2019 | 10:19:56 AM मा प्रकाशित

laxmi  sunrise bank

रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर छन् । भूकम्पले तहसनहस बनाएको यो बस्तीको अहिले मुहार फेरिएको छ । टाढैबाट सुन्दर देखिने बस्तीको चमक नै बैग्लै बनेको छ ।

दशैँको फूलपातीको दिन नयाँ घर सरेकी ५५ वर्षीया लक्ष्मी माझी र श्रीमान् ज्ञानबहादुर मङ्गलबार साँझ खाना पकाउँदै थिए । नयाँ घर पाउँदा उहाँहरु खुशी देन्थे । उनीहरुलाई पुरानो घरको याद भने हराएको छैन । लक्ष्मी भन्छिन्, ‘घर त पुरानै ठिक नि यो त भुइँतलामात्रै छ, पुरानो घर त भुइँसहितको तीनतला थियो, सबै कुरा राख्न पाइन्थ्यो ।” अहिलेको घर पहिलेको भन्दा बलियो रहेकामा भने उनीहरु ढुक्क टन् । 

छिमेकी सोमबहादुर माझी पनि दशैँलगत्तै टहरोबाट नयाँ घरमा सरे । छ जनाको परिवार बस्ने उनले भने, ‘साँघुरो छैन, ओत लाग्न पाएकै छ, खुशी नै छौँ ।’ उनले पनि माटोढुङ्गाको त्यो दुई तले घर भने कहिल्यै भुल्न नसक्ने बताए । परिवारका सबै सदस्य घर बाहिर गएकाले भूकम्पमा बाँचेको स्मरण गर्दै सोमबहादुरले घर बनाउन लिएको चार लाख ऋण ज्याला मजदुरीबाटै तिरिरहेको बताउँछन् । 

जुना माझी नयाँ घरमै विवाह गरेर भित्रिइन् । उनले टहरो देख्न पाउनुभएन । तीन जनाको परिवारलाई नयाँ घरका तीन कोठा छ्यालब्याल छ, भूकम्प आए पनि डर छैन जुनालाई । निर्माण भएको नमूना माझी बस्तीका अधिकांश परिवार नयाँ घर सरिसकेका छन् । 

नायिका श्वेता खड्काले आफ्ना दिवङ्गत पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा श्वेताश्री फाउण्डेशन स्थापना गरेर विसं २०७३ मा नै नमूना बस्ती बनाउने घोषणा गरेकी थिइन् । बस्ती निर्माणको काम भने २०७४ जेठ १५ बाट थालियो । अहिले माझी बस्तीको निर्माणमा सरकारले स्वामित्व लिएको छ । फाउण्डेशनले सहयोग गरिरहेको छ । नायिका खड्काबाट प्राप्त ४० लाख र उक्त फाउण्डेशनको २३ लाख रकम भने उपभोक्ता समितिले फिर्ता गर्ने शर्तमा चालू पूँजीको रूपमा परिचालन गरेको फाउण्डेशनबाट बस्तीको प्राविधिक काम हेर्दै आएका निराजन सापकोटाले बताउँछन् । ‘श्वेताश्री फाउण्डेशनको अगुवाइ, पुनःनिर्माण प्राधिकरणको साझेदारी र झ्याडी टोल सुधार समितिको सहकार्यमा बस्ती बनेको हो’ सापकोटाले भने । 

सरकारबाट प्राप्त १ करोड ३० लाखबाट बस्तीमा सडकलगायतका पूर्वाधारको काम जारी छ । शुरुमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट बस्तीका हरेक घरलाई ३ लाख सहयोग प्राप्त थियोे । त्यसपछि प्रतिपरिवारले ४ लाख ऋण लिएर घर बनाएका छन् । यहाँको ५३ मध्ये २९ घरले ऋण लिइसकेको र बाँकी प्रक्रियामा छ । हरेक घरले मासिक ७ हजार किस्ता बुझाउनुपर्छ । 

झ्याडी टोल सुधार समितिका अध्यक्ष दिनेश माझी पैसा अभावले फाउण्डेशन र खड्काबाट रु ६३ लाखको चालू पूँजी ल्याएको बताउँछन् । सरकारको बजेट चलाइसकेपछि अन्य संस्थाको पैसा चलाउन नपाउने मापदण्ड आएकाले उक्त पैसा फिर्ता गर्नेगरी तत्कालका लागि प्रयोग गरिएको हो । उपभोक्ता समितिले नै घर निर्माणको जिम्मा लिएको छ । काम पनि गाउँले आफैँले गरेका छन् । गाउँले मिलेरै काम गरेकाले बजेट बाहिर गएको छैन । काम गरेर कमाएको पैसाले मासिक किस्ता तिरिरहेका छन् माझीहरु । 

बस्तीमा बाटोसहित बालबगैंँचा, सामुदायिक भवन, वाटर फाउण्टेन, स्वास्थ्य चौकीलगायत बनाइँदैछ । अझै पाँच÷सात महिना पूर्वाधार निर्माणमा समय लाग्ने अनुमान छ । अठ्ठाइस रोपनी क्षेत्रमा बनेको छ बस्ती । तीन आनामा एउटा घर बनेको छ । एक घरमा तीन कोठा र शौचालय छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सव¬इञ्जिनीयर सुमन काफ्ले सरकारले तोकेको मापदण्डअनुसार नै बस्ती निर्माण भइरहेको बताउँछन् । बस्ती निर्माणको शुरुको लागत १२ करोडको हो । अन्य पूर्वाधार निर्माणमा चार करोड थियो । अहिले भने लागत बढेको जनाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved