काठमाडौंमा लोडसेडिङ नगर्ने प्रतिवद्धतामा थप सहयोग,हेटौंडा– कुलेखानी प्रसारणलाइन सञ्चालन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 29, 2017 | 04:34:19 AM मा प्रकाशित

laxmi  sunrise bank

 लामो समयदेखि विभिन्न कारणले अवरुद्ध हुँदै आएको हेटौँडा– कुलेखानी–स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन शनिबार देखि सञ्चालनमा आएको छ ।

भारतबाट आयात भएको विद्युत् काठमाडौं ल्याउने महत्वपूर्ण प्रसारणलाइनको रुपमा रहेको उक्त प्रसारणलाइनको महत्वपूर्ण खण्ड गत पुसको अन्तिम साता नै मातातीर्थमा जोडिइसकेको थियो ।

मातातीर्थबाट स्यूचाटार जोड्ने प्रसारणलाइनको खण्डमा पर्ने घर तथा आवास क्षेत्रमा रोकिएको काम समेत सम्पन्न भएको आयोजना प्रमुख केदार सिलवालले जानकारी दिए ।

उक्त प्रसारणलाइनबाट काठमाडौंमा बढी भएको बिजुली हेटौंडा र त्यहाँ बढी भएको बिजुली राजधानी ल्याउन सहज भएको छ । राजधानीको वितरण प्रणालीमा पनि थप सुधार गर्ने हो भने दुईवटा महत्वपूर्ण प्रसारणलाइनले राजधानी जोडिएपछि त्यसले दिने सेवा समेत सहज हुने विश्वास लिइएको छ ।

केही दिन पहिले मात्रै ढल्केबर– खिम्ती प्रसारणलाइनबाट समेत विद्युत् प्रवाह भइसकेको छ । हेटौंडा मातातीर्थ स्यूचाटार प्रसारणलाइन पनि सञ्चालनमा आएपछि काठमाडौंमा विद्युत् आयात गर्न र काठमाडौंबाट बाहिर लैजानलाई समेत सहज भएको छ ।

प्राधिकरणले १३२ केभी प्रसारणलाइन क्षमताको डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न गरेपछि भारतबाट ढल्केबर– हेटौंडा हुँदै राजधानी भित्रिएको विद्युत् वितरणमा सहज भएको हो ।

उक्त प्रसारण लाइनबाट करिब २०० सय मेगावट बिजुली आयात तथा निर्यात दुवै गर्न सकिने आयोजना प्रमुख सिलवालले जानकारी दिए ।

विसं २०६८ बाट सुरु भएको सो प्रसारणलाइन मुनिपर्ने जग्गा धनीले मुआब्जा एवम् क्षतिपूर्ति माग्दै लामो समयदेखि अवरुद्ध गर्दै आएका थिए । विसं २०४३ मा नै कुलेखानी दोस्रोको विद्युत् राजधानी ल्याउन निर्माण गरिएको प्रसारणलाइनले दायाँबायाँ नौ–नौ मिटर जग्गाको क्षतिपूर्ति दिइसकेको थियो ।

मकवानपुरको चौकीटोल, काठमाडौंको तत्कालीन मातातीर्थ र स्यूचाटार गाविसले घर तथा आवास बनाउन अनुमति दिएका कारण प्रसारणलाइन विस्तारमा समस्या पर्दैआएको थियो । काठमाडौं उपत्यकामा विद्युत्को माग बढ्दै गएपछि आयोजनाले एकल फेजमा रहेका प्रसारण लाइनलाई दोहोरो बनाउने तयारी गर्दा स्थानीयवासीले चर्को विरोध गर्दै अवरोध गरेपछि विस्तारकार्य रोकिएको थियो ।

प्रसारण लाइन निर्माणका लागि मात्रै आयोजनाले रु एक करोड ८४ लाख क्षतिपूर्ति १९ घरपरिवारलाई प्रदान गरेको छ ।ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौं र मकवानपुरका प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा क्षतिपूर्ति तथा मुआब्जा वितरण गरिएका कारण आयोजना सफल भएको उहांले जानकारी दिए ।

भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौंडा हुँदै काठमाडौं ल्याउन सो प्रसारणलाइन सहयोगी भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

प्रसारण लाइनको दायाँबायाँ क्षेत्रमा रहेका घरधनीले घर भत्काउन थालेको र केही दिनभित्रै घर भत्काइसक्ने जानकारी आफूलाई आएको भन्दै आयोजना प्रमुख सिलवालले काठमाडौँ उपत्यकामा जारी विद्युत्भार कटौती मुक्त अभियानमा सो प्रसारण लाइनको विद्युत् जोडिएपछि थप सहज हुने विश्वास व्यक्त गरे।

मातातीर्थदेखि स्यूचाटारसम्मको खण्डमा पर्ने घर भत्काएर प्रसारणलाइन सञ्चालनमा ल्याइएको हो । उक्त प्रसारणलाइन निर्माण सम्पन्न भएपछि मातातीर्थ– भक्तपुर प्रसारणलाइनको काम अगाडि बढाउने प्राधिकरणको योजना छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved