प्रधानमन्त्रीको निरीक्षणपछि चमेलिया आयोजनाले लियो गति, बन्यो नयाँ कार्यतालिका      

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 10, 2017 | 05:58:20 AM मा प्रकाशित

laxmi  sunrise bank

लामो समयदेखि विवाद र समस्यामा फसेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको चमेलिया जलविद्युत् आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री जनार्दन शर्मा, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायतले स्थलगत निरीक्षण गरी आयोजनाको काम तोकिएको समयभन्दा शीघ्र सम्पन्न गर्न निर्देशन दिएपछि आयोजनाले गति लिएको हो । आयोजना सन् २०१७ को अन्त्यमा सम्पन्न गर्ने गरी नयाँ कार्यतालिका तय गरिएको छ । 

आयोजनाले भने तोकिएको समयभन्दा दुई महिना पहिल्यै निर्माण सम्पन्न गर्ने गरी तयारी गरेको छ । सातपटक भेरियसन गरिएको आयोजनाको सम्बन्धमा राष्ट्रिय रुपमा चर्चा परिचर्चामात्रै नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसद्को सार्वजनिक लेखा समितिमा समेत लामो छलफल भयो । 

छलफलका क्रममा आयोजनाको सम्बन्धमा भए गरेका गलत कामको उचित छानबिन गर्ने, दोषी उपर कारबाही गर्ने सहमति भएपछि निर्माण प्रक्रियाले गति लिएको हो । आयोजनाका प्रमुख अजयकुमार दाहालका अनुसार खुम्चिएको सुरुङ निर्माण प्रक्रिया सम्पन्न अन्तिम चरणमा पुगेको छ । कुल २८ मिटर सुरुङमात्रै पुनःनिर्माण गर्न बाँकी छ । २३२ मिटर सुरुङ खुम्चिएकामा अरु पुनःनिर्माण भइसकेको छ । हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको कामसमेत जारी छ । 

विद्युत् उत्पादन गर्ने टर्वाइनको यसअघि नै जडान गरिएको र हाल जेनेरेटर जडान कार्य जारी रहेको र आगामी एक महिनाभित्र सो कार्यसमेत सम्पन्न हुने आयोजनास्थलमा रहनुभएका उपप्रबन्धक पुष्पराज जोशीले जानकारी दिए । उहाँका अनुसार आयोजनामा हाल चिनियाँ र नेपाली कामदारले दैनिक १८ घन्टा काम गरिरहेका छन् । ऊर्जा मन्त्रालयले गत २२ सेप्टेम्बरमा नयाँ कार्यसूची दिई सन् २०१७ को डिसेम्बरमा आयोजना सम्पन्न गर्ने तयारी गरेको हो । 

खुम्चिएको बाँकी रहेको सुरुङ सम्पन्न यसै महिनाभित्र हुने गरी तयारी गरिएको आयोजना प्रमुख दाहालले बताए । समयमै काम सम्पन्न नहुँदा आयोजनाले हालसम्म दुई अर्ब रुपैयाँ बढी कमाइ घाटा भएको छ । आयोजनाको लागतसमेत बढेर हाल प्रतिमेगावाट लागत ५६ करोड ३५ लाख रुपैयाँभन्दा बढी पुगेको छ । 

ठेकेदारलाई बुझाइएको अन्य शुल्कको हिसाब गर्ने हो भने पनि प्राधिकरणले बुझाएको रकम उल्लेख्य मात्रामा बढी छ । जसरी भए पनि शीघ्र आयोजना सम्पन्न गर्न ऊर्जा मन्त्रालय र प्राधिकरणले देखाएको चासोका कारण परियोजनाले गति लिएको छ । आयोजनाले यसअघि नै १३१ किलोमिटर लामो १३२ कभी क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । 

कुल ४१२ वटा टावरमार्फत कैलालीको अत्तरियामा जोडिएको छ । प्रसारण लाइन यसअघि नै निर्माण सम्पन्न भए पनि हावाहुरीका कारण डोटी र कैलालीमा चारवटा टावर र केही प्रसारण लाइनमा क्षति पुगेको छ । प्रसारण लाइनको सीमाभन्दा बाहिर रहेका सल्लाको रुख ढलेर प्रसारण लाइनमा क्षति पुर्याएपछि वन विभागसँग समन्वय गरेर रुख काट्ने स्वीकृति लिने कार्य जारी रहेको आयोजना प्रमुख दाहाल बताउछन् । दशवटा रुख काट्न पनि मन्त्रिपरिषद्ले स्वीकृति दिनुपर्ने भएकाले केही दिन लाग्न देखिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved