मौद्रिक नीति निर्माणका लागि राष्ट्र बैंकले सरोकारवालासँग माग्यो सुझाब

के हो मौद्रिक नीति ?
मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 13, 2017 | 02:19:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति तर्जुमाका लागि सुझाब माग गरेको छ। आगामी आर्थिक बर्षको मौद्रिक नीतिमा समावेश गर्नु पर्ने सुझाबहरु इमेल मार्फत पठाउन सकिने राष्ट्र बैंकले जनाएको छ। 

असार दोस्रो सातामा आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेको राष्ट्र बैंकले सरोकारवाला तथा सर्वसाधारणसँग इमेल मार्फत सुझाब पेश गर्न आग्रह गरेको छ। आर्थिक वर्ष २०७४÷७५ को मौद्रिक नीतिमा आफ्ना समावेश हुनुपर्ने सुझाब तथा राय भएमा राष्ट्र बैंकको अनुसन्धान विभागको [email protected]  मा इमेल गर्न सकिने बैंकले बिज्ञप्ति मार्फत जानकारी गराएको छ। 

बैंक तथा वित्तीय संस्थामा सुधार गर्नु पर्ने आवश्यक कुराहरु, अहिले भएका व्यवस्थाका कमि कमजोरी, वित्तीय क्षेत्रलाई सुधार गर्न चाहिने नीति, मर्जरमा देखिएका समस्याहरु, ब्याजदर, तरलता, अपरिपक्व नीति, मूल्य वृद्धि लगायतका बिषयमा राष्ट्र बैंकलाई सुझाब दिन सकिने छ।


के हो मौद्रिक नीति ?

सामान्यतया मुद्राप्रदाय (मुद्रा आपूर्ति) मा नियन्त्रण गर्न बनाईने नीतिलाई मौद्रिक नीति भनिन्छ। मौद्रिक नीति कुनै पनि देशको त्यहाँको केन्द्रिय बैंकले निर्माण गर्दछ । नेपालमा पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदै आएको छ।

मौद्रिक नीतिको महत्त्वपूर्ण काम मध्य मूल्यवृद्धि नियन्त्रण गर्नु हो। बजारमा प्रशस्त मात्रामा पैसा हुँदा बजारमा बस्तुको आपूर्ति भन्दा माग बढ्न गई बस्तुको मूल्य बढ्ने भएकाले मागअनुसारको मात्रै मुद्रा आपूर्ति गर्नका राष्ट्र बैंकले १ बर्षका लागि लागु हुने गरि मौद्रिक नीति बनाउने गर्दछ। अर्को तर्फ अर्थमन्त्रालयले जेठ १५ मा ल्याएको बजेटका कार्यक्रमको लक्ष्य पुरा हुने गरि र त्यसलाई साथ दिने गरि मौद्रिक नीति ल्याउनु राष्ट्र बैंकको उदेश्य हुने गर्दछ। 

मौद्रिक नीति केन्द्रिय बैँकले जारी गर्ने एक मात्र नीति हो, जसमा वित्तीय नीति र विदेशी विनिमय नीति समावेश गरिएको हुन्छ । वित्तीय नीति अन्तर्गत नेपाल राष्ट्र बैंकको मातहतमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको नियमन सम्बन्धि नीति पर्दछ । यस्ता नीतिहरु समयको माग र आवश्यकताअनुसार परिवर्तन गर्दै जानुपर्ने भएकाले राष्ट्र बैंकले हरेक वर्ष आवश्यक परिमार्जन सहितको नीति ल्याउने गर्दछ । 

हाल नेपाल राष्ट्र बैंकले नियम गर्ने बैंक तथा वित्तीय संस्थालाई क, ख, ग र घ गरी चार भागमा बर्गिकरण गरिएको छ । क वर्गका बैंकहरु वाणिज्य बैंकहरु हुन् । नेपालमा हाल २९ वटा वाणिज्य बैंकहरु रहेका छन् । त्यस्तै, ख वर्गका बैंकहरु विकास बैंकहरु हुन् । विकास बैंकलाई पनि राष्ट्रियस्तरका, १० जिल्ले, ३ जिल्ले र १ जिल्ले गरी ४ भागमा वर्गीकरण गरिएको छ । त्यस्तै, ग वर्गका बैंकहरु फाइनान्सहरु हुन् भने घ वर्गका बैंकहरु लघुवित्त पर्दछन। त्यसैले बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्न पनि हरेक बर्ष परिमार्जित मौद्रिक नीति ल्याउने गरिन्छ।

त्यस्तै ठूला ठुला व्यवसायी तथा उद्योगपतिहरु देखि लिएर सर्वसाधारणको रकम बैंकहरुमा बचत गरिएको हुन्छ । बचतको सहि रुपमा परिचालन हुन सकेन भने बचत कर्तालाई व्याज दिन सकिँदैन । धेरै पैसा परिचालन भयो भने पनि बचतकर्ताले चाहेको समयमा रकम निकाल्न पाउँदैनन्। यहि सन्तुलन गर्ने काम मौद्रिक नीतिले गर्नु पर्ने हुन्छ।  

मौद्रिक नीतिले कुन बर्गको बैंक तथा वित्तीय संस्थाहरुले कति चुक्ता पुंजी पुर्याउनु पर्छ भन्ने कुरा पनि निर्धारण गर्ने गर्दछ। अर्को तर्फ बैंक तथा वित्तीय संस्थाहरुले कहाँ कसरि कति लगानी गर्ने भन्ने कुराको मापदण्ड समेत बनाउने गर्दछ। गत बर्ष राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन बैंकहरुलाई प्रोत्साहन गरेको थियो। 

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको लागि ल्याउने मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई यस अघि तोकिएको चुक्ता पुंजी वृद्धि गर्न केहि सहजीकरण हुने नीति ल्याउने चर्चा चलाइएको छ। यद्दपी राष्ट्र बैंकले भने यसबारे आफ्नो आधिकारिक धारणा बाहिर ल्याएको छैन। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved