उर्जा मन्त्रीले 'प्रचण्डको नाम जोडेर' तर्साए कुलेखानी तेस्रोका ठेकेदारलाई, भने- अब अति भो

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 08, 2017 | 12:41:05 PM मा प्रकाशित

laxmi  sunrise bank

अझै कति समय लाग्छ, तपाईहरु किन सरकारलाई पटक पटक अप्ठ्यारोमा पार्नुहुन्छ? होइन सर, हामी काम गर्दै छौँ। अबको दुई महिनामा गुणात्मक परिवर्तन देख्न सक्नुहुन्छ।  

 तपाईले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को स्थलगत भ्रमणको क्रममा समेत यही भन्नुभएको थियो? किन पूरा भएन काम? परिस्थिति त्यस्तै आइपर्यो हजुर अब त्यस्तो हुन्न। हामी समयमा नै काम सक्छौं। 

लामो समयदेखि कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको कार्यप्रगति गुणात्मक हुन नसकेपछि स्थलगत अनुगमनका लागि पुगेका ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको ठेकेदारका स्थानीय प्रतिनिधि शरद गोल्छाबीचको संवाद हो यो।

 ऊर्जामन्त्री शाही, ऊर्जा मन्त्रालयका सचिव अनुपराज उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको उच्चस्तरीय टोलीले आयोजना निर्माणमा भइरहेको ढिलाइका बारेमा जानकारी लिन स्थलगत निरीक्षण गरेको हो।  

 सोही क्रममा मन्त्री शाहीले आयोजनालाई सँधै लम्ब्याएर राख्ने भए सरकारले निर्माण व्यावसायीलाई कालोसूचीमा राखेर कारबाही गर्ने चेतावनी दिए। उन भने “सधैँ हुन्छ हुन्छ मात्रै भन्ने परियोजना अलपत्र पार्ने कुरा हुन्न, अब छुट दिन सकिँदैन।”

 कुल १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो निर्माण शुरु भएको दश वर्ष पूरा भएको छ। तर निर्माण व्यवसायीले निर्माणमा ध्यान नदिँदा बर्सेनि म्याद थप र लगानी बढाउनुपर्ने समस्या भएको छ। पटकपटक निर्माण सम्पन्न हुने मिति तय भयो। तर कार्यप्रगति सोचेअनुसार हुन नसक्दा उक्त आयोजना सरकार र नेपाल विद्युत् प्राधिकरणका लागि ‘भालुको कम्पट’ सिद्ध भएको छ। विशेष गरी इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल र सिभिलतर्फका निर्माण व्यवसायीले तोकेअनुसारको काम गर्न नसकेको प्राधिकरणको बुझाइ छ। 

 गत पुस २ गते स्थलगत अनुगमनको लागि पुगेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोजनाको निर्माण व्यवसायीले यही साउनमा निर्माण सम्पन्न हुने वचन दिएका थिए । तर कामको प्रगति र आयोजना स्थलमा परिचालन भएको जनशक्ति हेर्दा आयोजना अझै दुई वर्षमा पनि पूरा नहुने देखिएको छ। 

 मुलुकको कार्यकारी प्रमुखलाई समेत आयोजनाका तर्फबाट ढाटिएको भन्दै ऊर्जामन्त्री शाहीले अब कुनै पनि बहाना र शर्त स्वीकार नहुने बताए। आयोजनाको म्याद पटकपटक गरी सात पटक थप गरिएको छ। पछिल्लो पटक थप गरिएको म्याद सकिन पाँच महिना मात्रै बाँकी छ। 

 सिभिल निर्माणको ठेक्का चीनको सिनो हाइड्रोले लिएको छ भने इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलको ठेक्का झेयलिङ, जिन्लुङ इलेक्ट्रोमेकानिक कम्पनीले लिएको छ। तर चिनियाँ ठेकेदारले नियुक्त गरेको स्थानीय साझेदार गोल्छा अर्गनाइजेशनले जनशक्ति र निर्माण सामग्री परिचालन गर्न सकेको छैन। चिनियाँ ठेकेदारका प्रतिनिधिका रुपमा छजना मात्रै परियोजनास्थलमा छन्। 

 निर्माण व्यवसायीले सामान्य कामदारमात्रै परिचालन गरेका छन्। चिनियाँ प्राविधिक निर्माणस्थलमा छैनन्। परिचालित कामदारसमेत काममा दक्ष नभएको स्थानीय साझेदार गोल्छा अर्गनाइजेशन आफैँ स्वीकार गर्दछ। रासस

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved