पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता,अब सहजरुपमा तेल पाइने अध्यक्ष प्रधानको दाबि

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 11, 2017 | 06:56:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ। आयल निगमले व्यवसायीलाई दिने प्राविधिक नोक्सानीबापतको रकम बढाएपछि केहि दिनदेखि जारी आन्दोलन फिर्ता लिएको जनाइएको छ।   

व्यवसायीहरुले चार हजार लिटर पेट्रोल ढुवानी गर्दा हुन आउने प्राबिधिक नोक्सानीमा निगमको संचालक समितिले पेट्रोलमा दश लिटर तथा सोही परिणामको डिजेलमा तीन लिटर थप गर्ने निर्णय गरेको छ। आंशिक माग पुरा भएकाले व्यवसायीहरुले साउन २७ देखि नै कारोबार सुरु गर्ने गरि आन्दोलन फिर्ता लिएका छन।

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले आशिंकरुपमा भएपनि निगमले माग पुरा गरेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिइएको बताए।

"हाम्रो आंशिक माग पुरा भएका छन् र अन्य मागका सम्बन्धमा तीन महिनाभित्र आवश्यक अध्ययन गरेर सुधार गर्ने प्रतिवद्धता जनाएकाले हामीले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका हौँ।"-लिलेन्द्र प्रधान,अध्यक्ष,पेट्रोलियम डिलर्स एसोसिएसन

उनका अनुसार ट्यांकर तेल लोड गर्न सम्बन्धित निगमको डिपो पठाईसकिएको छ। आज साँझसम्मबाट सबै निजी पम्पहरुबाट सहजरुपमा तेल पाइने उनको दाबी छ।ब्यवसायीका अन्य मागहरुका सम्बन्धमा तीन महिना भित्र अध्ययन गर्ने गरी निगमसित सहमति भएको उनले बताए। 

व्यवसायीका अन्य मागहरुमा पम्प खोल्नुपुर्व व्यवसायीले एक लाखदेखि ९ लाखसम्म बुझाउनु पर्ने धरौटी रकमको ब्याज ‘क’ वर्गको बाणिज्य बैंकले दिनेसरह हुनुपर्ने, पुराना पम्पहरुलाई अभिवृद्धि हुने अवसर दिनुपर्ने लगायतका मागहरु रहेका छन। 

ब्यवसायीहरुले आफ्नो माग सुनुवाइ नभए आगामी साउन ३१ गतेदेखि पेट्रोलियम पदार्थको कारोबार बन्द गर्ने चेतावनी दिएका थिए। उनीहरुले साउन २६ गतेदेखि पेट्रोलियम पदार्थ डिपोबाट खरीद नगर्ने निर्णय गरेका थिए। 

निगमको बिहिबार बेलुका बसेको बैठकले व्यवसायीलाई साविकमा दिइरहेको सिङ्केज लसको क्षतिपूर्ति बढाउने निर्णय गरेको हो । जस अनुसार निगमले पेट्रोलमा प्रति ४,००० लिटरमा थप १० (दश) लिटर तथा डिजेलमा प्रति ४,००० लिटरमा थप ३ (तीन) लिटर उपभोक्तालाई कुनै आर्थिक व्ययभार नपर्ने गरी क्षतिपूर्ति बढाउने निर्णय गरेको छ । 

अब हाल प्रति चार हजार लिटर पेट्रोलमा दिइँदै आएको सिङ्केज लसको क्षतिपूर्ति ३५ लिटरबाट १० लिटर बढेर ४५ लिटर पुगेको छ । त्यस्तै, प्रति चार हजार लिटर डिजेलमा हाल दिइँदै आएको क्षतिपूर्ति २४ लिटरबाट बढेर २७ लिटर पुगेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved