विप्रेषणको सात प्रतिशत रकम मात्र व्यवसायमा प्रयोग, ठुलो हिस्सा घरायसी खर्चमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 22, 2017 | 03:48:58 PM मा प्रकाशित

laxmi  sunrise bank

 वैदेशिक रोजगारीको क्रममा विप्रेषणबाट प्राप्त सात प्रतिशत रकम मात्रै व्यापार, व्यवसायमा प्रयोग हुने गरेको पाइएको छ ।

इस्टिच्युट फर इन्टिगे्रेटेड डेभलेपमेन्ट स्टडीज आइआइडिएस र इन्टरनेशनल एजेन्सी फर कन्ट्री इन्फरमेसन आइएएससिआइले हिमाल, पहाड र तराईका ३१ जिल्लाका घरधुरीमा गरको सर्वेक्षणका आधारमा ‘आप्रवासका कारण नेपालको विकासमा परेको बढ्दो प्रभाव’ विषयक अनुसन्धान प्रतिवेदन आज सार्वजनिक गरिएको हो ।

अनुसन्धानले विप्रेषणबाट प्राप्त रकममध्ये ३९ प्रतिशत घरायसी खर्चमा, २८ प्रतिशत बचत तथा ऋण तिर्न, २६ प्रतिशत सम्पत्ति जोड्न र सात प्रतिशत व्यापारमा प्रयोग गर्ने गरेकोे देखाएको छ । विप्रेषणबाट प्राप्त गर्ने रकम सोचेभन्दा थोरै घरायसी खर्च हुने गरेको अध्ययनले देखाएको छ ।

यस्तै पहिलेभन्दा धेरै कामदारले औपचारिक माध्यमबाट मात्रै घरमा रकम पठाउन थालेको उल्लेख छ । अध्ययनको क्रममा अन्तर्वार्तामा सहभागी कामदारमध्ये ८८ प्रतिशतले बैंक वा वित्तीय संस्थामार्फत औपचारिक माध्यमबाट रकम पठाउने गरेको बताएका छन् ।

प्रतिवेदनमा केन्द्रित रहेर श्रम तथा रोजगार मन्त्रालय र अन्तरराष्ट्रिय आप्रवास संगठन आइओएमको आयोजनामा आजदेखि दुई दिने कार्यशाला राजधानीमा शुरु भएको छ ।

कार्यशालामा सरकारी अधिकारी, विकास साझेदार संस्था, निजी क्षेत्र र रोजगारदाता संस्थाको सहभागिता रहेको छ । विप्रेषणलाई नेपालको विकासको लागि योजना बनाउने विषयमा छलफल केन्द्रित हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका सहसचिव भुवन आचार्यले अध्ययन प्रतिवेदनबाट प्राप्त भएका तथ्य, तथ्याँक नेपालको सरकारी र निजी क्षेत्रले आगामी दिनमा विकास र आप्रवासका विषयका लागि योजना बनाउँदा सहयोगी बन्ने आशा व्यक्त गर्नुभयो ।

आइओएम नेपालका, नेपाल प्रमुख पाउल आई नोर्टोनले अध्ययन प्रतिवेदनले तथ्यको नजिक गएर वैदेशिक रोजगारीको आर्थिक, सामाजिक र मानवीय प्रभावको बारेमा समेटेको बताउनुभयो ।

नेपालले सन् २०१६ मा करिब रु नौ अर्ब विप्रेषणबाट प्राप्त हुने गरेको तथा विश्वकै सबैभन्दा बढी विप्रेषण प्राप्त गर्ने मुलुकमध्ये २३औँ स्थानमा परेको छ ।

मुलुकको कुल ग्राहस्र्थ उत्पादनमा विप्रेषणले सबैभन्दा बढी योगदान गर्ने मुलुकमा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा बढी विप्रेषण प्राप्त गर्ने मुलुकमा ताजकिस्तान र किर्गिज गणतन्त्र रहेका छन् । नेपालका करिब आधा घरधुरीबाट कम्तीमा एकजना सदस्य वैदेशिक रोजगारीमा जाने गरेका छन् । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved