प्रधानमन्त्री जन्माएको त्यो झुप्रो घर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 02:01:45 PM मा प्रकाशित

laxmi  sunrise bank

ढुंङ्गामाटोले बनेको एउटा पुरानो घर । जसले झन्डै सय वर्षअघिको नेपालको पूर्वी भागमा निर्मित ग्रामीण घरहरूको प्रतिनिधित्व गर्छ । दुईतले घर, जमिनको सतहभन्दा अलि माथिसम्म रातो माटोले पोतिएको छ । एउटा मूल ढोका छ । झ्यालहरू छैनन् । मूलढोकाको छेउमा एउटा सानो पिरामिड आकारको प्वाल छ । सायद त्यो त्यतिबेलाको झ्याल राख्ने शैली हुनुपर्छ । बाँकी बाहिरी भाग सेतो चुनले पोतिएको छ । माथिल्लो तलामा पनि उसैगरी ढोका राखिएको छ । 

सरासेप्टीहरूमा बान्की नमिलेका काठपात प्रयोग गरिएका छन् । चुम्बीमा सानो झ्याल छ । त्यो झ्यालमा भने अलिकति नीलो इनामेल पोतिएको देखिन्छ । खरले छाइएको घरको तल्लोपट्टि छाल्की तानिएको छ । त्यो छाल्कीमा ढिकीको अवशेष बाँकी नै छ । घर अगाडि सानो आँगन छ । आँगनको छेउछाउ कलमी नगरेर सुरिलो भएका केही थान गुलावका बोटहरू छन् ।

यो घर अत्यन्तै सामान्य छ । त्यही भएर त विशेष छ । किनकि यही घरमा प्रधानमन्त्री तथा देशकै सबैभन्दा ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको विक्रम संवत् २००८ फागुन ११ गते जन्म भएको थियो । त्यहाँको ढुङ्गा, माटो, हावापानी, वनस्पति र कीटपतिङ्गरमा समेत ओलीको बाल्यकालका पदचापहरू आलै भेटिन्छन् । दशकौँ गुमनाम यो घर केही वर्षयता चर्चामा छ । ओली अहिले नेपालकै सबैभन्दा ठूलो दलको अध्यक्ष तथा आधुनिक इतिहासकै शक्तिशाली प्रधानमन्त्री ओलीको थातथलोका बारेमा चर्चा हुने नै भयो ।

जन्मघरप्रति पछिल्ला दिनहरूमा स्वयम् प्रधानमन्त्रीकै चासो रहिआएको छ । आफ्नो जन्मथलो कसलाई प्रिय लाग्दैन होला र 

घर–जग्गा बेची नीलो तमोरको जङ्घार तरेर झापा झरेको पाँच दशकपछि प्रधानमन्त्रीले आफू जन्मिएको घरबारे सोधिखोजी गर्नुभयो । सम्पर्क सूत्रका रूपमा आठराईका पुराना वामपन्थी नेता भीम घिमिरे भेटिनुभयो । ओली परिवारले तुलसी सङ्ग्रौलालाई बेचेर छोडेको त्यो घर–जग्गा त्यतिखेरसम्म सङ्ग्रौलाले पनि खगेन्द्र तामाङलाई बेचिसक्नुभएको रहेछ ।

यदि बेच्ने रहेछन् भने प्रधानमन्त्रीले आफ्नो पुर्खाको नासो किनेर यसै क्षेत्रका जनताका हितमा लगाउने मनसाय व्यक्त गर्नुभएको छ भन्ने सन्देश बोकेर घिमिरे पछिल्ला जग्गाधनी तामाङकहाँ पुग्नुभयो । तामाङ प्रधानमन्त्रीको पुख्र्यौली घर–जग्गा दिन मञ्जुर हुनुभयो । दस लाखमा दामकाम गरियो । प्रधानमन्त्रीले थप ५० हजार थपिदिनुभयो । यसरी उकासियो प्रधानमन्त्रीको जन्मघर, जहाँ दुई सय रोपनी जग्गा छ । केपी शर्मा ओली ट्रस्ट नेपालले स्थानीयकै इच्छाअनुसार प्राविधिक शिक्षालय वा कृषि तालिम केन्द्र बनाउने तयारी गरिरहेको छ । अहिले यो घरको हेरचाह, लिपपोत छिमेकी गाउँ अर्चलेकी विष्णु भुसालले गर्दै आउनुभएको छ । धान, मकैको खेती पनि लगाउनुहुन्छ । भुसालको प्रधानमन्त्रीसँग भने फोनमा पनि बोलचाल भएको छैन । उहाँ भन्नुहुन्छ– प्रधानमन्त्रीसँग फोनमा एकचोटि बोल्ने र आफ्नो गुनासो राख्ने मन छ । तर, फोन नम्बर पाएकै छैन ।

चार वर्षदेखि प्रधानमन्त्रीको जन्मघर हेरचाह गर्दै आउनुभएकी भुसालका अनुसार पछिल्लो एक वर्षमा घर अवलोकन गर्न आउनेहरू ह्वात्तै बढेका छन् । यसै मेसोमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पनि अवलोकन गर्नुभएको छ । पुष्पलाल मध्यमहाडी लोकमार्ग अवलोकनका क्रममा आठराई पुग्दा नेम्वाङले सुकेपोखरीमा तेह्रथुमका प्रतिनिधिसभा सदस्य भवानी खापुङ, प्रदेश सदस्य तेज कन्दङ्वालगायत स्थानीय तहका प्रमुख र सरोकारवालाहरूसँग छलफल गर्नुभएको थियो ।

सडक पूर्वाधार विकासका बारेमा छोटो छलफलपछि आफैँले नेतृत्व गरेको उज्यालो पाँचथर कार्यक्रमअन्तर्गत याङ्नाममा विद्युत् विस्तारको उद्घाटन गर्न पुग्नुपर्ने व्यस्त तालिका थियो । आयोजकहरूले बेलाबेला फोन पनि गरिरहेका थिए ।

यत्तिकैमा त्यहाँ भएमध्ये कसैले प्रधानमन्त्रीको जन्मघर नजिकै भएको बतायो । त्यो सुन्नसाथ मन्त्री नेम्वाङले प्रधानमन्त्रीको जन्मघर हेर्न जाने मनसाय व्यक्त गर्नुभयो । उहाँको टोली मध्यपहाडी लोकमार्ग छोडेर ओरालो लाग्यो । टोलीमा स्थानीय नेतासँगै मोरङ १ का प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडा, भौतिक मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशवकुमार शर्मासमेत हुनुहुन्थ्यो । नौ किलोमिटर कच्ची सडकमध्ये झन्डै आठ किलोमिटर जति ओरालो झरेपछि अघिलो दिन वर्षाका कारण हिलाम्मे सडकमा मोटर गुडेन । टोली झन्डै थप २५ मिनेट हिँडेरै पुग्यो प्रधानमन्त्रीको जन्मघर ।

घर अगाडि भर्खरै हेलिप्याड निर्माण सम्पन्न भएको रहेछ । मन्त्री नेम्वाङ सरासर सिकुवामा गएर बस्नुभयो । जहाँ सामान्य सुकुल ओछ्याइएको थियो । प्रधानमन्त्रीको घर पुग्दा मन्त्री नेम्वाङको अनुहारमा एकैपटक खुसी र भावुकता छल्किएको देखिन्थ्यो । उहाँले प्रधानमन्त्रीको विगतबारे स्मरण गर्दै तेह्रथुम इवाजस्तो ग्रामीण ठाउँमा जन्मिएर पनि मुलुक परिवर्तनका निम्ति खेल्नुभएको भूमिका सधैँ सबैका लागि प्रेरणादायी रहेको बताउनुभयो ।

स्थानीयसँग कुरा गर्दै आठराई क्षेत्र प्रधानमन्त्रीकै विशेष चासो भएकाले यसको विकासले गति लिने मन्त्री नेम्वाङले विश्वास व्यक्त गर्नुभयो ।

पूर्वकै चेतनाको दियो बाल्ने आठराई क्षेत्र भौतिक पूर्वाधार विकासमा भने निक्कै पछि रहे पनि अहिले भने गति लिएको छ । यस क्षेत्रको लाइफलाइनका रूपमा मध्यपहाडी लोकमार्ग बनेको छ । प्रधानमन्त्री ओलीको जन्मथलो इवा हुँदै जननेता मदन भण्डारीको जन्मस्थान ढुङ्गेसाँघु भएर ताप्लेजुङ जोड्ने मदन भण्डारी मार्ग निर्माण तयारी भइरहेको छ । विद्युत् विस्तार भएको छ । चुहानडाँडा एयरपोर्ट बन्दै छ । यही विमानस्थल निर्माणलाई गति दिन अवलोकन गरेर फर्किनेक्रममा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । प्रधानमन्त्रीको जन्मघर तेह्रथुमेहरूको गौरव र सम्पत्तिका रूपमा रहेको तेह्रथुमका प्रतिनिधिसभा सदस्य भवानी खापुङ बताउनुहुन्छ । प्रधानमन्त्रीको घरलाई राजनीतिक पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने उहाँको बुझाइ छ ।

(लेखकः सन्दीप राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका प्रेस संयोजक)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved