राजीव न्याैपाने
अहिले विश्व नै कोरोना भाइरसका कारण अस्तव्यस्त भइरहेको छ । विश्वब्यापी रुपमा यो भाइरसको प्रभाव कति समयसम्म रहिरहन्छ, कति मानिसहरु यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित हुने हुन्, कति मानिसको यस भाइरसका कारणबाट मृत्यु हुने हो कसैले पनि यकिन रुपमा बताउन सकेका छैनन् । यस भाइरसविरुद्धको भ्याक्सिन पत्ता नलागेमा यसको असर सन् २०२४ सम्म रहिरहने र सन् २०२२ सम्म पूर्णतया सावधानी अपनाउनु पर्ने प्रक्षेपण अमेरिकाको हार्वर्ड विश्वविद्यालयका एक बैज्ञानिकले अनुमान गरेका छन्। विश्व स्वास्थ्य संगठनले विश्वका करिब ७० प्रतिशत मानिसहरुमा यस भाइरसको असरहरु अनिवार्य रुपमा देखापर्ने अनुमान गरेको छ ।
अहिलेको विश्वब्यापी विषम परिस्थितिमा हाम्रो देश नेपाल पनि यसबाट बिस्तारै बिस्तारै अस्तव्यस्त हुँदैछ । नेपालमा हाल संक्रमित हुनेको संख्या औसतमा प्रतिदिन ४५० को दरले वृद्धि हुँदै गइरहेको छ । वर्तमान परिस्थितिमा नेपालमा बसोबास गर्ने नेपालीहरु भयभित भईरहेका छन् भने नेपालबाट विश्वका विभिन्न मुलुकहरूमा उच्च शिक्षा अध्ययन र रोजगारीका शिलशिलामा विदेशीएका नेपालीहरु पनि यसबाट अत्यन्तै प्रभावित छन् । विश्वका विभिन्न देशहरुमा संक्रमित हुने र मृत्यु हुने नेपालीहरुको संख्या दिन दिनै वृद्धि हुँदै गइरहेको छ ।
यकिन तथ्यांक नभए पनि नेपालबाट विदेशीएका नेपाली नागरिकहरु लाखौंको संख्यामा नेपाल बाहिर छन् । श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयको तथ्यांकनुसार खाडी मुलुकमा मात्रै १८ देखि २० लाख र भारत, मलेसिया, जापान, दक्षिण कोरिया, पश्चिममा मुलुकहरु, अमेरिका लगायतका देशहरुमा समेत गरि करिब करिब ४० देखि ४५ लाखको हाराहारीमा नेपालीहरु छन् । उनीहरु रहेका देशहरूमा पनि कोरोनाको उच्च जोखिम देखिएको छ ।
विदेशीएका नेपालीहरुको इच्छा हाल स्वदश फर्कने रहेको छ । यसै शिलशिलामा लाखौंलाख नेपालीहरु विदेशस्थित नेपाली दुतावासमा स्वदेश फर्कन अनुरोध गरिरहेका छन् । उनीहरु ‘हामीलाई नेपाल फर्काउ, हामी बाँचे पनि आफ्नै माटोमा बाँच्न चाहन्छौँ, मरेपनि आफ्नै माटोमा मर्न चाहन्छौँ’ भनी अपिल गरिरहेका छन् । नेपाल सरकारले पनि क्रमशः नेपाल आउन चाहाने नेपालीहरुलाई स्वदेश ल्याउने कार्यक्रम बनाएको बुझिन्छ । हामीलाई आशा छ विना भेदभाव सरकारले नेपाल आउन चाहने सबै नेपालीहरुलाई स्वदेश ल्याउने छ ।
हामीलाई घमण्ड हुनु हुँदैन। जे जस्तो आजको नेपाल छ, यो सबै राजनीतिक परिवर्तनको कारणबाट मात्रै संभव भएको हो। तर देशमा आर्थिक गतिविधि शून्य भयो भने राजनीतिक परिवर्तनले मात्रै केही हुँदैन । नेपालको हालको आर्थिक गतिविधिलाई अगाडि बढाउन विदेशी रेमिट्यान्सको महत्वपूर्ण भूमिका छ । एक अर्थविद्कानुसार गत आर्थिक वर्षमा मात्रै करिब ८ अरब डलर बराबर रेमिट्यान्स नेपाल भित्रीएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार हाल कुल जीडीपीको एक चौथाई हिस्सा रेमिट्यान्सले ओगटेको छ । सरकारले यस्तो विषम परिस्थितिमा पनि आगामी आर्थिक वर्षमा रेमिट्यान्सले १५ देखि ३० हिस्सा ओगट्ने लक्ष्य लिएको छ । यसका अलावा अन्य माध्यमबाट पनि आर्थिक गतिविधिलाई टेवा पुर्याउने काम नेपालबाट वैदेशिक रोजगारमा गएका नेपालीहरुको महत्वपूर्ण भूमिका रहेको कुरा हामीले सत्य मानि महशुस गर्न सक्छौँ । हामीले गर्वका साथ भन्न सक्नुपर्छ कि तिनै वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पठाएको रेमिट्यान्सका कारण नेपालको व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, जनताका आधारभुत आवश्यकताको परिपूर्तिमा, विकास निर्माण कार्यहरु, रोजगारीलगायतका क्षेत्रमा महत्वपूर्ण हिस्सा र योगदान रहेको छ । यो तथ्यलाई हामी सबैले ह्दयदेखि नै महसुस गर्नु पर्दछ ।
हामीले के बुझ्नुपर्छ भने कुनै पनि वैदेशिक रोजगारीमा गएका नेपालीहरुले त्यति सजिलै पैसा कमाउने स्थिति त्यहाँ छैन । अत्यन्तै कडा परिश्रम, उच्च तापक्रममा बसेर काम गर्नु पर्ने अवस्था विदेशमा छ । सायद धेरैजसो त्यस देशमा हुने सजिलो काम आफ्नै देशका नागरिकलाई दिने र हाम्रा नेपाली दाजुभाइ तथा दिदि बहिनीहरुलाई गाह्रो र असजिलो काम दिने गर्दछन् । किनकि नेपालीहरुलाई पहिलो त विदेशी र दोस्रोमा नेपालीहरुले विदेश जाने समयमा कुनै पनि काममा पूर्ण रुपमा दक्षता हासिल गरिसकेका हुँदैनन् । गाह्रो र जोखिमपूर्ण कामहरु नै नेपालीहरुले गर्नुपर्ने वाध्यता विद्यमान् छ । जसका कारण जोखिमपूर्ण कामहरु गर्दा वर्षेनी धेरै नेपालीहरुले अकालमा ज्यान गुमाउनुपरेको छ । वर्षेनी हजारौंको संख्यामा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको शव बाकसमा प्याक गरी नेपाल आइरहेका छ । यो दर्दनाक स्थिति विद्यमान छ । अहिले कोरोनाका कारण सयौंको संख्यामा लासहरु नेपाल आउन सकिरहेका छैनन् । त्यतिमात्रै कहाँ होर विभिन्न झुट्टा आरोपमा विश्वका विभिन्न देशका जेलहरुमा हजारौं हजारको संख्यामा नेपालीहरु जेल जीवन बिताइरहेका छन् भने नेपालमा ती घटनाबाट पीडित परिवार र समाजको पीडा छुट्टै छ । त्यसैले हामी सत्तामा बस्ने, राजनीति गर्ने, मै हुँ भन्नेले विदेशी भूमिमा गई आफ्नो ज्यानको उच्च जोखिम मोली नेपाल र नेपालीको भविश्य उज्ज्वल बनाउन नेपालबाट वैदेशिक रोजगारमा जाने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको महत्वपूर्ण भूमिका छ भन्ने कुरालाई बिनासर्त आत्मसाथ गर्नु पर्दछ ।
तर एउटा खुसीको अवस्था पनि छ । नेपालबाट वैदेशिक रोजगारीमा विदेश गएका लाखौं नेपालीहरु त्यहाँ बसेर काम गर्दै गर्दा उनिहरुले पूर्णतया दक्षता हासिल गरिसकेका हुन्छन् । त्यसैले उनिहरु एउटा पूर्ण दक्ष नागरिक भएर नेपाल आऊँदै छन् । यसलाई सरकारले खुसी मानी सुखमा बदल्न सक्नु पर्दछ । उनीहरु विभिन्न क्षेत्रमा कृषि, पशुपालन, निर्माण, कलकारखाना, मेकानिकल, व्यापार व्यवसाय, पर्यटन लगायत विभिन्न क्षेत्रमा प्राविधिक ज्ञान प्राप्त गरेका दक्ष बनेर नेपाल आउँदै छन् भनी बुझ्नु पर्दछ । यही ज्ञान, सीप र दक्षता प्राप्त गर्न राज्यले अरबौँ रकम खर्चिनु पर्ने अवस्था रहन्न । उनीहरुले प्राप्त गरेका ज्ञान, सीप र दक्षता बढी भन्दा बढी कृषि क्षेत्रसँग सम्बन्धित हुन सक्दछ । त्यसैले उनीहरुसँग भएको ज्ञान, सीप र दक्षतालाई सरकारले राज्यको महत्वपूर्ण सम्पत्ति मानि ग्रहण गर्नु पर्दछ ।
सरकारले घोषणा गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई ज्ञान, सीप र दक्षता हासिल गरेर फर्किएका युवाले पूर्णरुपमा मद्दत गर्ने छ । हाल नेपालको लाखौं लाख हेक्टर खेतीयोग्य जमिन बाँझो रहने स्थिति दिनदिनै बढ्दै गइरहेको छ । तराई, पहाड, हिमालका समथर भूमि, फाँट, भिर पाखा पखेरा, काल्ना र डिलहरु पनि सबै बाँझिएका छन् । अर्थविद्का अनुसार अहिले पनि नेपालको कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत भन्दा बढी योगदान कृषि क्षेत्रले योगदान दिएको छ । अहिले पनि करिब ६० प्रतिशत जनता कृषिमा निर्भर छन् । सरकारले यस घडीमा उनिहरुको उच्च सम्मान, सुरक्षासहित, उनिहरु कुन कुन विषयमा दक्षता हासिल गरेका छन् उनीहरुको विवरणलाई अध्यावधिक गर्नुपर्दछ । सरकारले विदेशबाट अब कोरोनाका रोगीहरु आउँदैछन् र यिनिहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्तनबाट माथि उठेर उनिहरुलाई सहज, व्यवस्थित, सुरक्षितरुपमा र बिनाभेदभावपूर्ण तरिकाबाट क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनु पर्दछ ।
वैदेशिक रोजगारीबाट फर्कने नेपालीहरु रोगी हैनन् उनीहरु त डाक्टर हुन् । जसले सयौं वर्षदेखि रोग, भोकले थलिएर बसेको, बाँझिएर बसेका लाखौंँलाख हेक्टर खेतीयोग्य जमिनमा बैज्ञानिक र आधुनिक खेती प्रणालीका माध्यमबाट सुन फलाउने छन् । विकासको गतिमा अगाडि लम्कन नसकेको नेपाललाई उनीहरुले अगाडि लानेछन् । अब देशमा कृषि क्षेत्रसँग सम्बन्धित उद्योग कलकारखाना खोलिने छ । लाखौं नेपालीहरुलाई अब स्वदेशमै रोजगारीको व्यवस्था हुनेछ । नेपाल अब संसारमा श्रमजीवीको देश हैन, अब कर्मजीविको देश भनेर चिनिने छ । हाम्रो देश नेपाल आत्मनिर्भरताको देश बन्ने छ । हाम्रो देश नेपाललाई स्वावलम्वी र आत्मनिर्भरको देश बनाउन यसले मद्धत पुग्नेछ । त्यसैले उनिहरुको सम्मान गरौँ, इज्जत गरौं, बचाऔँ भनी सबै राजनैतिक स्तरमा, नागरिक समाज स्तरमा जनचेतना फैलाउने र उनिहरुको ज्ञान, सीप र दक्षतालाई आधार मानी दीर्घकालिन विकासको योजना निर्माण तथा तर्जुमा गर्नु पर्दछ ।
त्यसैले अब रोजगारीमा विदेशीएकाहरु पराई, परचक्किको आँगनमा होइन आफ्नै आँगनमा बाँच्न र नाच्न पाउनुपर्दछ । पराइको देशको माटोमा होइन आफ्नै देशको माटोमा प्राण त्याग गर्न पाउनुपर्दछ भन्ने इच्छा पूरा गरिदेऊ सरकार । तिमी नालायक सरकार हुनबाट आफूलाई जोगाऊ सरकार ।