कोरोना कहरका सकारात्मक पाटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2020 | 05:25:34 PM मा प्रकाशित

laxmi  sunrise bank

बिएन धिताल


डिसेम्बर २०१९ को अन्तिममा चिनको वुहानबाट सुरु भएको कोरोना महामारी २२७ भन्दा धेरै देशमा फैलिसकेकोे छ । सात महिना लागीसक्दा पनि न यो   नियन्त्रणमा आउँन सकेको छ, न घट्ने क्रममै छ ।  विश्वभरीको तथ्याङ्क हेर्दा हालसम्म संक्रमित १ करोड भन्दा बढि छन् भने ५ लाख बढीको मृत्यु भईसकेको छ  ।  निको भएकाको संख्या ५० लाख भन्दा बढी छ । नेपालमा भने आज असार १४ सम्मको तथ्यांक अनुसार १२ हजार ७ सय ७२ संक्रमित भएका छन् भने ति मध्ये २८ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ३ हजार बढी निको भएका छन् । 


कोरोना नियन्त्रणका लागि सरकारले चैत्र ११ देखि गरेको बन्दाबन्दी ३ महिना बितिसक्यो। यद्यपि सरकारले असार १ देखि बन्दाबन्दी केही खुकुलो पारेको छ भने चरणबद्ध रुपमा पूर्ण खोलिदै लगिने जानकारी दिएको छ । तर पनि यसमा अझ अन्योलता भने कायमनै छ । संक्रमितको संख्या दैनिक बढ्दै जानुले पनि थप अन्योल र अनिश्चितता थपिएको छ । 


भनिन्छ बिपत्तिले विनाश मात्र नभई विकास र अवसर निम्त्याउँछ । यो महामारीको पनि दुबै पक्ष छन् । नकारात्मक प्रभावका बारेमा हामीलाई धेरै जानकार छ । आज यो लेखमा यसका केहि सकारात्मक प्रभाव र अवसरका बारेमा चर्चा र विश्लेषण गर्दैछु । यसलाई तल उल्लेखित ८ वटा शिर्षकमा राखेर विश्लेषण गर्दैछु ।


१. स्वच्छ वतावरण र प्रकृति

कोरोना महामारीका कारण विश्वनै बन्दाबन्दीको अवस्थामा रहेकोले मानिसको आवतजावत कम हुन गयो । उद्योेग, ब्यबसाय, कलकारखाना, यातायात जस्ता चिजमा उल्लेख्य कमि भएकाले कार्बन उत्सर्जन न्यून भयो, फलस्वरुप बातावरणमा सुधार भयो । वायु, ध्वनि, जल, जमिनको प्रदुषण  धेरै कम भयो । नासाले हालै गरेको एक अध्ययनले वायू प्रदुषण विश्वमै २० देखि ३० प्रतिशतले घटेको देखाएको छ । यस्तै ग्लोबल कार्बन प्रोजेक्टले गरेको अध्ययनले भनेको छ,'विश्वमा दैनिक रुपमा उत्सर्जन हुने कार्बनडाई अक्साइड ० १७ प्रतिशतले घटेको छ । यिनै कारणले प्रकृतिमा रहेका बोटबिरुवाहरु पनि  राम्रोसँग पलाएका छन् । गाउँ सहरका बाटा छेउछाउमा हरीयालि बढेको छ । चराचुरुङ्गीहरु रमाएका छन् । बनजंगलमा फूलहरु फूलेका छन् अनि तिनै फूलमा माहुरिहरु नाचेका देखिन्छन् । यसले वातावरण, प्रकृति र जलवायूको सम्बन्ध नियन्त्रित गरेको छ । कतै यस्तो मनमोहक दृश्य फेरी बन्दाबन्दी सकिएपछि हराउँदै जान्छ कि भन्ने कता कता डर लाग्छ  । नहोस् भन्ने चाहाना । 


२. कृषिमा पुनरागमन

 यो महामारीले धेरैको ब्यबसायमा अन्योलता सिर्जना गरेको छ । स्वदेशका हुन् वा विदेशबाट फिर्ति भएका नेपाली हुन्, सबैको आम्दानिको श्रोत धरापमा छ । अहिले पनि हामीले देखिसकेका छौं, धेरै मानिसहरुले कृषिमा हात लगाईसक्नुभएको छ ।  यो अहिलेको आवश्यकताका साथै उचित विकल्प पनि हो । शहरबाट आफ्नो इलम छोडी गाउँ जान बाध्य भएका मानिस अहिले ब्यवसायीक कृषिको थालनि गर्दै छन् । यसले समग्र देशको कुल ग्रायस्थ उत्पदन ( जि डि पि) उकास्न बल पुग्नेछ साथै कृषि उपजमाथिको परनिर्भरतालाई कमि गर्नेछ । अहिले यो क्षेत्रबाट करीब २७ प्रतिशत  राष्ट्रिय जि डि पिमा योगदान गरेको छ र ६५ प्रतिशत मानिस प्रत्यक्ष रुपमा कृषिमा आवद्द छन् । लकडाउनको समयमा शहरमा बसोबास गर्ने परिवार करेसाबारी तथा कौसी खेतीमा पनि संलग्न हुन थालेका छन् ।


३. स्वास्थ्य र स्वच्छतामा सुसुचित 

यस महामारी बाट जोगिन र रोग कम गर्न गरिएका बिभिन्न जानकारी मूलक सन्देश र सूचनाहरुले धेरै मानिसमा सजग, सुसुचित र सबल बनाएको छ । मास्क  लाउने, साबुन पानिले मिचि मिचि हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता कुरामा धेरै मानिस अभ्यस्त भएका देखिन्छन् । फलस्वरुप यसले अन्य रोग लाग्नबाट धेरै हद सम्म रोकेको छ । 


४. मौलिक ज्ञान, सिप, ब्यबहार र पूर्विय सभ्यताको पुनरुत्थान 

यस महामारीले हामी नेपालीको मौलिक ज्ञान, सिप र ब्यबहार फेरि पहिलेकै अवस्थामा लान उत्प्रेरित गरेको छ ।  परापूर्व कालमा गर्दै आएका संस्कार, रितिरिवाज, लाइ पुन स्मरण गराएको छ । स्थानिय रुपमा उपलब्ध भएको मौलिक शाकाहारी खानपान लाई पुन जोड दिएको छ । विभिन्न समय, परिस्थिति र कालखण्डमा गरिने शुद्ध कार्यलाई बैज्ञानिक ठहराएको छ । नमस्कारको पूर्वीय सभ्यता लाईनै पुन सबै राष्ट्रले पहिलाएका छन् ।


५. प्रविधिमैत्रि र अनलाईन कार्य सम्पादनमा सक्षम

 कोरोना कहरले धेरै ब्यक्ति, संघसंस्थालाई प्रविधिमैत्रि र अनलाईन कार्य सम्पादन प्रति सक्षम र सशक्त बनाएको छ । घरमै बसेर बिभिन्न माध्यमबाट काम गर्न सकिने कुरा अहिले धेरैले अभ्यासनै गरिसके । शिक्षामा सुरु गरिएको यो प्रविधि राम्रो उपलब्धि हो, भलै केही नराम्रा पाटा पनि छन् । बिभिन्न संघसंस्थाले निशुल्क रुपमा दिने अनलाईन कोर्स, जनचासोका विषयमा गरिने अनलाईन बैठक, सम्मेलनहरुले मानिसहरुलाई सचेत, सशक्त बनाउन सहयोग गरेको छ । कृषिमा अनलाईन बजारिकरण, स्वास्थ्यमा अनलाईन सेवा आदि यसका उपलब्धि हुन् ।


६. पारीवारीक सम्बन्ध सुदिृढ

लकडाउन पूर्व हाम्रो दैनिकी ज्यादै ब्यस्त थियो । बिहानदेखि राती अबेर सम्म पनि हामी धेरै काममा समय ब्यतित हुन्थ्यो । कति जना घर भन्दा बाहिर रहेर कार्य गर्नुहुन्थ्यो । यी किसिमको ब्यस्तताले , परिवारमा उचित समय दिन नसक्दा, सदस्यमा सम्बन्ध कमजोर भएका थिए । तर यो महामारीले यस्तो कमजोर भएको पारिवारिक सम्बन्धलाई सुदृढ बनाउने , योजना बनाउने प्रशस्त समय दिएको छ । यसको सदुपयोग कसरी गर्नुहुन्छ तपाईकै हातमा निर्भर छ । 


७. स्वनिर्भरता र उद्धयमशिलप्रति अग्रसर

परनिर्भरतामा रहदाँको समस्या अहिले हामी अनुभव गर्दै छौं । धेरै मानिसको रोजि रोटि खोसिएको वा अब खोसिने सम्भावना छ । अहिले पनि विदेशी ५ देशको श्रम बजारमा १५ लाख भन्दा धेरै मानिस छन् । बाहिर गएका मध्ये एक तिहाँई मात्र नेपाली स्वदेश फर्किए भने पनि ५ लाख भन्दा धेरै मानिस हुनेछन् । छिमेकि देश भारतमा गएकाको कुनै लेखाजोखा नै छैन । सबैलाई रोजगारी सुनिश्चित गर्न सरकारको कुनै योजना छैन । यिनै कारणले पनि अब हामीमा उद्यमशीलता हुनु पर्ने र स्वब्यबसाय संचालन गर्नु पर्ने ब्यबहारीक बोध भएको छ । 

 

८. अध्ययन, खोज र अनुसन्धानमा चासो

यस महामारीले विश्व भरका वैज्ञानिक, अनुसन्धानकर्ताहरुमा थप उर्जा प्रदान गरेको छ, यसको अध्ययन र अनुसन्धान गरि छिटो औषधि पत्ता लगाई मान प्रतिष्ठा कमाउने अवसर बनेको छ। साथै अन्तर देश भित्र पनि यो सम्बन्धिको भ्याक्सिन पत्ता कसले लाउछ भन्नेमा प्रतिसपर्धा छ । देशको नाम र खस्केको अर्थतन्त्र उकास्न पनि यो बिषयमा विकसित राष्ट्रहरुमा तछाडमछाड भईरहेको छ । साथै यो सँग सम्बन्धित अरु बिषयमा पनि अध्ययन गर्न यो महामारीले प्रशस्त ढोका खोलिदिएको छ ।


अतः नकारात्मकता भित्र पनि सकारात्मक र सबल पक्षको विश्लेशण गरौं ।  चुनौती भित्रनै अवसर लुकेको हुन्छ, यसलाई पहिचान गरी व्यक्ति, परिवार, समुदाय र समग्र देशको विकासमा केन्द्रित बनौं । 


लेखक शान्ति, शुशासन र विकासको क्षेत्रको गैससमा आवद्द छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved